धेरै नेपालीले धुमधामसाथ दसैँ मनाइरहेका वेला नेपाली युवाको एउटा समूहले भने एसियामै पहिलोपटक खगोल विज्ञानसम्बन्धी अन्तर्राष्ट्रिय ओलम्पियाड प्रतियोगिता सम्पन्न गरेको छ।
नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो)को आयोजनामा सम्पन्न खगोल र खगोल भौतिक विज्ञानसम्बन्धी तेस्रो अन्तर्राष्ट्रिय ओलम्पियाडमा १९ देशका २१ समूहको सहभागिता थियो। युरोपमा हुने गरेको यो ओलम्पियाड एसियामा पहिलोपटक नेपालले गर्ने अवसर पाएको हो। ओलम्पियाडका लागि बागमती प्रदेश, सामाजिक विकास मन्त्रालयले सहयोग गरेको आयोजक समिति नासोका अध्यक्ष सुरेश भट्टराईले बताए।
संघीय सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय पनि आयोजकका रूपमा राखिएको थियो। तर, ती निकायबाट सहयोग नपाएको आयोजक नासोको गुनासो छ। मन्त्रालयका कुनै पनि अधिकारी ओलम्पियाड प्रतियोगितामा उपस्थितसमेत नभएको नासोका अध्यक्ष भट्टराईले बताए।
असोज १७ गते नवरात्र सुरु भएपछि धेरै शैक्षिक संस्था बिदा भयो। विद्यार्थी घर, घरमा दसैँको रमाइलोमा रमाउन थाले। तर, केही विद्यार्थी भने ‘एस्ट्रोनोमी’ र ‘एस्ट्रोफिजिक्स’सम्बन्धी तेस्रो अन्तर्राष्ट्रिय ओलम्पियाड सफल बनाउन दिनरात जुटे। असोज १७ देखि सुरु भएको ओलम्पियाड असोज २४ गते सम्पन्न भयो।
ओलम्पियाडमा नेपाल, भारत, बंगलादेश, बुल्गेरिया, क्यानडा, चीन, कोलम्बिया, चेक रिपब्लिक, इस्टोनिया, ग्रिस, इटाली, लिथोनिया, मलेसिया, रोमानिया, श्रीलंका, स्विडेन, थाइल्यान्ड, युक्रेन र युनाइटेड अरब इमिरेट्सका विद्यालय तहका विद्यार्थीको सहभागिता रहेको थियो। प्रतियोगितामा उत्कृष्ट स्थान हासिल गर्ने समूहलाई पदक र प्रमाणपत्रसहित पुरस्कृत गरियो।
खगोल तथा खगोल भौतिक ओलम्पियाड–जुनियर विधामा सहभागी विद्यार्थीको सैद्धान्तिक र प्रयोगात्मक परीक्षा लिइएको थियो। परीक्षाको नतिजाका आधारमा आठ स्वर्ण, १३ कांस्य, २१ रजत, २८ मानार्थ गरी जम्मा सत्तरी पदक विद्यार्थीलाई वितरण गरिएको थियो। दुई स्वर्ण पदक प्राप्त गर्नेमा चीन, चेक रिपब्लिक, भारत रहेका छन्। यसैगरी बुल्गेरिया र थाइल्यान्डले क्रमशः एक-एक स्वर्ण पदक प्राप्त गरे। सैद्धान्तिक परीक्षामा चेक रिपब्लिकका अलेक्स फेयव ‘बेस्ट इन थेओरी’अन्तर्गत स्वर्ण प्राप्त गरे।
प्रयोगात्मक परीक्षामा चीनका च्याहु जङगले ‘बेस्ट इन अब्जरभेसन’ अन्तर्गत स्वर्ण पदक प्राप्त गरे। चेक रिपब्लिकका अलेक्स फेयवले नै ‘बेस्ट इन ओवरल’ पदक पनि प्राप्त गरे। ओलम्पियाडकै एक गतिविधिका रूपमा आयोजित ‘खगोल र संस्कृति’ चित्रकला प्रतियोगितामा दश देशले पोस्टर प्रदर्शन राखेकोमा मतदानमार्फत चेक रिपब्लिकले जित हासिल गरेको थियो। सहभागीलाई एकै देशका दुई सदस्य नरहने गरी विभिन्न १६ समूहमा विभाजन गरी सामूहिक प्रतियोगिता गराइएको थियो।
उक्त प्रतियोगितामा एपिमेथियस नामक टोली विजयी भयो। नेपालमा भएको ओलम्पियाडमा इटाली पहिलोपटक सहभागी भएको थियो। अन्तर्राष्ट्रिय खगोल तथा खगोल भौतिक ओलम्पियाडका अध्यक्ष अनिकेत सुलेले नेपाल ऐतिहासिक, सांस्कृतिक र सर्वोच्च शिखर सगरमाथा भएको देश हुनाले सगरमाथाको उचाइजस्तै जीवनका लक्ष्य निर्धारण गर्नुपर्ने प्रेरणा विद्यार्थीलाई दिए।
नासोका अध्यक्ष भट्टराईले ओलिप्याडले नेपालमा मात्र नभई विश्वमै खगोल तथा खगोल भौतिक विज्ञानमा टेवा पुग्ने बताए। आइओएए जुनियर २०२४ का सहअध्यक्ष मनीषा द्वाले विसं २०७९ मा सुरु गरिएको ‘अन्तर्राष्ट्रिय खगोल तथा खगोल भौतिक ओलम्पियाड–जुनियर’को नेपाल एक संस्थापक सदस्य राष्ट्र भएको बताए।
ओलम्पियाडको पहिलो संस्करण रोमानिया र दोस्रो संस्करण ग्रिसमा आयोजना भएको थियो। नासोले सन् २०१४ देखि नेपालमा राष्ट्रिय खगोल ओलम्पियाड सञ्चालन गर्दै आएको छ। ओलम्पियाडमा ‘सिनियर विधा’ मा १६ देखि २० वर्ष उमेर समूहका कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थी सहभागी हुन्छन्।
राष्ट्रिय खगोल ओलम्पियाड ‘जुनियर विधा’ भने सन् २०१९ देखि नासोले नेपालमा सञ्चालन गर्दै आएको छ। यस विधामा कक्षा ८ देखि १० मा अध्ययनरत १६ वर्ष उमेरमुनिका विद्यार्थी सहभागी हुन पाउँछन्। नेपाली विद्यार्थीले अन्तर्राष्ट्रिय खगोल तथा खगोल भौतिक ओलम्पियाडमा हालसम्म १८ वटा पदक प्राप्त गरेको सोसाइटीले जनाएको छ।
विद्यालय तहका विद्यार्थीको प्रतिभा पहिचानसम्बन्धी यो प्रतियोगितामा भाग लिन विभिन्न देशबाट १०० जना विद्यालय तहका विद्यार्थी र करिब ५० जना समूह नेताका रूपमा नेपाल आएको आयोजक समितिले जनाएको छ। प्रतियोगिता सम्पन्न भएसँगै नेपालमै अन्तर्राष्ट्रियस्तरको ओलम्पियाड सम्पन्न गर्ने १० वर्ष पुरानो सपनाले साकार रूप पाएको सोसाइटीका अध्यक्ष भट्टराईले बताए।
विज्ञानमा मुलुकको कम चासो भइरहेका वेला यस्ता प्रतियोगिताले थप काम गर्ने वातावरण बनाउन सहयोग गर्ने विश्वास लिइएको छ। लामो समयदेखि विज्ञान पत्रकारितामा कलम चलाएका पत्रकार लक्ष्मण डंगोल विज्ञानमा राज्यको लगानीका साथै चासो पनि कमै भइरहेका वेला युवा, विद्यार्थीमा यसप्रतिको चासो बढाउन अन्तर्राष्ट्रिय ओलम्पियाड सफल भएको बताउँछन्। करिब १५० भन्दा बढी विदेशी नेपालमा एक हप्तासम्म बसेर जाँदा नेपालको पर्यटन प्रवर्द्धनमा पनि टेवा पुग्नेछ। तर, सरोकार भएका निकायले भने यस्तो अवसरलाई सदुपयोग गर्न नसकेको आयोजक समितिको निष्कर्ष छ।
आयोगकले मुलुकका सांस्कृतिक र प्राकृतिक पर्यटकीयस्थलका बारेमा प्रचारप्रसार गरिएको जनाएको छ। बागमती प्रदेशका सामाजिक विकासमन्त्री हरिप्रभा खड्गी श्रेष्ठले मन्त्रालयले विज्ञानसम्बन्धी अध्ययन, अनुसन्धानका कामलाई अघि बढाउने प्रतिबद्धता जनाएकी थिइन्।
बुढानीलकण्ठ नगरपालिकाका नगरउपप्रमुख अनिता लामाले नेपाली युवा उत्साहित भएर अन्तर्राष्ट्रियस्तरको ओलम्पियाड गर्छौँ भनी लागेपछि आफूले पनि प्रेरणा दिएको बताइन्। यस्ता कार्यक्रमले काम र अध्ययनका लागि विदेश जाने नेपालीलाई स्वदेशमै अवसर छ भनी आशा जगाउन सहयोग गर्ने उनको भनाइ थियो। (रासस)