मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज २३ बुधबार
  • Wednesday, 12 March, 2025
जिल्ला ब्युरो काठमाडाैं
२o८१ असोज २३ बुधबार o६:४५:oo
Read Time : > 3 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

दसैँमा घर फर्किँदै परदेशी

रोजगारीको सिलसिलामा भारतका विभिन्न ठाउँमा रहेका नेपाली दसैँ मनाउन धमाधम घर फर्कँदै छन्, असोज पहिलो सातादेखि स्वेदश फर्किन सुरु भएकोमा घटस्थापनायता संख्या क्रमशः बढेको छ

Read Time : > 3 मिनेट
जिल्ला ब्युरो, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असोज २३ बुधबार o६:४५:oo

दसैँ मनाएर फेरि भारत फर्कने योजना

राेजगारीको सिलसिलामा भारतमा रहेका नेपाली दसैँ मनाउन स्वदेश फर्किन थालेका छन् । असोज पहिलो सातादेखि स्वदेश फर्किन सुरु भएकोमा घटस्थापनायता संख्या झन् धेरै बढेको छ । भारतसँग जोडिएका पश्चिमी नाका रूपन्देहीको बेलहिया, बाँकेको नेपालगन्ज, टीकापुरको खक्रौला, धनगढीको त्रिनगर र कञ्चनपुरको गड्डाचौकी नाका भएर नेपाली स्वदेश फर्किरहेका छन् । नाकामा खटिएका सुरक्षाकर्मीका अनुसार घटस्थापनायता राति १२–१ बजेसम्मै स्वदेश फर्कनेको भिड हुने गर्छ ।

दसैँको टीकाको अघिल्लो दिनसम्म भारतबाट नेपाली आउने गर्छन् । यसपटक २६ असोजमा टीका छ । यकिन तथ्यांक नभए पनि सुदूरपश्चिम, कर्णाली र लुम्बिनीका पहाडी जिल्लाबाट भारतमा रोजगारीका लागि जानेको संख्या ठुलो छ । नेपालगन्ज नाका भएर मात्र दैनिक कम्तीमा तीन हजारको हाराहारीमा नेपाली स्वदेश फर्किरहेको इलाका प्रहरी कार्यालय जमुनाहका इन्चार्ज प्रहरी निरीक्षक उपेन्द्रबहादुर बुढाथोकीले बताए । ‘नेपालगन्ज नाका भएर एकै दिन ६ हजार ९०३ जना नेपाल प्रवेश गरेका छन् । यसमा आधा संख्या कामका लागि भारत पुगेका नेपाली हुन्,’ उनले भने । 

दसैँ लागेसँगै रूपन्देहीको बेलहियामा भिड बढेको छ । भारत तथा तेस्रो मुलुकबाट स्वदेश आउने नेपालीको संख्या बढेको इलाका प्रहरी कार्यालय बेलहियाका प्रहरी निरीक्षक मुकेश न्यौपानेले बताए । नेपाल–भारत सीमानाका बेलहियामा अहिले वाकथ्रु मेसिन जडान गरिएको छ ।

सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय रूपन्देहीका एसपी आनन्द थापाले सीमावर्ती बजारमा किनमेल गर्न जाने पनि बढेकाले भारतमा रोजगारी गरेर फर्किएकाको यकिन संख्या नरहेको बताए । सीमानाकामा चेकजाँच कडाइ गरिएको छ । उनका अनुसार सीमानाकामा अहिले एक हप्तामा एक लाखसम्मले ओहोरदोहोर गरेका छन् ।कञ्चनपुरको गड्डाचौकी नाकाबाट नेपाल फर्कने संख्या ह्वात्तै बढेको छ । गत असारमा रोपाइँ सकेर भारतको सिम्लामा स्याउ टिप्न पुगेका कञ्चनपुर कृष्णपुर नगरपालिका– ७ कलुवापुरका सहदेव राना दसैँ मनाउन घर फर्किएका छन् । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले दसैँसँगै घर फर्कने नेपालीको संख्या बढेकाले सीमा क्षेत्रमा सुरक्षाकर्मीको संख्या बढाइएको बताए ।

दसैँ–तिहार मनाउन भारतबाट आउने नेपालीको सहजताका लागि नेपालगन्ज नाकामा प्रहरीले सचेतना अभियान थालेको छ । ‘रिक्सा, इ–रिक्सा, बस, हायस र होटेल व्यवसायीबाट ठगिने र लुटिने सम्भावनालाई मध्यनजर गरी सचेतना अभियानसमेत चलाएका छौँ,’ प्रहरी निरीक्षक बुढाथोकीले भने ।

त्यस्तै, नेपाल प्रहरी र सशस्त्र प्रहरीले धनगढीको त्रिनगर नाकामा पनि सहायता कक्ष सञ्चालनमा ल्याएका छन् । सशस्त्र प्रहरी ३४ नम्बर गण धनगढीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक दलबहादुर पाण्डेयले नाकामा आवागमन सहज बनाउन भारतीय अधिकारीसँग निरन्तर समन्वय भइरहेको बताए । 

उनले आवागमन सहज बनाउन सहायता कक्षसँगै गणबाट छुट्टै टोलीसमेत परिचालन गरिएको जानकारी दिए । ‘केही दिनअघिसम्म सीमामा भारतीय भन्सार र वनका कर्मचारीले स्वदेश फर्कने नेपालीसँग पैसा असुल्ने गरेको गुनासो थियो,’ पाण्डेयले भने, ‘उनीहरूसँग कुरा गरेपछि अहिले पैसा असुल्ने कार्य रोकिएको छ ।’ पैसा असुल्ने कार्य रोक्न आफैँ गएर भन्सार कर्मचारीसँग कुरा गर्नुका साथै काउन्टरपार्ट मिटिङमा पनि यो विषय उठाएको उनले बताए । 

गड्डाचौकी नाका भएर फर्कने नेपालीसँग भारतीय सवारीसाधनले बढी भाडा असुल्ने गरेका छन् । बनबासा बजारदेखि सीमावर्ती गड्डाचौकीसम्मको ट्याक्सीको भाडादर नेपाली ८० रुपैयाँ छ । तर, दुई सय रुपैयाँसम्म भाडा असुल भइरहेको छ ।

भारतबाट फर्किएका बर्दियाको ठाकुरबाबा नगरपालिका– ४ का नृप खनालले ट्याक्सीवालाले बिचबाटोमा चेकजाँच झन्झटमुक्त गराउने भन्दै थप ५० रुपैयाँ लिएको बताए । ‘राति पुल बन्द हुन्छ, समयमै पारि नेपाल पुग्नुपर्छ त्यही भएर थप पैसा दियौँ,’ उनले भने ।

सिमलामा स्याउ टिपेर दसैँ मनाउन घर फर्किएका कञ्चनपुर कृष्णपुर नगरपालिका– ७ कलुवापुरका सहदेव रानाले बनबासा बजारदेखि गड्डाचौकीसम्म ५० रुपैयाँ भाडा रहे पनि दुई सय तिर्नुपरेको बताए । ‘स्याउसहितको सामान थियो, पैदल ल्याउँदा समस्या हुने भएकाले भारतीय गाडीवालाले बिचबाटोमा भारतीय भन्सार, एसएसबीलाई मिलाउँछु भन्दै अतिरिक्त भाडा लिए,’ उनले भने ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले भारतीय भूमिसहित सीमावर्ती क्षेत्र नेपालमै पनि मजदुरबाट बढी भाडा असुल्नेमाथि कारबाहीका लागि सशस्त्र प्रहरी र प्रहरीलाई निर्देशन दिएको बताए । भारतको बेंग्लोरबाट दुई दिनको यात्रापछि सोमबार बिहान त्रिनगर नाका आइपुगेका बाजुराको पाण्डुसैनका रमेश रोकाया घर जाने हतारमा थिए । रोजगारीको सिलसिलामा एक वर्षदेखि बेंग्लोरमा रहेका उनी परिवारसँग दसैँ मनाउन घर फर्किएका हुन् । ‘चाडपर्व घरपरिवारसँगै मनाउन घर फर्किँदै छौँ,’ रोकायाले भने, ‘गुजाराका लागि अर्काको देशमा सधैँभरि काम गर्नु त छँदै छ ।’ 

रोकायादम्पती बेंग्लोरमा घरमा सरसफाइको काम गर्छन् । श्रीमती र बेंग्लोरका विभिन्न ठाउँमा काम गर्ने गाउँकै अन्य १० जना दसैँ मनाउन भनेर सँगै आएको उनले बताए । तिहार मनाएपछि पुनः काममा फर्कने उनको योजना छ । रोकाया आठ वर्षदेखि भारतको रोजगारीमा छन् । डोटीको बोगटान–फुड्सिल गाउँपालिका– ४, सात्फरीका प्रेम साउद पनि भारतको लुधियानाबाट घर फर्किएका छन् । 

बाध्यताले भारतमा रोजगारी, छैन यकिन तथ्यांक
सुदूरपश्चिम र कर्णालीसँगै लुम्बिनीका केही पहाडी जिल्लाका नागरिकको प्रमुख रोजगारीको गन्तव्य भारत हो । सुदूरपश्चिमका दुर्गम बस्तीमा रोजगारीका लागि परिवारका सदस्य भारत नगएको परिवार प्रायः भेटिँदैन । सुदूरपश्चिमबाट भारतीय रोजगारीमा गएकाको संख्याबारे कुनै तथ्यांक छैन । दसैँ–तिहारजस्ता चाडपर्वका वेला नाकामा देखिने स्वदेश फर्कनेको भिडले पनि लाखौँको संख्यामा भारतीय रोजगारीमा रहेको अनुमान गर्न सकिन्छ । चाडपर्व सकिएपछि फर्कनेको यस्तै भिड हुन्छ ।

भारतीय आप्रवासनका क्षेत्रमा काम गर्दै आएको गैरसरकारी संस्था निड्स नेपालले चार वर्षअघि सुदूरपश्चिमका विभिन्न पालिकाका करिब चार सय घरधुरीमा गरेको सर्भेअनुसार ७० प्रतिशत घरधुरीबाट कोही न कोही मान्छे भारतीय रोजगारीमा गएको पाइएको थियो । सुदूरपश्चिमको करिब २७ लाख जनसंख्यामध्ये करिब साढे तीन लाख भारतीय रोजगारीमा रहेको अनुमान छ । 

कैलालीको चौमालाका राजु भुल प्रायः हरेक वर्ष दसैँका वेला घर आउने र तिहारपछि फर्कने गरेको बताउँछन् । ‘सामान्य काम पनि आफ्नो देशमा पाएको भए परिवार छोडेर मजदुरी गर्न अर्काको देशमा किन जान्थ्यौँ,’ भारतको पञ्जावबाट फर्कँदै गरेका कैलालीको चौमालाका राजु भुल भन्छन्, ‘कमाएर सम्पत्ति जोड्नु त त्यस्तै हो, परिवारको गुजाराका लागि भारतमा मजदुरी गर्नुपर्छ ।’

५० वर्षीय भुलले गरिबीका कारण आफू १५ वर्षको उमेरमै भारतमा काम गर्न गएको बताए । ‘सुरुका सात वर्ष विभिन्न ठाउँमा काम गरेँ, २८ वर्षदेखि एउटै घरमा काम गरिरहेको छु, घरमा श्रीमती र पाँच छोराछोरीको गुजाराको माध्यम त्यही नोकरी हो,’ भुलले भने, ‘खाना बनाउने, सरसफाइ गर्ने काम हो ।’ 

बाँकेमा विश्वराज पछल्डङ्ग्या, धनगढीमा तेजराज भट्ट, कञ्चनपुरमा मोहन विष्ट, भैरहवामा दीपेश पछाई