१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ५ शनिबार
  • Saturday, 21 September, 2024
२o८१ असोज ५ शनिबार १४:१७:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

सुविधामा विभेद गरेको भन्दै माथिल्लो तामाकोशीका कर्मचारी आन्दोलित 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ असोज ५ शनिबार १४:१७:oo

दोलखाबासी कर्मचारी र अन्य जिल्लाका कर्मचारीलाई वितरण गर्ने सुविधामा विभेद गरेको भन्दै माथिल्लो तामाकोशी जलविद्युत आयोजनाका करार कर्मचारी आन्दोलनमा उत्रिएका छन्। आयोजनामा कार्यरत झण्डै दुई सय  जना करार कर्मचारीमध्ये दोलखाका एक सय एक जना कर्मचारीलाई उपलब्ध गराउने अतिरिक्त सुविधामा विभेद गरिएको भन्दै दोलखाबासी कर्मचारी आन्दोलनमा उत्रिएका हुन् । 

आयोजनाले कार्यरत कर्मचारीमध्ये यसअघि आयोजना निर्माणाधीन अवधिमा सबै कर्मचारीलाई सय प्रतिशत अतिरिक्त सुविधा वितरण गर्दै आएको थियो । आयोजना निर्माण सम्पन्न भएपछि संवैधानिक निकाय र अन्य सरोकारवाला निकायबाट संशोधन गर्न चौतर्फी दबाब बढेपछि आयोजनाले उक्त सुविधा घटाएर कार्यान्वयन गर्ने निर्णय गरेको थियो । आयोजनाका अधिकारीहरुका अनुसार २०७८ सालमा आयोजना संचालक समिति बैठकबाट आयोजनामा कार्यरत दोलखाली कर्मचारीलाई ५० प्रतिशत र अन्य जिल्लाका कर्मचारीलाई ७५ प्रतिशत सुविधा उपलब्ध गराउने निर्णय गरि कार्यान्वयन थालेको थियो। 

उक्त निर्णय सुरुवातदेखिनै विभेदकारी भएको भन्दै जिल्लाबासी कर्मचारी एकद्वार प्रणाली अपनाउन आग्रह गर्दै असन्तुष्टि राख्दै आएका थिए । पटकपटक माग राख्दा पनि आयोजनाले बेवास्ता गरेको भन्दै आन्दोलनमा उत्रिन बाध्य भएको आन्दोलन संघर्ष समितिका संयोजक  राम बहादुर खड्काले जानकारी दिए ।

उनले यसअघि पनि पटकपटक एकद्वार प्रणालीले कर्मचारीलाई सेवा सुविधा दिन आग्रह गरेपनि दोलखाबासी कर्मचारीलाई आयोजनाले विभेद गरेको र आन्दोलनको समेत बेवास्ता गरेकाले कडा संघर्ष गरिने जनाएका छन् । उनीहरुले एक साताअघि उक्त समस्याको समाधान गर्न आयोजनालाई अल्टिमेटम दिइएको र त्यसकोसमेत बेवास्ता गरेपछि शुक्रबारबाट दोलखाबासी कर्मचारी काम छोडेर अनसन बसेका छन्। उनीहरुले आइतबारबाट आयोजनाका सबै सवारीसाधन आवागमन ठप्प पार्ने तयारी गरेको संयोजक खड्काले बताए। 

यता आयोजनाका प्रमुख कार्यकारी अधिकृत मोहन गौतमले तत्कालीन समयमा आयोजना संचालक समिति बैठकले निर्णय गरेकोले उक्त निर्णय पुनरावलोकन गर्न बोर्ड बैठकमा लैजाने बताए । उनले आफुहरुले चाहेर कर्मचारीबिचमा विभेद नगरिएको जनाएका छन् ।

शनिबार नेपाली कांग्रेस दोलखाले माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाका चुनौती र समस्याबारे आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागी हुन चरिकोट पुगेका प्रमुख कार्यकारी अधिकृत गौतमले यस्तो बताएका हुन् । उनले आन्दोलनमा उत्रिएका कर्मचारीको समस्या समाधानका लागि आजै आयोजनास्थल पुगेर छलफल गर्ने बताएका छन् ।