विश्वकर्मा दिवस अर्थात् हातहतियार तथा मेसिनरी सामानको प्रमुख देवता विश्वकर्माको पूजा–आराधना गर्ने दिन। हरेक वर्ष असाेज १ गते विश्वकर्माजयन्ती पर्व मनाउने धार्मिक परम्परा रहिआएको छ। कन्या संक्रान्ति अर्थात् सूर्यदेव कन्या राशिमा प्रवेश गरेको प्रथम दिनमा विश्वकर्माको विधिवत् पूजा तथा आराधना गरी मनाउने नियम रहेका छ।
यो पर्व तिथि अर्थात् चन्द्र गणनालाई आधार मानेरभन्दा पनि महिनालाई आधार मानेर अर्थात् सूर्यगणनालाई आधार मानेर मनाइने गरिन्छ। जसले गर्दा सौर्य परम्पराको एक प्रतिनिधि पर्वका रूपमा यसलाई लिने प्रचलन रहेको कुरा अन्वेषकहरूले बारम्बार बताउने गरेका छन्। भगवान् विश्वकर्माले देवताका लागि हतियार, भवन र मन्दिर बनाएका थिए। विश्वकर्माले ब्रह्मालाई ब्रह्माण्डको सृष्टिमा सहयोग गरेका थिए ।
विभिन्न पुराण तथा उपपुराणहरूमा बताइएअनुसार विश्वकर्मालाई विश्वकै पहिलो इन्जिनियर र वास्तुकारको रूपमा व्याख्या गरिएको छ। विश्वकर्मा मात्र यस्ता देवता हुन् जसले सृष्टिको आदिमा ब्रह्मलाई सहयोग गरे। सृष्टिको मध्यमा देवता, दानव र मानवलाई सहयोग गरिरहे। सृष्टिको अन्त्यमा स्वयंका लागि रुद्रको स्वरूपमा यस संसारलाई महाप्रलय गराउन आउनेछन्। यसरी हेर्दा यस संसारमा विकसित भएका हरेक हातहतियारका निर्माता विश्वकर्मा हुन् । विश्वकर्माले बनाको हतियारले जीवन सुरु हुन्छ। हतियारमा नै जीवन बाँच्छ र हतियारबाट नै जीवन समाप्त हुन्छ।
आजका दिन यिनै सार्वकालिक देवता विश्वकर्माको संस्मरणमा कलकारखाना, विभिन्न औजार, मेसिनरी सामान विभिन्न प्रकारका गाडी तथा सवारीसाधनहरूको विशेष रूपमा पूजा गर्ने गरिन्छ। उनले पाताल, मध्यलोक र स्वर्गलोक गरी तीनै लोकको निर्माण गरे । इन्द्रप्रस्थ जुन महाभारतका पाण्डवको भव्य महल थियो, द्वारका भगवान् कृष्णको नगरी थियो ।
जससँग तुलना गर्न योग्य अर्को सहर हालसम्म निर्माण भएको छैन। पुष्पक विमानको निर्माण पनि भगवान् विश्वकर्माले नै गरेका थिए । उनको यो परिकल्पना आधुनिक विज्ञानका लागि फरक चुनौती छ । हावाले मात्र सोचेको गतिमा र जति समयसम्म पनि उड्ने विमानको अन्वेषण गर्ने आधार उनीलाई नै मान्न सकिन्छ।
वास्तुशास्त्रका प्रथम देवता पनि विश्वकर्मा नै हुन्। उनले मानव जीवनलाई सहज बनाउनका लागि लामो समय टिक्ने भवन निर्माणमा दिएको योगदान अद्वितीय छ। उनका वास्तुसम्बन्धी सिद्धान्तका विभिन्न किताबहरू रहेका छन् । उनका किताबले मानव जीवन कसरी सहज र आनन्दित बन्न सक्छ भन्ने चिन्तन गरेको पाइन्छ ।
यसरी हेर्दा समग्र माजव जातिको उत्थानमा विशिष्ट योगदान पुर्याएका भगवान् विश्वकर्माको उपासना गर्नु हाम्रो सौभाग्य हो । जातीयता, धार्मिकता र साम्प्रदायिकताको चपेटामा परेर विश्वकर्मालाई उपासना नगरी आधुनिकताको खोल ओड्नु भनेको खालि कृतघ्न बन्नु मात्र हो ।