अमावश्यका प्रमुख देवता अर्यमा हुन्, जुन पितृहरूका प्रमुख देवता पनि हुन् । अमावश्यमा पितृहरूका नाममा तर्पण, स्नान तथा पिण्डदान गरेमा सदैव पितृ प्रसन्न भएर प्रजावृद्धि, धन–रक्षा, आयु वृद्धि तथा बल–शक्ति प्रदान हुने धार्मिक मान्यता रहिआएको छ।
विशेषगरी गोकर्ण, विष्णुपादुका, गण्डकी, बराहक्षेत्रलगायतका तीर्थस्थलमा स्नान, दान, श्राद्ध तथा पिण्डदानको विशेष महत्व रहेको छ। पूर्णिमामा चन्द्रमा पूर्ण हुन्छन् भने औँसीमा चन्द्रमा लुप्त अवस्थामा हुने भएकोले औँसी तिथिलाई बलप्रदायक पितृ तिथिका रूपमा पुराण तथा उपपुराणहरूमा व्याख्या गरिएको छ। अतः औँसीका दिन कुनै पनि तामसिक भोजन तथा नसालु पदार्थको सेवन पूर्ण रूपमा निषेध गरिएको छ।
पुस महिना भगवान् सूर्यदेशको विशेष पूजा तथा आराधना गर्ने महिना हो भने श्राद्धका समयमा सूर्य भगवानलाई प्रत्यक्ष पितृका रूपमा व्याख्या गरिएकाले पनि पौषेऔँसीको विशेष महत्व रहँदै आएको छ । साधारणतया मातापिता दिवंगत भएको तिथिलाई आधार मानेर प्रत्येक वर्ष वार्षिक श्राद्ध गरिन्छ । जसलाई ‘एकोद्दिष्ट श्राद्ध’ भनिन्छ भने आश्विन महिनाको पितृ पक्ष कृष्ण प्रतिपदा तिथिदेखि औँसीको दिनसम्म पर्ने श्राद्ध सोह्रश्राद्ध हो । श्राद्ध पिता–माता दिवंगत भएको तिथिका हिसाबले गर्नुपर्दछ । यसबाहेक पौषेऔँसीका दिन पनि पितृहरूलाई श्राद्ध गरी सम्झना गर्ने वैदिक परम्परा रहिआएको छ ।
एकोद्दिष्ट श्राद्ध र सोह्रश्राद्धका अतिरिक्त तीर्थ जाँदा गरिने श्राद्धलाई ‘तीर्थ श्राद्ध’ भनिन्छ । यो सनातनदेखि चलिआएको शास्त्रीय विधिविधान र नियम हो । नेपाली हिन्दू संस्कारअनुसार आफ्ना पितृहरूका लागि प्रथमतः भारतको गया तीर्थमा गई श्राद्ध गर्ने गरेको पाइन्छ । यसरी नै काँशी, अयोध्या, गंगासागर, हरिद्वार, गंगोत्री, केदारनाथ, बद्रीनाथ धामको ब्रह्म कपाली आदि तीर्थहरूमा र नेपालका बागमती, पशुपति, गोकर्ण, मातातीर्थ, मुक्तिनाथको कागबेनी र नारायणीको देवघाट आदि तीर्थहरूमा श्राद्ध गरिन्छ । यस्ता तीर्थहरूमा गरिने श्राद्धलाई ‘तीर्थ श्राद्ध’ भनिन्छ । पौषेऔँसीका दिन विशेषगरी तीर्थ श्राद्धको विशेष महत्व रहेकाे छ । माघबाट सूर्य उत्तरायण हुने भएकाले पुस महिना दक्षिणायनको अन्तिम विन्दु पनि हो । यसरी दक्षिणायनको अन्तिम विन्दुका रूपमा देखापरेको पौषेऔँसीलाई विशेषगरी पितृपर्वका रूपमा शास्त्रमा व्याख्या गरिएको छ ।
महर्षि याज्ञवल्क्यले आफ्नो याज्ञवल्क्य स्मृतिमा पितृहरू श्राद्धबाट नै तृप्त हुन्छन् र तृप्त आत्माले दिएको आशीर्वादले हाम्रो आयु, धन, विद्या, स्वर्ग, मोक्ष, राज्य एवं अन्य सबै सुखभोग गर्न पाउने कुरा उल्लेख गरेका छन् । श्राद्धचन्द्रीका नामक पुस्तकमा कर्मपुराणको मध्यभागमा श्राद्धभन्दा ठूलो अरू कुनै पनि कुराहरूबाट नहुने उल्लेख गरिएको छ ।
त्यसैले हरेक मनुष्यले जसरी भए पनि श्राद्धको कर्म गर्नु नै पर्ने कुरा शास्त्रले अह्राएको छ । वैदिक परम्पराअनुसार श्राद्धका चार विधि वर्णन गरिएको छ, ती पिण्डदान, हवन, तर्पण, ब्रह्मण भोजन हुन् ।