Skip This
एक वर्षमा सात लाख सदस्य थप्ने कांग्रेसको महत्वाकांक्षी योजना, चौध हजारको मात्रै आवेदन
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १ मंगलबार
  • Thursday, 19 September, 2024
२o८१ असोज १ मंगलबार o८:२६:oo
Read Time : > 4 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

एक वर्षमा सात लाख सदस्य थप्ने कांग्रेसको महत्वाकांक्षी योजना, चौध हजारको मात्रै आवेदन

Read Time : > 4 मिनेट
नयाँ पत्रिका
२o८१ असोज १ मंगलबार o८:२६:oo

१४औँ महाधिवेशनपछि २–१० साउन ०८० मा बसेको कांग्रेस केन्द्रीय समिति बैठकमा अनलाइन सदस्यता वितरण गर्ने, डिजिटल अभिलेख राख्ने र एक वर्षमा सात लाख नयाँ सदस्य थप्ने महत्वाकांक्षी योजना प्रस्ताव पेस भयो । महामन्त्री गगन थापाको सांगठनिक कार्ययोजना र कार्यतालिकासम्बन्धी प्रस्तावअनुसार उद्देश्य पूरा गर्न ०८१ असार मसान्तसम्म एकवर्षे ‘घरघर जाऊँ पार्टी सदस्य बनाऔँ’ अभियान सञ्चालन गरियो । अभियानअन्तर्गत पाँचदेखि सात लाख नयाँ पार्टी सदस्य बनाउने उद्देश्यले राखिएको थियो ।

‘अनलाइन सदस्यता वितरण गर्ने । साउनदेखि ३१ असार ०८१ सम्म एकवर्षे ‘घर–घर जाऔँ, पार्टी सदस्य बनाऔँ’ अभियान गर्ने । पाँचदेखि सात लाख पार्टी सदस्य बनाउने,’ महामन्त्री थापाले केन्द्रीय समितिमा गरेको प्रस्तावको १० नम्बर बुँदामा भनिएको छ । तर, निर्णयको १४ महिने अवधिमा कांग्रेसको डिजिटल बन्ने रहन भने व्यावहारिक रूपमा सफल हुन सकेन ।

कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्मा सदस्यता वितरण सहज बनाउने र नयाँ सदस्य थप्ने योजना लक्ष्यअनुसार हुन नसकेको बताउँछन् । उनले अनलाइनमार्फत सदस्यता वितरणको प्रयास गरे पनि न्यून मात्रामा आवेदन परेको बताए । अनलाइन सदस्यता भरे पनि फर्म डाउनलोड गर्नैपर्ने व्यवस्थाले अनलाइन सदस्यता वितरण असहज भएको कांग्रेसको अनुभव छ । ‘पार्टीबाट निर्णय गरेर नै हामीले सदस्यता वितरणलाई सहज बनाउन खोजेको हो । तर, व्यावहारिक रूपमा अनलाइनबाट सदस्य बनाउने काम सम्भव हुन सकेन । ज्यादै न्यून रूपमा सदस्यताका लागि आवेदन परेका छन् । जुन लक्ष्यको एक प्रतिशत पनि छैन । अहिले क्रियाशील सदस्यका लागि हार्डकपी र नयाँ सदस्यताका लागि फर्म जिल्लामा पठाएका छौँ,’ उनले भने ।

कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले क्रियाशील सदस्यता नवीकरण र नयाँ सदस्यता वितरण समानान्तर रूपमा अगाडि बढिरहेको बताए । ‘अनलाइनमार्फत फर्म भरेर कांग्रेसको सदस्यता लिने र क्रियाशील सदस्यता नवीकरण निरन्तर चलिरहेको छ,’ उनले भने, ‘क्रियाशील सदस्यता जिल्लाबाट वितरण हुन्छ । के–कति वितरण भए भन्ने संख्यागत विवरण केन्द्रमा आउने क्रममा छ ।’ सदस्यता व्यवस्थापन केन्द्रीय समितिलाई सघाइरहेका कांग्रेस कार्यालय सचिव डा. प्रदीप पराजुलीका अनुसार सिस्टम बनिनसकेकाले डिजिटल रूपमा सदस्यता वितरणको काम प्रभावकारी हुन सकेको छैन । उनका अनुसार १४ हजारहाराहारी नयाँ सदस्यताका लागि अनलाइन आवेदन परेको छ । ‘सिस्टम पूरै बनिसकेको छैन । कति संख्यामा बने भन्ने प्रविष्ट हुन पाएको छैन । बनाउँदै छौँ । अहिले १४ हजारहाराहारीको संख्यामा नयाँ सदस्यताका लागि आवेदन आएका छन्,’ उनले भने ।

२ साउन ०७९ मा सम्पन्न केन्द्रीय समिति बैठकले महामन्त्री थापाको संयोजकत्वमा सदस्यता व्यवस्थापन केन्द्रीय समिति गठन गरेको थियो । थापा संयोजक रहेको समितिले जिल्ला सभापतिहरूको भेला गरेर २१ असार ०८० मा जिल्ला सभापतिहरूको भेला बोलाएर सदस्यता वितरण गर्न निर्देशन दिएको थियो । कांग्रेसको तथ्यांकअनुसार १४औँ महाधिवेशनमा आठ लाख ६९ हजार ५५१ क्रियाशील सदस्य थिए । साधारण सदस्यको एकीकृत विवरण भने कांग्रेससँगै छैन । डिजिटल सदस्यता वितरणको विषयलाई लिएर कांग्रेसमा दुई धार देखिएको थियो । तत्कालीन समयमा पुराना पुस्ताका नेताहरू कांग्रेसको सदस्यता अनलाइनमार्फत वितरण गर्ने कार्यप्रति असन्तुष्ट बनेका थिए । नयाँ पुस्ता भने समयको मागअनुसार डिजिटल सदस्यता वितरण गर्ने पक्षमा देखिएका थिए । कांग्रेस विधानमा क्रियाशील र साधारण सदस्य गरी दुई प्रकारका सदस्यता रहने व्यवस्था गरेको छ ।

गत १६ भदौमा केन्द्रीय समितिबाट पारित महामन्त्री थापाको महासमिति बैठकमा प्रस्तावित सांगठनिक प्रस्ताव (परिमार्जित) प्रस्तावमा कांग्रेसमा क्रियाशील सदस्य, १३ भ्रातृसंगठन, २६ शुभेच्छुक संस्था र केन्द्रदेखि वडा र टोल समिति गरी हजारौँ समिति, ३७ जनसम्पर्क समिति र आबद्ध कार्यकर्ताको संख्याका आधारमा सबैभन्दा कांग्रेस धेरै सदस्य र ठूलो सांगठनिक संरचना भएको पार्टी भएको दाबी गरिएको छ । महामन्त्री थापाको पछिल्लो दस्तावेजमा अभियानअनुसार सदस्यता नवीकरण र नयाँ सदस्यता वितरणलाई डिजिटल बनाउने अभियान अघि बढेको उल्लेख गरिएको छ । ‘१४औँ महाधिवेशनसम्मको क्रियाशील सदस्यताको समस्या समाधान गरी आठ लाख ६९ हजार ५५१ क्रियाशील सदस्यताको विवरण जिल्लागत रूपमा सबै जिल्लामा पठाएर नवीकरणको प्रक्रिया सुरु भइसकेको छ । विधानबमोजिम नयाँ क्रियाशील सदस्यता निरन्तर वितरण गर्ने कार्यलाई प्राथमिकता दिई नयाँ सदस्यता वितरणका लागि पठाइसकिएको छ,’ थापाको प्रतिवेदनमा भनिएको छ । 

महाधिवेशनअघि कांग्रेसमा क्रियाशील सदस्यता वितरणमा विवाद सामान्यजस्तै बन्ने गरेको छ । गत महाधिवेशनमा पनि लामो विवादका कारण केही स्थानको विवादलाई थाती राखेर महाधिवेशन सम्पन्न गरिएको थियो । प्रतिवेदनका अनुसार क्रियाशील सदस्यता नवीकरणलाई अनलाइनमार्फत हुने र क्रियाशील सदस्यता जिल्लाबाटै प्रिन्ट गर्न सकिने बनाइएको छ । पहिलो चरणमा भने केन्द्रले सदस्यता कार्ड उपलब्ध गराउने प्रतिवेदनमा उल्लेख छ । ‘कांग्रेस पार्टी सदस्यता अनलाइनमार्फत उपलब्ध हुने व्यवस्था सुरु भएको छ । क्रियाशील सदस्यता नवीकरणलाई अनलाइनमार्फत हुने र क्रियाशील सदस्यताको कार्ड जिल्लाबाटै प्रिन्ट गर्न सकिने गरी प्राविधिक व्यवस्था बनेको छ । यसपटकका लागि सबै जिल्लामा प्रिन्टका लागि पठाए पनि नवीकरण कार्यमा ढिलाइ नहोस् भनेर जिल्लाकै सुझावअनुसार केन्द्रबाटै पठाउने प्रबन्ध मिलाइएको छ,’ महामन्त्रीको सांगठनिक प्रतिवेदनमा उल्लेख छ । गत १६ भदौमा सम्पन्न केन्द्रीय समिति बैठकले सदस्यता नवीकरण तथा वितरणलगायतलाई प्राथमकितामा राखेर सय दिने सांगठनिक अभियान घोषणा गरेको छ । विशेष सांगठनिक अभियानका रूपमा १ असोजदेखि १० पुससम्म सञ्चालन हुने अभियानमा सांगठनिक गतिविधिलाई प्रभावकारी बनाउने, सदस्यता वितरण र नवीकरणलाई तीव्रता दिने, अभिलेखीकरण र अभियानलाई चुस्त र प्रभावकारी बनाउनेलगायत उद्देश्य छन् ।

अनलाइन सदस्यता सहज बनाउन नियमावली संशोधन
गत १६ भदौमा सम्पन्न केन्द्रीय समिति बैठकले सदस्यता वितरणलाई सहज बनाउन नियमावलीका तीन बुँदामा संशोधनसमेत गरेको छ । मुख्यसचिव पौडेलका अनुसार कांग्रेसको नियमावली, २०७६ (परिच्छेद–२) नियम ६ सँग सम्बन्धित उपनियम ३ र ४ मा प्रतिबन्धात्मक वाक्यांश थप गरिएको छ । त्यस्तै, अनलाइन सदस्यता र विद्युतीय माध्यमबाट सदस्यता प्रदान गर्ने व्यवस्थालाई स्पष्ट गर्न नियम ८ उपनियम (१), (छ) र (ज) मा समेत संशोधन गरिएको छ । संशोधित व्यवस्थाले सदस्यता वितरणमा तल्लो तहबाट ढिलाइ भएमा केन्द्रमा रहेका सदस्यता व्यवस्थापन समितिसँग समन्वय गरी केन्द्रीय कार्यालयले सदस्यता प्रक्रिया सहज र छिटोछरितो बनाउन सक्ने व्यवस्था गरिएको छ ।

एक वर्षअघि सात लाखसम्म पुर्‍याउने योजना, एक वर्षपछि पाँच लाख मात्रको लक्ष्य 
सांगठनिक कार्ययोजना र कार्यतालिकासम्बन्धी प्रस्तावअनुसार उद्देश्य पूरा गर्न ०८१ असार मसान्तसम्म एकवर्षे ‘घरघर जाऊँ पार्टी सदस्य बनाऔँ’ अभियानअन्तर्गत सात लाखसम्म पार्टी सदस्य बनाउने योजना असफल भएको कांग्रेसकै दस्तावेजले देखाउँछ । महामन्त्री थापाको महासमितिबाट पारित प्रस्तावमा यसबिचको समीक्षा गर्दै निधारित लक्ष्यअनुसार सदस्यता वितरण र नवीकरणको काम हुन नसकेको उल्लेख गरिएको छ । ‘कतिपय जिल्लामा पार्टीका बैठक, सम्मेलन, सदस्यता विस्तार र नवीकरणलगायत विधानप्रदत्त नियमित गतिविधिसमेत हुन नसकेको, कतिपय तहमा निष्क्रियता रहेको र कतिपय ठाउँमा निर्वाचनलगायत विशिष्ट कारणले संगठनमा शिथिलता आएको पार्टीका आन्तरिक अभियानबाट प्राप्त प्रतिवेदनले समेत देखाएको छ । अर्कोतर्फ धेरै हाम्रा गतिविधि संगठन विस्तारभन्दा पनि नियमित परिचालनमा सीमित भएको अवस्था छ,’ महासमितिको प्रतिवेदनमा उल्लेख छ । 

कांग्रेसले आजबाट सयदिने सांगठनिक अभियान सुरु गर्दै
पाँच लाख नयाँ पार्टी सदस्य थप्ने योजनासहित कांग्रेसले मंगलबारबाट सयदिने विशेष सांगठनिक अभियान थाल्ने भएको छ । कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार १ असोजदेखि १० पुससम्म विशेष सांगठनिक अभियान सञ्चालन गर्न लागिएको हो । १६ भदौमा सम्पन्न केन्द्रीय कार्यसमिति बैठकको निर्णयअनुसार संगठन विस्तार अभियान सुरु गर्न लागिएको महतले बताए । 

‘पूर्वनिर्धारित योजनाअनुसार अभियानका लागि सबै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाइएका छन्,’ उनले भने । कांग्रेसले अगामी निर्वाचनमा आफ्नै तागतमा निर्वाचन लड्ने नीति लिएको छ । जसअनुसार संगठन सुदृढीकरणलाई केन्द्रमा राखेर अभियान सञ्चालन गर्ने उद्देश्य राखिएको छ । ‘पार्टीको सबै तहका सांगठनिक गतिविधिलाई प्रभावकारी बनाउन, सदस्यता वितरण र नवीकरण कार्यलाई तीव्रता दिन, विधानबमोजिम मातहतका कार्यसमितिले नियमित गर्नुपर्ने बैठक, सम्मेलन, अभिमुखीकरण, कार्यतालिका निर्माणलगायतका कार्य समयमै गर्न गराउन, अभिलेखीकरण र अभियानलाई चुस्त र प्रभावकारी बनाउन, पार्टीका जनप्रतिनिधिसँगको समन्वय र सहजीकरण संयन्त्रलाई नियमित र व्यवस्थित गर्ने,’ केन्द्रीय समितिको निर्णयमा भनिएको छ ।