Skip This
प्रधानमन्त्री ओली ४ असोजमा न्युयोर्क जाँदै, मोदीसँगको भेट अन्योलमा
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १ मंगलबार
  • Thursday, 19 September, 2024
२o८१ असोज १ मंगलबार o६:१o:oo
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

प्रधानमन्त्री ओली ४ असोजमा न्युयोर्क जाँदै, मोदीसँगको भेट अन्योलमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ असोज १ मंगलबार o६:१o:oo

संयुक्त राष्ट्रसंघीय महासभाको ७९औँ सत्रमा सहभागी हुन प्रधानमन्त्री केपी ओली ४ असोजमा अमेरिकाको न्युयोर्क जाँदै छन् । ओलीले सुरुमा ‘समिट अफ द फ्युचर’ र त्यसपछि महासभाको जनरल डिबेट सत्रलाई सम्बोधन गर्ने कार्यतालिका छ । त्यसअघि प्रधानमन्त्री ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँग साइडलाइन भेटवार्ताका लागि कूटनीतिक च्यानलमार्फत कुराकानी भएको छ, तर सोमबार साँझसम्म भेट तय भएको छैन । 

भारतीय प्रधानमन्त्री मोदीसँग ओलीको भेट अमेरिकी समयअनुसार ६ असोज साँझ ५:३० (नेपाली समयअनुसार ७ असोज बिहान सवा ३ बजे)का लागि छलफल भइरहेको छ । ‘नेपालले प्रस्ताव गरेको यो समयका लागि भारतीय पक्षबाट सकारात्मक जवाफ आए पनि तय हुन बाँकी छ । हामी प्रतीक्षामा छौँ,’ परराष्ट्र मन्त्रालय स्रोतले नयाँ पत्रिकासँग भन्यो ।

भारतीय प्रधानमन्त्री मोदी न्युयोर्कमा एक दिन मात्रै बस्ने कार्यक्रम छ । अमेरिकी समयअनुसार ६ असोजमा बस्ने भएकाले त्यही दिन उनीसँग भेटका लागि अनुकूल हुन सक्ने जानकारी भारतीय पक्षले नेपाललाई जानकारी दिएको थियो । त्यहाँको समयअनुसार ७ असोजमा ओली र मोदी दुवैले संयुक्त राष्ट्रसंघद्वारा आयोजित ‘समिट अफ द फ्युचर’मा सम्बोधन गर्ने कार्यक्रम छ । त्यसपछि मोदी क्वाड मुलुक (भारत, अमेरिका, अस्ट्रेलिया र जापान)को सम्मेलनमा सहभागी हुन जानेछन् । मोदी महासभालाई सम्बोधन गर्न आउनेछैनन्, महासभालाई भारतीय विदेशमन्त्री डा. एस जयशंकरले सम्बोधन गर्ने कार्यक्रम छ ।

ओलीले न्युुयोर्कस्थित कोलम्बिया विश्वविद्यालय तथा बोस्टर्नस्थित हार्वर्ड विश्वविद्यालयमा प्राज्ञिक क्षेत्रलाई सम्बोधन गर्ने कार्यक्रम छ । उनले अमेरिकी समयअनुसार २६ सेप्टेम्बर (१० असोज)मा महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ । उनी भोलिपल्ट स्वदेश फर्किनेछन् । 

भ्रमणबारे संसद्लाई दिए जानकारी
प्रधानमन्त्री ओलीले न्युयोर्क भ्रमणबारे सोमबार प्रतिनिधिसभालाई जानकारी दिएका छन् । उनले नेपालको संविधान, पञ्चशीलमा आधारित विदेश नीति, जलवायु परिवर्तन, हिमालका मुद्दा विश्वमञ्चमा राख्ने बताए । लोकतन्त्रप्रति विश्वमाझ प्रतिबद्धता दोहोर्‍याउने र छिमेकीसँगको सम्बन्धबारे पनि नेपालको मान्यता स्पष्ट पार्ने प्रधानमन्त्रीको भनाइ छ । ‘नेपाल असल छिमेकीको रूपमा छिमेक सम्बन्ध कायम राख्न चाहन्छ । छुद्र र जाली छिमेकी होइन,’ उनले भने, ‘असल छिमेकीको रूपमा, छिमेकीको अहित चिताउने छिमेकीको रूपमा होइन, छिमेकीको हित चिताएर काम गर्ने छिमेकीको रूपमा बस्न चाहन्छ र त्यस्तै व्यवहार छिमेकीहरूबाट पनि चाहन्छ ।’ 

राष्ट्रसंघको बडापत्र, असंलग्न आन्दोलनका सिद्धान्त र आन्तरिक मामिलाहरूमा हस्तक्षेप नगर्ने, कसैको सार्वभौमसत्तामा दख्खल नदिने र आफ्नो स्वतन्त्र हैसियतको, स्वतन्त्र नीतिमा कुनै हस्तक्षेप पनि अस्वीकार गर्ने नेपालको स्थापित नीति रहेको उनले दोहोर्‍याए । ‘त्यो कुरा पनि हामी संयुक्त राष्ट्रसंघमा राख्नेछौँ,’ ओलीले भने, ‘यसपटक सामान्य सम्बोधन गर्नेजस्तो विषय मात्रै होइन, विभिन्न विषयमा केन्द्रित भएर राष्ट्रसंघको महासभाले नै छलफलको आयोजनाहरू गरेको छ ।’

फ्युचर समिटमा हिमाल र समुद्रको पारिस्थितिक प्रणालीबारे नेपालको दृष्टिकोण राख्ने पनि ओलीले बताए । उनले नेपालको शिर ढल्ने गरी तलमाथि नगर्ने पनि बताए । ‘म नेपालको शिर ढल्ने गरी, नेपालको इज्जत तल पर्ने गरी, नेपालको कुनै पनि हिसाबले प्रभाव, प्रतिष्ठा, हित, सरोकार केही पनि तल पर्ने गरी काम गर्दिनँ,’ ओलीले भने ।