१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ २४ सोमबार
  • Tuesday, 17 September, 2024
आइतबार धुलिखेल–खावा सडकखण्डको अनुगमन गर्दै संघीय संसदीय पूर्वाधार विकास समितिका सदस्यहरू । तस्बिर : नयाँ पत्रिका
२o८१ भदौ २४ सोमबार o६:२९:oo
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

धुलिखेल–खावा सडकखण्ड स्तरोन्नतिमा ठेकेदारको चरम लापरबाही

ठेक्का तोड्न सांसदहरूको सुझाव

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ भदौ २४ सोमबार o६:२९:oo

सम्झौता अवधि सकिएको पाँच महिना बितिसक्दा पनि ५० प्रतिशत काम नभएपछि संघीय संसदीय पूर्वाधार विकास समितिले अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डको अनुगमन गरेको छ । आइतबार संघीय सांसद शंकर भण्डारीको नेतृत्वमा समितिले अनुगमन गरेको हो । समयमा सडक विस्तारको काम नसकिँदा सर्वसाधारणले अनाहकमा दुःख पाएको, यात्रुको अंगभंग हुनुपरेको र केहीले ज्यान नै गुमाउनुपरेको गुनासोपछि अनुगमनमा आएको उनले बताए । अनुगमनका क्रममा राजमार्गको अवस्था साँच्चै कष्टकर पाएको उनको भनाइ छ । 

‘हामीले विभिन्न माध्यमबाट धुलिखेल–खावा सडक विस्तारमा ढिलाइ हुँदा सर्वसाधारण तथा यात्रुले भोगेको समस्या थाहा पायाैँ । फिल्डमै पुगेर हेरौँ भन्ने उद्देश्यले ११ जना सांसदसहित पूर्वाधार विकास समितिका प्रतिनिधि अनुगमनमा आएका हौँ,’ भण्डारीले भने, ‘हामीले स्थानीयको आक्रोश, जनप्रतिनिधिका कुरा र फिल्ड पनि हेर्‍यौँ । अब पूर्वाधार विकास समितिको बैठक बसेर ठेक्का सम्झौता तोड्ने कि के गर्ने भन्ने निचोड निकाल्छौँ ।’ तत्काल राजमार्गको खाल्टाखुल्टी पुर्ने र रेस्क्युको व्यवस्था गर्नुपर्ने भण्डारीले बताए । 

समिति सदस्य ठाकुर गैरेले यसअघि नै ठेक्का तोड्न समितिले निर्देशन दिए पनि निर्माण कम्पनीको म्याद थपिँदै जाने र जनताले सास्ती पाइरहने स्थिति बन्न नहुने बताए । तोकिएको अवधिमा काम नभए ठेक्का रद्द गर्न समितिमार्फत सरकारलाई निर्देशन दिने र त्यो कार्यान्वयन भए–नभएको पनि ताकेता गर्ने उनको भनाइ छ । सांसद माधव सापकोटाले गौरी–पार्वती जेभीले अन्यत्र सकारेको ठेक्का पनि समस्याग्रस्त रहेको भन्दै ठेक्का रद्द गर्नुपर्ने धारणा राखेका थिए । ठेक्का सम्झौताको म्याद नसकिँदै ठेक्का सम्झौता रद्द गर्न सडक डिभिजनलाई भनेको उनले बताए ।

जिल्ला समन्वय समितिका प्रमुख दीपककुमार गौतमले गलत डिपिआर र डिजाइन स्वीकृत भएकाले निर्माणमा समस्या आएको बताए । खरिद ऐनका प्रावधानका कारण समस्या आएको उनको भनाइ छ । पाँचखाल नगर प्रमुख महेश खरेलले काम नगर्ने निर्माण व्यवसायीविरुद्ध किटानी जाहेरी दिँदा पनि प्रहरी प्रशासनले आँट नगरेको बताए ।

संघीय संसद्को पूर्वाधार समितिको टोलीसमक्ष स्थानीयले आक्रोश पोखेका छन् । निर्माण व्यवसायीको लापरबाही, जनप्रतिनिधि र कर्मचारीको लाचारीपनका कारण सास्ती खेप्नुपरेको स्थानीयको गुनासो थियो । पाँचखाल नगरपालिका– ५ का स्थानीय बुद्धनराज गिरीलगायतले राजमार्ग विस्तारमा राजनीति नगर्न आग्रह गरे । 

अरनिको राजमार्गअन्तर्गतको धुलिखेल–खावा चार किलोमिटर सडकखण्ड विस्तारमा ढिलाइ भएको छ । सडक डिभिजन कार्यालय भक्तपुर र निर्माण व्यवसायीबीच २२ महिनामा सडक विस्तार एवं स्तरोन्नतिको काम सक्ने गरी २० जेठ ०७९ मा सम्झौता भएको थियो । २७ महिना बितिसक्दासमेत ५० प्रतिशत काम सम्पन्न भएको छैन । सम्झौताअनुसार १९ चैत ०८० मा काम पूरा गर्नुपर्ने थियो । सो म्याद सकेर पाँच महिना बितिसक्दासमेत कामले गति लिन सकेको छैन । सडकखण्ड स्तरोन्नति तथा विस्तार गर्न डिभिजन कार्यालयले गौरी–पार्वती निर्माण सेवासँग सम्झौता गरेको थियो ।

मालवाहक सवारीको भारवहन क्षमतालाई मध्यनजर गर्दै सडकखण्डमा नेपालमै पहिलोपटक ग्राभेलमाथि २० सेन्टिमिटर बाक्लो सिमेन्ट मिसाइएको बेस हाल्ने तथा डिबिएम र आस्फाल्ट गरी दुई चरणको कालोपत्र गर्न लागिएको छ । साँघुरो सडकका कारण बर्सेनि ट्राफिक जाम बढ्दै गएपछि सडकखण्ड विस्तार गर्न लागिएको थियो । चार किलोमिटर सडकखण्ड विस्तार एवं स्तरोन्नतिका लागि ३० करोड ७८ लाख ७२ हजार ३८० रुपैयाँ अनुमान गरेकोमा व्यवसायीसँग भ्याटसहित २० करोड १९ लाख ४३ हजार ५०१ रुपैयाँमा सम्झौता गरिएको थियो ।

शंकर भण्डारी, सांसद, कांग्रेस
हामीले विभिन्न माध्यमबाट धुलिखेल–खावा सडक विस्तारमा ढिलाइ हुँदा सर्वसाधारण तथा यात्रुले भोगेको समस्या थाहा पायाैँ । फिल्डमै पुगेर हेरौँ भन्ने उद्देश्यले ११ जना सांसदसहित पूर्वाधार विकास समितिका प्रतिनिधि अनुगमनमा आएका हौँ । हामीले स्थानीयको आक्रोश, जनप्रतिनिधिका कुरा र फिल्ड पनि हेर्‍यौँ । अब पूर्वाधार विकास समितिको बैठक बसेर ठेक्का सम्झौता तोड्ने कि के गर्ने भन्ने निचोड निकाल्छौँ ।