मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ श्रावण २८ सोमबार
  • Wednesday, 15 January, 2025
२o८१ श्रावण २८ सोमबार o९:५४:oo
Read Time : > 2 मिनेट
विश्व प्रिन्ट संस्करण

अमेरिकाले ममाथि षड्यन्त्र गर्‍यो, छिट्टै स्वदेश फर्किन्छु : हसिना

सेन्ट मार्टिन र बंगालको खाडी अमेरिकालाई सुम्पेको भए सत्तामा रहन सक्थेँ

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ श्रावण २८ सोमबार o९:५४:oo

शेख हसिनाले बंगलादेशको प्रधानमन्त्री पदबाट राजीनामा दिनुअघि राष्ट्रलाई सम्बोधन गर्न चाहन्थिन् । तर, विद्यार्थीहरूको हिंसात्मक प्रदर्शनले उग्ररूप लिएपछि ५ अगस्टमा उनले हतारमा देश छाडिन् । तर, अहिले आएर उनले मुख खोलेकी छिन् । उनले अमेरिकाले बंगलादेशमा शासन परिवर्तनको षड्यन्त्र गरेको आरोप लगाएकी छिन् । अहिले भारतमा रहेकी हसिनाले अमेरिकालाई सेन्ट मार्टिन र बंगालको खाडी दिएको भए आफू सत्तामा रहिरहन सक्ने दाबी गरेकी छिन् । ‘यदि मैले सेन्ट मार्टिन र बंगालको खाडी छोडेर अमेरिका गएको भए म सत्तामा रहन सक्थेँ,’ उनले आफ्नो अवामी लिग समर्थकहरूलाई लेखेको सन्देशमा भनिएको छ ।

देश छाडेर भागेपछि उनको पहिलो भनाइ आएको हो । बंगालको खाडीको उत्तरपूर्वी भागमा अवस्थित सेन्ट मार्टिन टापु बंगलादेशको सबैभन्दा दक्षिणी भाग हो । लासहरूको जुलुस हेर्न नपरोस् भनेर राजीनामा दिएको उनले बताइन् । उनले नयाँ अन्तरिम सरकारलाई विदेशी शक्तिहरूबाट प्रयोग नहुन चेतावनी दिएकी छिन् । समर्थक र कार्यकर्तालाई दिएको सन्देशमा उनले चाँडै स्वदेश फर्कने वाचासमेत गरेकी छिन् ।

आफू देशमा बसेको भए अझै धेरै ज्यान गुमाउन सक्ने उनले अनुमान गरेकी छिन् । ‘सायद आज म देशमा भएको भए धेरैको ज्यान गएको हुन्थ्यो, धेरै सम्पत्ति नष्ट हुने थियो । मैले आफैँलाई हटाएँ । म तपाईंहरूको जित लिएर आएकी  हुँ । तपाईंहरू मेरा शक्ति हुनुहुन्थ्यो । तपाईंहरूले मलाई चाहनुभएन, म आफैँले राजीनामा दिएर देश छाडेँ,’ पत्रमा लेखिएको छ । उनको भनाइप्रति आइतबार साँझसम्म अमेरिकाले कुनै टिप्पणी गरेकी छैनन् । हसिना भागेपछि लाखौँको संख्यामा रहेका उनको अवामी लिगका सदस्यहरू लुकेर बसेका छन् । उनीहरूमाथि प्रतिशोधपूर्ण आक्रमण भएको छ । पार्टी कार्यालयमा आगजनी गरिएको छ ।

सायद आज म देशमा भएको भए धेरैको ज्यान गएको हुन्थ्यो, धेरै सम्पत्ति नष्ट हुने थियो । मैले देश छाडेँ । तपाईंहरूको जित लिएर आएकी हुँ । तपाईंहरू मेरो शक्ति हो । तर, मलाई चाहनुभएन, म आफैँले राजीनामा दिएर देश छाडेँ ।

‘भारतले आमाको ज्यान बचायो’
हसिना वाजेदका छोरा सजीव वाजेदले नयाँदिल्लीलाई ‘आफ्नो आमाको जीवन बचाएकोमा’ धन्यवाद दिँदै बंगलादेशमा अन्तरिम अधिकारीहरूले ‘भिडको शासन’ गर्न दिएको आरोप लगाएका छन् । उनले निर्वाचनविना यही अवस्था लम्बिएमा देश अराजकतातर्फ जाने चेतावनी दिएका हुन् । हसिनामाथि आफ्नो कार्यकालका हजारौँ राजनीतिकविरोधीहरूको गैरन्यायिक हत्यासहित व्यापक मानव अधिकार उल्लंघनको आरोप लगाइएको छ ।

उनी भारत आएपछि विद्यार्थीको मागमा नोबेल शान्ति पुरस्कार विजेता ८४ वर्षीय मोहम्मद युनुसलाई अन्तरिम प्रशासनको नेतृत्व सुम्पिएको छ । अमेरिकामा बस्दै आएका हसिनाका छोरा तथा पूर्वसरकारका सल्लाहकार ५३ वर्षीय सजीव जोयले अन्तरिम सरकारको आलोचना गर्दै यसलाई ‘पूर्णतया शक्तिहीन’ सरकारको संज्ञा दिए । उनले एएफपीलाई वासिङटनबाट दिएको अन्तर्वार्तामा भनेका छन् ‘अहिले बंगलादेशमा भिडको शासन छ । 

युनुसले ‘केही महिनाभित्रै चुनाव होस् भन्ने चाहेको’ बताउँदै आएका छन् । तर, वाजेदले चुनावमा ढिलाइ भए अराजकता बढ्ने चेतावनी दिएका छन् । उनले भने, ‘जनताको वैधानिकता र साँचो अधिकार भएको वैध सरकारमा फर्कन निर्वाचन गराउनु उनीहरूको हितमा छ । अन्यथा, यो केवल अराजकतामा परिणत हुनेछ ।’ हसिनाले जनवरीमा भएको चुनावमा विजय हासिल गरेकी थिइन्, तर विपक्षी नेताहरूलाई जेलमा थुनेर हुने चुनाव स्वतन्त्र वा निष्पक्ष हुन नसक्ने भन्दै वास्तविक प्रतिद्वन्द्वीहरूले निर्वाचन बहिष्कार गरेका थिए । सजीवले करिब १७ करोड जनसंख्या रहेको दक्षिण एसियाली राष्ट्रको राजनीतिक भविष्यका लागि हसिनाको दल अवामी लिग महत्वपूर्ण रहेको दाबी गरे  । ‘अवामी लिगविना बंगलादेशमा प्रजातन्त्र स्थापना गर्न सकिँदैन । कमसेकम देशका आधा जनताले यसलाई कहिल्यै स्वीकार गर्ने छैनन् ।’ 

लन्डनको संसद्बाहिर प्रदर्शन
बंगलादेशमा अल्पसंंख्यकविरुद्धको हिंसाको विरोधमा लन्डनको संसद्बाहिर प्रदर्शन भएको छ । बंगलादेशमा हिंसामा वृद्धि हुँदै जाँदा लन्डनस्थित प्रदर्शनकारीहरूले शान्ति र समानताको माग गर्दै नारा लगाए । प्रदर्शनमा विभिन्न मानव अधिकार संगठनका कार्यकर्ता, बंगलादेशी डायस्पोराका सदस्यलगायत सहयोगीहरूको सहभागिता थियो । बंगलादेशी मूलका एकजना प्रदर्शनकारी उनादीले बंगलादेशी अल्पसंख्यक हिन्दुमाथि भएको हिंसाप्रति चिन्ता व्यक्त गर्दै बहुसंख्यक जनसंख्याले उनीहरूलाई अन्यायविरुद्ध बोल्नबाट रोकेको बताए । ‘हाम्रो देश सन् १९७१ मा स्वतन्त्र भयो ताकि सबै समुदायहरू शान्तिपूर्वक बाँच्न सकून् । तर, अहिले हामी बहुसंख्यक समुदायले गरेको अत्याचारबाट पीडित छौँ,’ उनादीले भने । बेलायतको बंगाली क्रिस्चियन एसोसिएसनका एकजना प्रदर्शनकारीले सबै समुदायलाई समान व्यवहारको आवश्यकतालाई जोड दिए । बहुसंख्यक समुदायको अत्याचारका कारण बंगलादेशी अल्पसंख्यकहरू देश छाडेर भाग्न बाध्य भइरहेका अर्का प्रदर्शनकारीले जनाएका छन् । ‘विगत पाँचदेखि बंगलादेशमा अल्पसंख्यकहरूले भोग्नुपरेको हिंसाको विरुद्धमा हामी यहाँ भेला भएका छौँ । अल्पसंख्यकविरुद्धको हिंसा रोक्नुपर्छ,’ उनले भने ।

नयाँ प्रधानन्यायाधीशले लिए शपथ
बंगलादेशमा अपदस्थ प्रधानमन्त्री शेख हसिनाका विश्वास पात्र मानिएका प्रधानन्यायाधीशको राजीनामापछि नयाँ प्रधानन्यायाधीशले पद तथा गोपनीयताको शपथ लिएका छन् । नवनियुक्त प्रधानन्याधीश सैयद रेफात अहमदले आइतबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् । राष्ट्रपति मोहम्मद सहाबुद्दिनले उच्च अदालतका वरिष्ठ न्यायाधीश अहमदलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । सहाबुद्दिन बंगलादेशको २५औँ प्रधानन्यायाधीश बनेका छन् । उनले ढाका विश्वविद्यालय, अक्सफोर्ड विश्वविद्यालय र संयुक्तराज्य अमेरिकाको टफ्टस विश्वविद्यालयमा अध्ययन गरेका थिए । यसअघि प्रधानन्यायाधीश ओबेदुल हसनले पदबाट राजीनामा दिएका थिए । आन्दोलनकारी विद्यार्थीहरूले शनिबार सर्वोच्च अदालत घेराउ गरेपछि प्रधानन्यायाधीश हसनले पदबाट राजीनामा दिएका हुन् । प्रदर्शनकारीको मागमा केन्द्रीय बैंकका गभर्नर र प्रहरी प्रमुखलगायत उच्च अधिकारीलाई पदबाट हटाइएको छ ।
एजेन्सी