१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ श्रावण १२ शनिबार
  • Sunday, 08 September, 2024
२o८१ श्रावण १२ शनिबार १o:o७:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

चितवनमा ६४ जनामा डेंगु संक्रमण

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ श्रावण १२ शनिबार १o:o७:oo

चितवनमा ६४ जनामा डेंगुको संक्रमण देखिएको छ। तीन सयजनाको परीक्षणका क्रममा उनीहरूमा डेंगु संक्रमण देखिएको हो। संक्रमितमध्ये ५१ जना चितवनका हुन्। साउन महिनाको ११ गतेसम्ममा उनीहरूमा डेंगु संक्रमण देखिएको हो।

जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख दिनेश रूपाखेतीका अनुसार यस वर्ष इच्छाकामना गाउँपालिकामा डेंगुको संक्रमण बढेको छ। गाउँपालिकामा हालसम्म ४५ जनामा डेंगुको संक्रमण देखिएको उनले बताए। भरतपुर महानगरपालिकामा हालसम्म ६ जनामा डेंगु देखिएको छ। उनले भने, 'डेंगुको संक्रमण इच्छाकामना गाउँपालिका र भरतपुर महानगरपालिकाको बजार क्षेत्रमा बढी छ।' संक्रमण बढेसँगै संक्रमित क्षेत्रमा सचेतना बढाइएको उनले बताए।  

जिल्लामा ०८० साउनदेखि ०८१ असारसम्म एक हजार आठ सय ३१ जनामा डेंगुको संक्रमण देखिएको थियो। प्रमुख रूपाखेतीका अनुसार २३ हजार आठ सय ४० जनाको परीक्षणका क्रममा उनीहरूमा संक्रमण देखिएको हो। विशेषगरी भदौ र असोजमा डेंगु रोग बढी देखिने गर्दछ।

उनले भने, 'अहिले साउनको सुरुवातदेखि नै डेंगुको संक्रमण देखिन थालेको छ।' यो रोग एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने गर्दछ। यो लामखुट्टेले प्रायः बिहान र बेलुकाको समयमा टोक्छ। वर्षातकाे महिनासँगै जताततै पानी जम्न थालेपछि यो रोग देखिने गर्छ।

यो लामखुट्टेले प्लास्टिक, टिनका डब्बा, ड्रमहरू, थोत्रा वा पुराना टायर, गमला, कुलरमा जम्मा भएको सफा पानी, खुला पानीको ट्यांकी आदिमा फूल पार्ने गर्दछ। यी ठाउँमा जम्मा भएको पानीलाई सफा नगर्दा रोगको प्रकोप बढ्छ। डेंगु लाग्दा आँखाको गेडी तथा टाउको धेरै दुख्ने, शरीर कट्कटी दुख्ने, जोर्नी, हड्डी तथा मांसपेशी दुख्ने, शरीरमा बिमिरा आउने र रक्तस्राव हुने, उच्च ज्वरो आउनेजस्ता लक्षण देखा पर्छन्। यस्तै, वाकवाकी लाग्ने, बान्ता हुने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्नेजस्ता लक्षण देखापर्ने गर्छन् । डेंगुबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नु हो।

डेंगु ज्वरो नेपालमा पहिलोपटक सन् २००४ मा चितवनमा देखिएको थियो। चितवन घुम्न आएका एक जापानी पर्यटकमा यो रोग पुष्टि भएको थियो। उनलाई सामान्य ज्वरो आएका कारण उपचारपश्चात् जापान फर्किएर परीक्षणका क्रममा डेंगु पुष्टि भएको कार्यालय प्रमुख रूपाखेतीले जानकारी दिए। त्यसपछि सन २००६ मा तराई र भित्री मधेशका केही जिल्लामा डेंगुका बिरामी भेटिएका थिए।

सन् २००९ मा चितवनमा नौजनामा डेंगुको संक्रमण देखिएको थियाे। योसँगै आपसका जिल्लाबाट पनि ज्वरोका बिरामी उपचारका लागि चितवन आउने गरेका थिए। सन् २०१० मा तीन हजार दुई सय ९८ जनाको परीक्षणका क्रममा सात सय ३९ जनामा डेंगु संक्रमण देखिएको थियो।

यस्तै, आर्थिक वर्ष ०७४/७५ मा एक हजार दुई सय ९१ जनाको परीक्षणका क्रममा ५९ जनामा डेंगु पुष्टि भएको थियो। सो समयमा एकजनाको मृत्यु भएको कार्यालयको तथ्यांकमा उल्लेख छ। यस्तै, आव ०७५/७६ मा एक हजार नौ सय ५१ जनाको परीक्षणका क्रममा ३१ जनामा डेंगु भेटिएको थियो।

आव ०७६/७७ मा १९ हजार दुई सय ३० जनाको परीक्षणका क्रममा चार हजार आठ सय तीनजनामा संक्रमण देखिएको थियो भने तीनजनाको मृत्यु भएको थियो। आव ०७७/७८ मा एक हजार सात सय १७ जनाको परीक्षणका क्रममा दुई सय ४३ जनामा डेंगु रोग देखिएको कार्यालयले जनाएको छ।

आव ०७८/७९ मा १४ हजार नौ सय ७८ जनाको परीक्षण गरिएकामा तीन हजार तीन सय ३६ जनामा संक्रमण पुष्टि भएको थियो। त्यस वर्ष डेंगुका कारण चारजनाको मृत्यु भएको उनले जानकारी दिए। आव २०७९/८० मा पाँच हजार चार सय ५४ जनाको परीक्षण गर्दा तीन सय तीनजनामा डेंगुको संक्रमण देखिएको थियो।  रासस