१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ श्रावण ९ बुधबार
  • Saturday, 14 September, 2024
शिवहरि घिमिरे काठमाडाैं
२o८१ श्रावण ९ बुधबार o६:३५:oo
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

६ वर्षमा बिदेसिए साढे चार लाख विद्यार्थी, बाहिरियो ३ खर्ब ४३ अर्ब ७१ करोड

Read Time : > 2 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
नयाँ पत्रिका
२o८१ श्रावण ९ बुधबार o६:३५:oo

पछिल्लो एक वर्षमा मात्रै एक लाख १२ हजार विद्यार्थी बाहिरिँदा जापानमा सबैभन्दा धेरै गए

अध्ययनसँगै पैसा पनि कमाउन सकिने आशा बोकेर विद्यार्थी भिसामा विदेश उड्ने नेपाली विद्यार्थीको लहर बढ्दो छ । बिदेसिने विद्यार्थी बढेसँगै पैसा बाहिरिने दर पनि बढेको छ । 

०७५/७६ यता ६ वर्षमा मात्रै चार लाख ६४ हजार सात सय ७७ विद्यार्थी अध्ययनका लागि बिदेसिएको सानोठिमीस्थित वैदेशिक अध्ययन अनुमति शाखाको तथ्यांक छ । यी विद्यार्थी बिदेसिँदा तीन खर्ब ८२ अर्ब ११ करोड ३६ लाख रकम बाहिरिएको नेपाल राष्ट्र बैंकको तथ्यांक छ । यसमा पछिल्लो वर्ष ०८०/८१ को हकमा भने बिदेसिनेको संख्या १२ महिनाकै छ भने रकमको हकमा जेठ मसान्तसम्म ११ महिनाको मात्रै तथ्यांक समावेश छ । 

०८०/८१ मा एक लाख १२ हजार २६९ विद्यार्थी बिदेसिएकामा जेठ मसान्तसम्म ११ महिनामा रकम भने एक खर्ब १७ अर्ब ५८ लाख बाहिरिएको छ । ६ वर्षयताको तथ्यांक हेर्दा पछिल्लो ११ महिनामा सबैभन्दा धेरै रकम बाहिरिएको देखिन्छ ।  

अध्ययन अनुमति शाखाले गत वर्षको तुलनामा पछिल्लो वर्ष वैदेशिक अध्ययनमा जाने विद्यार्थी संख्या बढेको जनाएको छ । शाखा प्रमुख नृपध्वज मगरका अनुसार एनओसीको लागि दैनिक ६ सय आवेदन पर्छन् । त्यसमध्ये दैनिक चार सयको इस्यु हुन्छ । १ साउनयता मंगलबारसम्म मात्रै दुई हजार ८५० ले एनओसी लिएका छन् । ‘एनओसी लिन आउनेको भिड अझै उस्तै छ, कतिपय एप्लिकेसन पेन्डिङमा पनि बस्छन्,’ कार्यालय प्रमुख मगरले भने, ‘पछिल्लो एक वर्षमा एनओसी लिनेको संख्या थप बढेको छ ।’ 

एनओसी लिन प्रतिव्यक्ति दुई हजार शुल्क तिर्नुपर्छ । एनओसी कार्यालयको तथ्यांकअनुसार ०८०/८१ मा अध्ययनका लागि सबैभन्दा धेरै विद्यार्थी जापान, क्यानडा, युके, अस्ट्रेलिया, अमेरिका, कोरिया, फ्रान्स, भारतलगायत देशका पुगेका छन् । जसमध्ये जापानमा ३४ हजार ७३१, क्यानडामा १५ हजार ९८२, अस्ट्रेलियामा १४ हजार ३७२, अमेरिकामा ११ हजार २६१, डेनमार्कमा एक हजार ७५४, भारतमा दुई हजार ३८९ र कोरियामा ६ हजार ८८९ पुगेका छन् ।

त्यस्तै, युकेमा १३ हजार ३३९, युएईमा दुई हजार १४७, न्युजिल्यान्डमा एक हजार ४४६, फ्रान्समा एक हजार ४८९, फिनल्यान्डमा एक हजार ५३५ लगायत ६६ देशमा अध्ययनका लागि नेपाली विद्यार्थी पुगेका छन् । शाखाका अनुसार वैदेशिक अध्ययनमा गएका प्रतिविद्यार्थी औसत १३ लाख खर्च हुन्छ । 

सबैभन्दा धेरै विद्यार्थी व्यवस्थापन र जापनिज भाषामा    
पछिल्लो वर्ष विदेश गएकामध्ये २८ हजार ८९१ विद्यार्थी व्यवस्थापन विषय अध्ययनका लागि गएका छन् । त्यस्तै, जापनिज भाषामा ३३ हजार ६९७, बिजनेस विषयमा १० हजार दुई, सूचना प्रविधिमा पाँच हजार ९११, विज्ञानमा पाँच हजार ३८४, कम्प्युटर साइन्समा चार हजार ९९२, इन्जिनियरिङमा चार हजार ४२६, स्वास्थ्य विषयमा चार हजार १५९ र विज्ञान प्रविधि विषय अध्ययनका लागि चार हजार १०२ नेपाली बिदेसिएको तथ्यांक छ । त्यस्तै, हस्पिटालिटीमा दुई हजार ५४३, मानविकीमा एक हजार ८१३, शिक्षाशास्त्रमा ४३६, कृषि विज्ञानमा ३९२ विद्यार्थी बाहिरिएका छन् । 

११ महिनामा बाहिरियो एक खर्ब १७ अर्ब ५८ लाख 
०८०/८१ को जेठ मसान्तसम्म ११ महिनामा विदेश अध्ययनमा जाने विद्यार्थीबाट एक खर्ब १७ अर्ब ५८ लाख बिदेसिएको राष्ट्र बैंकको तथ्यांक छ । पछिल्लो एक महिनाको हिसाबसमेत आउँदा रकम राम्रो बढ्ने राष्ट्र बैंकका प्रवक्ता डा. डिल्लीराम पोखरेलले बताए । 

अघिल्लो वर्ष ०७९/८० मा एक खर्ब ४२ करोड ३३ लाख रुपैयाँ बाहिरिएको थियो । त्यस्तै, ०७८/७९ मा ६७ अर्ब ७० करोड १६ लाख, ७७/०७८ मा २४ अर्ब ९५ करोड ९४ लाख, ७६/०७७ मा २५ अर्ब ८१ करोड ३२ लाख र ७५/०७६ मा ४६ अर्ब २४ करोड तीन लाख बाहिरिएको थियो ।

पोखरेलका अनुसार वैदेशिक अध्ययनमा गएका विद्यार्थीबाट रेमिट्यान्स पनि भित्रिन थालेको छ । ‘विद्यार्थी अध्ययनमा जाँदा यताको रकम मात्रै बाहिरिँदैन, उताबाट पनि रेमिट्यान्स भित्रिन्छ,’ उनले भने ।