नेपाल लाइफ इन्स्योरेन्सले प्रोफेसनल एजुकेटर्स लिमिटेड र युनिग्लोब हायर सेकेन्डरी स्कुलमा लगानी गर्ने भएको छ । यससम्बन्धी सम्झौतामा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुली र प्रोफेसनल एडुकेटर्सका कार्यकारी अध्यक्ष प्रा.डा. खगेन्द्रप्रसाद ओझाले हस्ताक्षर गरेका छन् ।
कम्पनीले प्रोफेसनल एडुकेटर्समा ७३ करोड ७२ लाख ८९ हजार ६ सय रुपैयाँ लगानी गरी ३५.३२ प्रतिशत स्वामित्व र युनिग्लोब हायर सेकेन्डरी स्कुलमा ६० करोड रुपैयाँ लगानी गरी ४७.६२ प्रतिशत स्वामित्व प्राप्त गर्नेछ । कम्पनीका सञ्चालक समिति अध्यक्ष गोविन्दलाल संघईले बिमा प्राधिकरणले जारी गरेको लगानीसम्बन्धी निर्देशिकाको अधीनमा रही लगानी विविधीकरणमा ध्यान दिइरहेको र लगानी विविधीकरण गर्दै जाने क्रममा शिक्षा क्षेत्रलाई पनि प्राथमिकतामा राखेको बताए ।
शिक्षा क्षेत्र राष्ट्रिय महत्वको क्षेत्र रहेको र यस क्षेत्रमा उदाहरणीय कार्य गर्न सक्दा राम्रो प्रतिफलका साथै राष्ट्रप्रति योगदान पुग्न जाने विश्वास व्यक्त गरे । कम्पनीले बिमित ग्राहकबाट संकलित रकमलाई राम्रो प्रतिफलका लागि सुरक्षित स्थानमा लगानी गरिएको जनाएको छ ।
प्रमुख कार्यकारी अधिकृत पराजुलीले जीवन बिमा बजारमा एकचौथाइभन्दा बढी हिस्सा ओगट्दै नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको यस कम्पनीले लगानी विविधीकरणलाई केन्द्रविन्दु राखेको र यसैको सुरुवातस्वरूप शिक्षा क्षेत्रको लिडरका रूपमा स्थापित संस्थामा लगानी गरिएको बताए ।
प्रोफेसनल एडुकेटर्सका कार्यकारी अध्यक्ष ओझाले शिक्षा र जीवन बिमा क्षेत्रका मार्केट लिडर एकसाथ भएर काम गर्न आफू कटिबद्ध भएको तथा यो सम्झौता कोसेढुंगा साबित हुने धारणा राखे । कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत अमितकुमार कयालले जीवन बिमा र शिक्षाको उद्देश्य सुरक्षा र समृद्धि भएका तथा आगामी दिनमा सुरक्षा र समृद्धिका निम्ति एकजुट भएर प्रभावकारी ढंगले सामाजिक रूपान्तरणका लागि कार्य गर्ने बताए ।