फुटपाथ विस्तारको विरोधमा काठमाडौं महानगरपालिका– २२ का जनप्रतिनिधिले सडकबाटै वडा कार्यालयका कामकाज सुरु गरेका छन्।
महानगरले न्युरोड (नयाँ सडक) क्षेत्रमा सडक काटेर फुटपाथ विस्तार गरेपछि आन्दोलनमा उत्रिएका वडा नम्बर २२ का वडाध्यक्ष चिनीकाजी महर्जनसहितका जनप्रतिनिधिले आइतबार सडकबाटै कार्यालयको काम गरेर विरोध जनाएका हुन्।
सडक काटेर फुटपाथ विस्तार गर्ने निर्णयको विरोधमा वडा नं. २२ र २३ का जनप्रतिनिधिले प्रदर्शन गरिरहेका छन्। शुक्रबार महानगरको डोजर रोक्नेदेखि मेयर बालेन साहको पुत्ला दहनजस्ता कार्य भएका थिए।
महानगरले भने फुटपाथ विस्तारमा विगतमा पार्किङ हुने जति सडक पनि नलाग्ने प्रस्ट्याउँदै आएको छ।
गत आर्थिक वर्षको बजेटमार्फत पैदलमार्ग विस्तार याेजना सुरु भएको हो ।योजनाअनुसार नयाँ सडक, धर्मपथ, शुक्रपथ, खिचापोखरीसहितका सडकखण्डका पैदलमार्ग फराकिला हुनेछन् । यी क्षेत्रहरू महानगरको वडा २२, २३ र २४ मा पर्छन् ।
वडा नम्बर २२ र २३ का जनप्रतिनिधिले विरोध प्रदर्शन गरिरहँदा वडा नम्बर २४ मा महानगरले सहज रूपमा काम गरिरहेको छ ।
फुटपाथ विस्तारसँगै सडक किनारालाई हरियाली बनाउने महानगरको योजना छ । ठाउँ–ठाउँमा विश्रामस्थलसमेत बनाउन लागिएको छ ।