![](https://nayapatrika.blr1.cdn.digitaloceanspaces.com/news/images/newroad2024-07-17-10-18-59.jpeg)
नयाँ सडक क्षेत्रमा पैदलमार्ग विस्तार हुँदा विगतमा पार्किङले ओगटेको ठाउँजति पनि नपर्ने काठमाडौं महानगरपालिकाले स्पष्टीकरण दिएको छ ।
महानगरको सहरी योजना आयोगका उपाध्यक्ष डा. सुमननरसिंह राजभण्डारीका अनुसार पैदलमार्ग विस्तार गर्न विगतमा न्युरोडको कालोपत्रे सडकमा मोटरसाइकल, सामान ढुवानीका साधन, कार पार्किङ गरेर जति ठाउँमा राखिन्थ्यो, त्यति सबै ठाउँ पनि चाहिँदैन । उनले भने, ‘सहज आवागमन, व्यापारिक क्षेत्रको व्यवस्थापन र सहरी सुन्दरताको जीवन्त आयामका लागि विगतमा पार्किङ हुने गरेको स्थानमा पैदलमार्ग बनाएर पैदलयात्रीको यात्राका लागि उपलब्ध गराउन लागिएको हो ।’
पैदलयात्री बढ्दै गएपछि यात्रा सहजता तथा सुरक्षाका लागि महानगरपालिकाले खुला बोलपत्रबाट पैदलमार्ग विस्तारका लागि टेन्डर आह्वान गर्यो । निर्माण पक्ष छानेर ११ जेठदेखि काम थालेको थियो । काम थालेको भोलिपल्ट डिभिजन सडक कार्यालयले अवरोध गर्यो । महानगरपालिकाले डिभिजन सडक कार्यालयले गरेको हस्तक्षेपविरुद्ध अन्तरिम आदेश माग गर्दै २७ जेठमा उच्च अदालतमा रिट दायर गरेको थियो । रिटमाथि सुनुवाइ गर्दै अदालतले ३० असारमा महानगरपालिकाको मागबमोजिम अन्तरिम आदेश दिएपछि पुनः काम अगाडि बढेको छ ।
आयोगका उपाध्यक्ष डा. राजभण्डारीका अनुसार मिश्रित आवासीय क्षेत्रमा १.८ मिटर, मिश्रित व्यावसायिक क्षेत्रमा २.५० मिटर, बस बिसौनीमा तीन मिटर, बजार क्षेत्रमा ३.५ देखि ४.५ मिटर, उच्च चाप भएको व्यावसायिक क्षेत्रमा ४ मिटर चौडाइको पैदलमार्ग आवश्यक हुन्छ । पैदलमार्ग निर्माण भएपछि यो मापदण्ड पूरा हुनेछ । महानगरले सहरी सडकको मापदण्डबमोजिम नै पैदलमार्ग विस्तार गरिरहेको हो ।