
जेन–जी आन्दोलनका क्रममा चोरी तथा लुटपाट भएका सामान जिल्ला प्रहरी कार्यालय मकवानपुरले फिर्ता गरेको छ । आन्दोलनको बेला विभिन्न सरकारी कार्यालय तथा मन्त्रालयबाट हराएका सामान प्रहरीले नियन्त्रणमा लिएर मंगलबार सम्बन्धित कार्यालयका प्रतिनिधिलाई बुझाएको हो ।
प्रहरीका अनुसार २४ भदौमा भएको आन्दोलनका क्रममा चोरी भएका सामान अनुसन्धान तथा खोजतलासका क्रममा जिल्ला प्रहरी कार्यालय मकवानपुर र मातहतका प्रहरी टोलीले बरामद गरेका थिए ।
मकवानपुर प्रहरीका अनुसार फिर्ता गरिएका सामानमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडाको चार थान कम्प्युटर, तीन थान दराज, तीन थान प्रिन्टर, एक थान हार्ड डिस्क, एक थान फोटोकपी मेसिन, एक थान इन्भर्टर, ६ थान कुर्सी, दुई थान स्पिकर सेट, ३१ थान कचौरा र प्लेट सेट, एक थान पंखा, चार थान ब्याट्री र एक थान फ्रिज रहेका छन् ।
यस्तै, बागमती प्रदेश सामाजिक विकास मन्त्रालय, हेटौंडाको तीन थान कम्प्युटर सेट, एक थान ल्यापटप, नौ थान टुल (कुर्सी) र एक थान इन्डक्सन चुलो फिर्ता गरिएको छ ।
बागमती प्रदेश स्वास्थ्य मन्त्रालय, हेटौंडाका पाँच थान कम्प्युटर सेट, एक थान प्रिन्टर, तीन थान कुर्सी, एक थान र्याक र एक थान इलेक्ट्रिक जग समेत बुझाएको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालले जानकारी दिए । प्रहरीले आन्दोलनमा संलग्न व्यक्तिहरूमाथि कानूनी अनुसन्धान जारी राखेको र फिर्ता नभएका बाँकी सामान पनि खोजतलास गरिरहेको उनको भनाइ छ ।