१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ श्रावण २ बुधबार
  • Friday, 18 October, 2024
मोहन विष्ट कञ्चनपुर
२o८१ श्रावण २ बुधबार १४:o३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

भुक्तानी नपाएका निर्माण व्यवसायी दोस्रो दिन पनि धर्नामा, तटबन्ध कार्यालयमा तालाबन्दी

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o८१ श्रावण २ बुधबार १४:o३:oo

कञ्चनपुरका निर्माण व्यवसायीले आन्दोलनको दोस्रो दिन अर्को सरकारी कार्यालयमा तालाबन्दी गरेका छन्। निर्माण व्यवसायीले बुधबार जनताको तटबन्ध कार्यालय महेन्द्रनगरमा तालाबन्दी गरेका हुन्।

काम गरेको भुक्तानी नगरेका जिल्लाका सरकारी कार्यालयहरूमा निर्माण व्यवसायी संघ कञ्चनपुरको अगुवाइमा पहिलो दिन महाकाली सिँचाइ तेस्रो चरणको कार्यालयमा ताला लगाएका निर्माण व्यवसायीहरूले दोस्रो दिन जनताको तटबन्ध कार्यालयमा तालाबन्दी गरेका हुन्।

निर्माण व्यवसायीहरूले कामको भुक्तानी नदिएको भन्दै विरोधस्वरूप बुधबार तालाबन्दी गरेका हुन्। निर्माण व्यवसायी संघ कञ्चनपुरका अध्यक्ष निरञ्जनप्रसाद भट्टले गत आर्थिक वर्ष ०८०/८१ मा गरेको कामको भुक्तानी नगरेपछि बाध्य भएर तालाबन्दी गरेको बताए। ‘हामीले पटकपटक कामको भुक्तानी मागे पनि कार्यालयले भोलि भन्दाभन्दै टार्दै आयो । आर्थिक वर्ष सकियो, तैपनि भुक्तानी पाइएन,’ उनले भने, ‘व्यवसायीले घर जायजेथा बैंकका राखेर सरकारको काम गर्छन्, तर सरकारी कार्यालयले भुक्तानी दिँदैन।’

अध्यक्ष भट्टले जनताको तटबन्ध कार्यालयको चरम लापरबाहीले भुक्तानी नपाएपछि निर्माण व्यवसायी आत्महत्या गर्ने सँघारमा पुगेको बताए। काम गराएर भुक्तानी नदिने जिल्लाका अन्य कार्यालयमा पनि तालाबन्दी गरिने उनको चेतावनी छ। संघका उपाध्यक्ष देवबहादुर चन्दले काम गरेर पनि भुक्तानी नपाउने विडम्बना भएको बताए। समयमै भुक्तानी नगरेपछि दबाब र विरोधस्वरूप सरकारी कार्यालयमा तालाबन्दी गरेको उनको भनाइ छ।

जनताको तटबन्ध कार्यालय महेन्द्रनगरले शंकरजोशी जेभीको तीन करोड र रतला उग्रतारा जेभीको एक करोड भुक्तानी गर्न बाँकी छ। कार्यालयका प्रमुख श्रीप्रसाद शाहले माथिबाट बजेट नदिँदा भुक्तानी गर्न नसकिएको बताए। चालू आर्थिक वर्षमा ६ करोड ९० लाख मात्रै बजेट आएको बताउँदै उनले गत वर्षकै भुक्तानी दिन ठिक्क हुने गुनासो गरे।