
नेपालमा वर्षा मापन हुन थालेयता ७७ वर्षमा सबैभन्दा धेरै वर्षा आइतबार कञ्चनपुरको दोधारामा रेकर्ड भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दोधारा नगरपालिकामा रहेको स्वचालित वर्षा मापन केन्द्रमा आइतबार बिहानदेखि सोमबार बिहानसम्म ६२४ (६२३.९९) मिलिमिटर वर्षा रेकर्ड भएको हो ।
२४ फेब्रुअरी २०२४ मा मात्र स्टेसन स्थापना भएकाले यहाँका धेरै रेकर्ड उपलब्ध छैन । नजिकै रहेको हनमाननगर स्टेसन (मानव सञ्चालित)मा सोही अवधिमा ५७३.६ मिमि वर्षा रेकर्ड भएको छ । यो स्टेसनमा यसअघि १ जुलाई २०२० मा ५६१.४ मिमि वर्षा रेकर्ड भएको थियो । आइतबार कञ्चनपुरकै सुन्दरपुरमा ५५६ मिमि वर्षा भएको छ ।
नेपालमा यसअघि १९–२० जुलाई १९९३ मा मकवानपुरको टिस्टुङमा ५४० मिलिमिटर वर्षा रेकर्ड भएको थियो । त्यहाँ त्यतिखेर जल तथा मौसम विज्ञान विभागको स्टेसन नभए पनि जलविद्युत् आयोजनाको स्टेसनको रेकर्डका आधारमा अध्ययन गरेर क्लाउड ब्रस्ट (बादल फाटेर वर्षा हुने) भएको निष्कर्ष निकालिएको थियो । बागमतीसहितका नदीमा बाढी र अन्यत्र पहिरोका कारण सयौँको ज्यान गएपछि विभागले आठ सदस्यीय टोली बनाएर अध्ययन नै गरेको थियो । यद्यपि, विभागको स्टेसनका आधारमा भने मकवानपुरको हेटौँडामा १३ अगस्ट २०१७ मा ५१६.२ मिमि वर्षा रेकर्ड भएको थियो ।
‘मनसुनी न्यूनचापीय रेखा र पश्चिमी वायुको संगम हुँदा क्लाउड ब्रस्ट हुन्छ । तर, कञ्चनपुरको यो वर्षा हुँदाको पश्चिमी वायुको फोरकास्ट र सन् १९९३ को टिस्टुङको पश्चिमी वायु फरक देखिन्छ । त्यतिवेला माथिल्लो वायुमण्डलमा न्यूनचापीय प्रणाली निकै शक्तिशाली थियो, त्यो केस सरल थिएन,’ क्लाउड ब्रस्टमा पिएचडी गरेकी जल तथा मौसम विज्ञान विभागकी उपमहानिर्देशक डा. अर्चना श्रेष्ठले भनिन्, ‘तर, कञ्चनपुर क्षेत्रको वर्षा निकै ठूलो हो । यत्तिकै वर्षा चुरे वा पहाडी क्षेत्रमा भएको भए ठूलो विनाश निम्तिन सक्थ्यो, तराईमा भएकाले बाढी र डुबान मात्र भएको छ ।’ कञ्चनपुरमा किन निकै ठूलो पानी परेको हो, यसबारे विभागले अध्ययन गर्ने उनले बताइन् ।
क्लाउड ब्रस्टको आशंका
कञ्चनपुर क्षेत्रमा निकै ठूलो वर्षा हुनुअघि आइतबार साँझ नेपाल–भारत सीमा क्षेत्र (उत्तरप्रदेश र कञ्चनपुर)मा शक्तिशाली न्यूनचापीय क्षेत्र विकास भएको थियो । ‘मनसुनी रेखा पनि सीमा क्षेत्रमा थियो, न्यूनचापीय प्रणाली (हावाको चाप कम) हुँदा जलवाष्पयुक्त बादल सोहोरेर ल्यायो,’ मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले भने, ‘माथिल्लो वायुमण्डलमा पश्चिमी वायुले धकेल्दा न्यून जलवाष्पयुक्त बादल पश्चिमतिर जान पाएन । लामो समय बादल एउटै ठाउँमा हुँदा वर्षा भयो ।’
नेपालले क्लाउड ब्रस्टको मापदण्ड तय नगरे पनि अन्तर्राष्ट्रिय मापदण्डको एउटा सूचक भने एक घण्टामा एक सय मिलिमिटर वर्षा हुनु हो । १९९३ मा मकवानपुरमा घनघोर वर्षा हुँदा एक घण्टामा एक सय मिलिमिटर कटेको थियो । कञ्चनपुरमा भएको वर्षाले समग्रमा रेकर्ड तोडे पनि एक घण्टामा सय मिमि भने कटेको छैन । दोधारा स्टेसनमा आइतबार राति ८:४५ देखि ९:४५ सम्म ७०.४ मिमि वर्षा रेकर्ड भएको छ । त्योभन्दा अघि प्रतिघण्टा ३४ मिमि पानी मात्र थियो । राति १२ देखि १:४५ सम्म फेरि ५५ मिमि वर्षा रेकर्ड भएको छ । त्यसपछि केही थामिएको वर्षा सोमबार बिहान फेरि दर्किएको देखिन्छ ।
समग्रमा दोधाराभन्दा कम वर्षा भएको हनमाननगरमा भने प्रतिघण्टा वर्षा धेरै छ । यहाँ मानव सञ्चालित र स्वचालित दुईवटा स्टेसन छन् । यहाँ आइतबार राति एक घण्टा (९:४५ देखि १०:४५ ) मा ८९.४ मिमि वर्षा रेकर्ड भएको छ । त्यसपछि फेरि ११ बजेसम्म ७४ मिमि पानी परेको छ । ‘पाँच घण्टामा २८० मिमि वर्षा रेकर्ड भएको छ, यो अत्यधिक वर्षा हो । यही वर्षा काठमाडौंमा भएको भए ठूलो बाढी आउन सक्थ्यो,’ जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् डा. इन्दिरा कँडेलले भनिन्, ‘वर्षा मात्र नभई त्यहाँ कस्तो प्रकारको बादल विकसित भएको थियो । क्लाउड ब्रस्ट, आरीघोप्टे वर्षा हो–होइन भनेर अध्ययन गर्नुपर्ने हुन्छ ।’
मौसमविद्हरूका अनुसार मनसुनी झरीमा बादल सामान्य खालको हुन्छ । तर, ‘क्लाउड ब्रस्टका लागि चट्याङसहितको कालोबादल विकसित हुन्छ भने आकाश गड्याङगुडुङ हुन्छ, लो प्रेसर सिस्टम क्रेड भएका वेला अधिक वर्षा भई साइडइफेक्टका रूपमा क्लाउड ब्रस्ट हुन्छ । मनसुनयुक्त हावा अरेबियन महासागर, बंगालको खाडीमा पनि मिलेर जम्भु–कस्मिर हुँदै आउँछ । नेपालमा १७९ वटा वर्षा मापन केन्द्र मानव सञ्चालित छन् भने १२२ वटा स्वचालित ।
यत्तिकै वर्षा चुरे वा पहाडी क्षेत्रमा भएको भए ठूलो विनाश निम्तिन सक्थ्यो
डा. अर्चना श्रेष्ठ उपमहानिर्देशक, जल तथा मौसम विज्ञान विभाग
पश्चिममा धेरै वर्षा हुन्छ भनेर प्रक्षेपण नै गरेका थियौँ । आइतबार कञ्चनपुर क्षेत्रमा निकै ठूलो पानी परेको छ । दोधारामा रेकर्ड भएको ६२४ मिलिमिटर वर्षा अहिलेसम्मकै धेरै हो । तर, त्यहाँ स्वचालित मापन केन्द्र रहेकाले थप भेरिफाई गर्छौँ । सन् १९९३ मा मकवानपुरको वर्षाको अध्ययन गर्दा हामीसँग त्यहाँ मापन केन्द्र थिएन । तर, यसपटक सुविधा छ । सेटलाइटका तथ्यांक विश्लेषण गर्नेछौँ । तापक्रम र वर्षाको तथ्यांक हामीसँग सीमित छ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा स्टेसन निकै कम छन्, अन्यत्र पनि सीमित छन् । स्टेसन थप्ने योजनामा छौँ ।
कञ्चनपुर क्षेत्रको वर्षा निकै ठूलो हो । यत्तिकै वर्षा चुरे वा पहाडी क्षेत्रमा भएको भए ठूलो विनाश निम्तिन सक्थ्यो, तराईमा भएकाले बाढी र डुबान मात्र भएको छ । कञ्चनपुरमा किन निकै ठूलो पानी परेको हो । यसबारे विभागले अध्ययन गर्ने छ।