१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार २० बिहीबार
  • Saturday, 06 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ असार २० बिहीबार ११:३४:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

साहसिक पदयात्रीको रोजाइका पाँच गन्तव्य

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असार २० बिहीबार ११:३४:oo

मनसुनमा वर्षा र बाढीपहिरोको जोखिम हुने भएकाले आममानिसको रुचि पदयात्रामा कम हुन्छ । तर, साहसिक पदयात्रीहरूलाई मौसमले खासै फरक पार्दैन । किनकि हरियाली हेर्दै यात्रा गर्नुको मज्जा बेग्लै हुन्छ । विभिन्न रङका फूलहरूले यस सिजन हिमाली भेगलाई रंगिन बनाएको हुन्छ । राति पानी परेर बिहान आकाश खुल्दा हिमालको दृश्य जति मनमोहक देखिन्छ, त्यति राम्रो दृश्य अन्य सिजनमा देखिँदैन । 

रुबी भ्याली
काठमाडौंबाट पुगेर फर्कन कम्तीमा एक साता समय लाग्छ । धादिङबेँसी हुँदै यहाँ जान सकिन्छ । त्यस्तै, काठमाडौंबाट स्याफ्रुबेँसीसम्म गाडी र त्यहाँबाट घाप्लाङ, सोमदाङ हुँदै पनि जान सकिन्छ । रुबी भ्याली गणेश हिमालको काखैमा छ । यात्राका क्रममा हिमाल, हरियाली र स्थानीय संस्कृतिको मज्जा लिन सकिन्छ । 

गोसाइँकुण्ड
धुन्चेसम्म गाडीमा जाने र त्यहाँबाट पैदल यात्रा थाल्न सकिन्छ । वा सुन्दरीजलबाट चिसापानी हुँदै सीधै गोसाइँकुण्ड पदयात्रा थाल्न पनि सकिन्छ । यसका लागि पनि कम्तीमा एक साताको समय छुट्याउनुपर्छ । 

दुधपोखरी
दुधपोखरी सोलुखुम्बुमा पर्छ । यहाँ पुगेर फर्कन कम्तीमा एक साता समय छुट्याउनुपर्छ । यसका लागि सल्लेरीसम्म गाडीमा जान सकिन्छ । त्यसपछि पैदल यात्रा थाल्न सकिन्छ । बाटोमा थुप्तेनछोलिङ गुम्बा छ । याक खर्कहरू हेर्र्द दुधकुण्ड पुग्न सकिन्छ । फर्कँदा ताकसिन्धु, सल्लेरी हुँदै फर्कन सकिन्छ । दुधकुण्डमा ताल, हिमाल र हरियालीको सम्मिश्रण छ । यस अवधिमा यहाँ विभिन्न प्रकारका फूलहरू फुलेका हुन्छन् । 

लुम्बासुम्बा ट्रेक
लुम्बासुम्बा साहसिक पदयात्राको गन्तव्यमा पर्छ । ५,१५२ मिटरको यो पदमार्ग ताप्लेजुङबाट सुरु भएर संखुवासभामा सकिन्छ । यात्राका दौरान लिम्बू, तामाङ, राई समुदायको संस्कृति देख्न सकिन्छ । कञ्चनजंघा, मकालुलगायत हिमालको दृश्य अवलोकन गर्न सकिन्छ । काठमाडौंदेखि ताप्लेजुङसम्म बसमार्फत पुग्न सकिन्छ । काठमाडौं–भद्रपुर र भद्रपुर–सुकेटार हवाईमार्गबाट पनि जान सकिन्छ । ताप्लेजुङबाट लेलेपसम्म जिपयात्रा गरेपछि लेलेपबाट पदयात्रा गर्न सकिन्छ । लेलेप, इलाडाँडा, ओलाङचुङगोला, साम्जुङ, लुम्बासुम्बा पास, थुदाम, चेपुवा, चाम्ताङ, हुङगुङ, हटियासम्मको यात्रा गरेर लगभग दुई हप्तामा फर्कन सकिन्छ । 

गन्जलापास ट्रेकिङ
सिन्धुपाल्चोक र रसुवा जिल्लामा पर्ने ‘गन्जलापास ट्रेक’ छोटो समय पदयात्रा गर्न सकिने पदमार्ग हो । यो क्षेत्र आमा याङ्ग्री, जुगल, लाङटाङलगायत हिमालको दृश्य हेर्नका लागि प्रसिद्ध छ । यहाँको सांस्कृतिक विविधता र प्राकृतिक सौन्दर्यले जोकोहीलाई लोभ्याउँछ । यो पदमार्गको आकर्षण ह्योल्मो तथा तामाङ संस्कृति, पुरातात्विक महत्वका गुम्बा, धार्मिक स्थललगायत स्थानीय रहनसहन पनि हो । यहाँ हरियाली जंगल, विभिन्न प्रजातिका चराचुरुंगी, ग्रामीण क्षेत्रको अनुभव लिन सकिन्छ । काठमाडौैंदेखि सेर्माथाङ तार्केघ्याङ बसयात्रा गर्न सकिन्छ । यो पदयात्रा लगभग १० दिनमा सकिन्छ ।

ad
ad
ad
ad