१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार २० बिहीबार
  • Saturday, 06 July, 2024
२o८१ असार २० बिहीबार १o:o६:oo
Read Time : > 3 मिनेट
ad
ad
ad
ad
खेलकुद प्रिन्ट संस्करण

युरो कपका आठ क्वार्टरफाइनलिस्ट

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२o८१ असार २० बिहीबार १o:o६:oo

क्वार्टरफाइनलको पोल १ मा रहेका चारै टोली पूर्वविजेता हुन् । यस पोलमा जर्मनी, स्पेन, फ्रान्स र पोर्चुगल छन् । चारमध्ये एक टोली फाइनल पुग्नेछ । 

युरोपियन फुटबल च्याम्पियनसिप (युरो) २०२४ को क्वार्टरफाइनल खेल भोलि (शुक्रबार)देखि सुरु हुँदै छ । टर्कीले मंगलबार राति भएको खेलमा अस्ट्रियालाई २–१ ले हराएपछि चालू युरोको क्वार्टरफाइनल पुग्ने आठ टोली निश्चित भएको हो । यसपटकको अन्तिम आठको भिडन्त रोमाञ्चक तथा प्रतिस्पर्धात्मक हुने पक्का छ । क्वार्टरफाइनल पुगेका आठमध्ये पाँच टोली पूर्वविजेता हुन् । इंग्ल्यान्ड साबिक उपविजेता हो । पहिलो क्वार्टरफाइनल हेभिवेट राष्ट्र आयोजक जर्मनी र स्पेनबीच हुनेछ । 

क्वार्टरफाइनलको पोल १ रहेका चारै टोली पूर्वविजेता हुन् । यस पोलमा जर्मनी, स्पेन, फ्रान्स र पोर्चुगल छन् । यी चारमध्ये एक टोली फाइनल पुग्नेछ । जो टोली अन्तिम दुईमा पुग्छ, आफ्नो नाममा इतिहास बनाउनेछ । यसकारण पोल १ को क्वार्टरफाइनल र सेमिफाइनल भिडन्त फाइनलभन्दा कम हुनेछैन । पोल २ मा इंग्ल्यान्ड, नेदरल्यान्ड, टर्की र स्विट्जरल्यान्ड रहेका छन् । नेदरल्यान्ड्स मात्र उपाधि विजेता टोली हो । अन्य तीन टोलीले उपाधि उचालेका छैनन् । टर्कीको युरो च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन नै सन् २००८ को संस्करणमा सेमिफाइनलसम्म पुग्नु थियो । 

सन् १९६० बाट सुरु भएको युरो च्याम्पियनसिपमा क्रमशः सहभागी टोली बढिरहेको छ । सुरुका लगातार पाँच संस्करणमा चार टोलीको सहभागिता थिउयो । त्यसपछिका चार संस्करणमा आठ राष्ट्रबीच प्रतिस्पर्धा भयो । सन् १९९६ देखि २०१२ सम्म १६ राष्ट्रले युरोमा भाग लिएका थिए । सन् २०१६ देखि सहभागी संख्या बढ्यो । लगातार तीन संस्करणमा २४ राष्ट्रबीच युरो भइरहेको छ । 

स्पेन–जर्मनी (५ जुलाई, राति ९:४५)
युरो इतिहासमा जर्मनी र स्पेनले समान सर्वाधिक तीनपटक ट्रफी उचालेका छन् । दुवै टोलीले समूहदेखि प्रिक्वार्टरफाइनलसम्म उत्कृष्ट प्रदर्शन गरेका थिए । डिफेन्सदेखि फिनिसिङसम्म जर्मनी र स्पेनका खेलाडी सशक्त छन् । स्पेनले नवप्रवेशी राष्ट्र जर्जियामाथि ४–१ को सानदार जित निकालेको थियो । डेब्यु युरोमै जर्जियाले सन् २०१६ को विजेता पोर्चुगलमाथि २–० को सानदार जित हात पारेको थियो । घरेलु मैदानमा जर्मनी यसपटक बलियो देखिएको छ । प्रिक्वार्टरफाइनल प्रवेश खेलमा पूर्वविजेता डेनमार्कमाथि जर्मनीले सहज जित निकालेको थियो । जर्मनी वा स्पेनमध्ये एक टोली बाहिरिनेछ । एक टोलीको सर्वाधिक चारपटक उपाधि जित्ने सपना अधुरो हुनेछ । 

युरो इतिहासमा जर्मनी सर्वाधिक सफल टोली हो । जर्मनीले सन् १९७२ मा पहिलोपटक ट्रफी चुमेको थियो । सन् १९८० मा दोस्रोपटक र सन् १९९६ मा तेस्रोपटक उपाधि जितेको जर्मनी त्यसपछि च्याम्पियन बनेको छैन । जर्मनीले सन् १९७६, १९९२ र २००८ को फाइनल खेलेको थियो । जर्मनीले अन्तिमपटक सन् २००८ मा फाइनल खेल्दा स्पेनसँग पराजित भएको थियो । जर्मनीकै उचाइ प्राप्त गरेको टोली स्पेन हो । युरो इतिहासमा उपाधि रक्षा गर्ने एक मात्र राष्ट्र स्पेन हो । स्पेनले सन् २००८ र ०१२ मा लगातार उपाधि जितेको थियो । स्पेनले पहिलोपटक सन् १९६४ मा उपाधि हात पारेको थियो । स्पेन एकपटक सन् १९८४ मा उपविजेता बनेको थियो । 

फ्रान्स–पोर्चुगल (५ जुलाई, मध्यराति १२:४५ बजे) 
चालू युरोको अर्को धमाका खेल फ्रान्स र पोर्चुगलबीचको क्वार्टरफाइनल हो । यी दुवै टोलीले अन्तिम आठमा पुग्न संघर्ष गरेका थिए । सन् २०१६ मा एकल प्रयासमा पोर्चुगललाई च्याम्पियन बनाएका क्रिस्टियानो रोनाल्डोले अन्तिमपटक युरो खेलिरहेका छन् । कीर्तिमानी रूपमा छैटौँपटक युरो खेलिरहेका रोनाल्डो उपाधिका साथ बिदाइ हुन चाहन्छन् । संयोग कस्तो छ भने सन् २०१६ को फाइनलमा पोर्चुगलले फ्रान्सको घरेलु मैदानमा बाजी मारेको थियो । 

रोनाल्डोले पहिलोपटक पोर्चुगलको फुटबल इतिहासमा मेजर फुटबल प्रतियोगिताको ट्रफी दिलाएका थिए । पोर्चुगलले प्रिक्वार्टरफाइनलमा स्लोभेनियालाई पाखा लगाउन टाइब्रेकरको सहायता लिएको थियो । टाइब्रेकरमा गोलरक्षक कोस्टाको उत्कृष्ट प्रदर्शनमा पोर्चुगल क्वार्टरफाइनलमा पुगेको हो । चालू युरोमा पोर्चुगलको प्रदर्शन त्यति सन्तोषजनक छैन । डिफेन्स र मिडफिल्ड बलियो भए पनि पोर्चुगलको फिनिसिङ कमजोर छ । 

कप्तान रोनाल्डोले सर्वाधिक २० सट प्रहार गर्दा पनि गोल गर्न सकेका छैनन् । उनी लगातार आठ अन्तर्राष्ट्रिय फुटबल खेलमा गोलविहीन छन् । पोर्चुगल उनीमाथि केन्द्रित छ । अर्कोतिर फ्रान्सका युवा कप्तान केलियन एम्बाप्पे तेस्रोपटक उपाधि उचाल्ने दाउमा छन् । कतार विश्वकपमा एम्बाप्पेले जुन किसिमको जादुमयी खेल प्रदर्शन गरेका थिए । त्यो चालू युरोमा देखिएको छैन । उनी गोलका लागि संघर्षरत छन् । फ्रान्सले क्वार्टरफाइनल स्थान पक्का गर्न बेल्जियममाथि १–० को कठिन जित निकालेको थियो । फ्रान्सले बेल्जियमलाई हराउन आत्मघाती गोलको सहायता पायो । सन् २००० पछि फ्रान्सले युरो ट्रफी उचालेको छैन । फ्रान्सले पहिलोपटक सन् १९९४ मा पहिलोपटक उपाधि जितेको थियो । फ्रान्स एकपटकको उपविजेता हो । यस खेलबाट कम्तीमा एक पूर्वविजेता बाहिरिने निश्चित छ । 

इंग्ल्यान्ड–स्विट्जरल्यान्ड (६ जुलाई, राति ९:४५)
इंग्ल्यान्ड सधैँ उपाधि दाबेदार टोली हो । युरोमा इंग्ल्यान्डले अहिलेसम्म दाबेदारीअनुसार प्रदर्शन गरेको इतिहास छैन । युरो इतिहासमा इंग्ल्यान्डले एकपटक मात्र फाइनल खेल्यो । गत संस्करणको फाइनलमा इंग्ल्यान्ड टाइब्रेकरमा इटालीबाट पराजित भयो । इंग्ल्यान्डको टोली चार वर्षअघिको जस्तो स्तरीय छैन । प्रिक्वार्टरफाइनल चरण पार गर्न इंग्ल्यान्डले पनि धेरै मिहिनेत गरेको थियो । अन्तिम १६ को प्रतिस्पर्धामा इंग्ल्यान्डले स्लोभाकियालाई २–१ ले हराएको थियो । त्यो पनि अतिरिक्त समयमा इंग्ल्यान्डले जित हात पार्‍यो । 

स्लोभाकियाले खेलको अन्तिम इन्जुरी समय सकिन दुई मिनेटअघि सम्म १–० को अग्रता लिएको थियो । लगभग प्रतियोगिताबाट बाहिरिने तयारीमा रहेको इंग्ल्यान्डलाई जुड बेलिंघमले बराबरी गोल फर्काए । त्यसपछि अतिरिक्त समयमा कप्तान ह्यारी केनले गोल गर्दा इंग्ल्यान्ड क्वार्टरफाइनलमा पुग्यो । इंग्ल्यान्डको प्रतिद्वन्द्वी स्विट्जरल्यान्ड भने उत्कृष्ट फर्ममा छ । स्विट्जरल्यान्डले साबिक विजेता इटालीमाथि प्रिक्वार्टरफाइनलमा २–० नतिजा निकालेको थियो । स्विट्जरल्यान्डले समूह चरणमा हंगेरीलाई ३–१ ले हराएको थियो । स्विट्जरल्यान्डको काउन्टर एट्याक्ट जबर्जस्त छ । जर्मनीको समूहमै स्विट्जरल्यान्ड उपविजेता बन्दै अन्तिम १६ मा पुगेको थियो । 

नेदरल्यान्ड्स–टर्की (६ जुलाई, मध्यराति १२:४५ बजे)
चालू युरोको अन्तिम क्वार्टरफाइनल नेदरल्यान्ड्स र टर्कीबीच हुनेछ । इतिहासमा टर्कीको तुलनामा नेदरल्यान्ड्स बलियो छ । सन् १९८८ मा च्याम्पियन बनेको नेदरल्यान्ड्स त्यसयता फाइनल पुग्न सकेको छैन । नेदरल्यान्ड्स अन्तर्राष्ट्रिय फुटबलमा सधैँ संगठित र आकर्षक खेल पस्कने टोली हो । नेदरल्यान्ड्स आफ्नो समूहमा उत्कृष्ट तेस्रो स्थानमा रहँदै प्रिक्वार्टरफाइनलमा पुगेको हो । अन्तिम १६ मा नेदरल्यान्ड्सले रोमानियाविरुद्ध ३–० उत्कृष्ट खेल प्रदर्शन गरेको थियो । नेदरल्यान्ड्सको प्रतिद्वन्द्वी टर्कीले युरोमा एकपटक मात्र सेमिफाइनल खेलेको छ । सन् २००८ को संस्करणमा अन्तिम चारमा यात्रा गर्नु नै टर्कीको अहिलेसम्मको उत्कृष्ट प्रदर्शन हो । टर्कीले प्रिक्वार्टरफाइनलमा १६ वर्षपछि नकआउट चरणमा पुगेको अस्ट्रियालाई २–१ ले हराएको थियो ।

–एजेन्सीको सहयोगमा

ad
ad
ad
ad