१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १८ मंगलबार
  • Thursday, 04 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ असार १८ मंगलबार ११:५१:oo
Read Time : > 2 मिनेट
ad
ad
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

अभिभावकले बच्चाको आत्मसम्मानलाई ख्याल गरौँ 

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असार १८ मंगलबार ११:५१:oo

हामीले आफ्ना बच्चालाई विश्वासमा लिनुपर्छ । माया देखाउनुपर्छ र सही मार्गमा हिँडाउनुपर्छ । अभिभावकहरूले पहिला त मेरो बच्चा भनेको ‘पर्सन अफ द वन’ हो, उसको आफ्नै व्यक्तित्व र स्वभाव छ भन्ने बुझ्नुपर्छ । 

कुनै बच्चा बसको सिटमा बसेको छ र त्यहाँ अर्को मानिस आयो भने बच्चालाई काखमा राखिदिनुस् भनेर अभिभावकलाई आग्रह गर्छन् । यो त बच्चालाई गणना नै नगर्ने काम भयो । बच्चाले मेरो त भ्यालु नै रहेनछ भनेर बुझ्न सक्छ र उनीहरूको आत्मसम्मानमा आघात पुग्छ । बालबालिकाको आफ्नै मान्यता, भावना, स्वभाव र थट प्रोसेस हुन्छ । त्यसलाई सम्मान गर्नुपर्छ । 

सानो बच्चाले रमाइलोसँग केही कुरा खेलिरहेको हुन्छ । अभिभावकहरू आएर झ्याप्प उठाएर लान्छन् । तर, त्यो खेलौनासँग बच्चाको भावनात्मक सम्बन्ध हुन्छ भन्ने ख्याल गर्दैनन् । कतिपय अवस्थामा यसरी उठाएर लगेपछि बच्चाहरू रुन थाल्छन् । अभिभावक र केयर गिभर्सले बच्चाको इमोसन र साइकोलोजी बुझेर व्यवहार नगर्दा यस्ता समस्या देखिन्छन् । यसतर्फ सजग हुनुपर्छ । पहिले बच्चाले के गरिरहेको छ भन्ने ख्याल गर्नुपर्छ । त्यसपछि उसलाई अन्यत्र लैजाने हो भने पनि फकाएर, विश्वास जितेर लैजानुपर्छ । 

बच्चाको मनोविज्ञानलाई ख्याल गरिएन भने उनीहरू अभिभावकसँग टाढिन थाल्छन् र टिनएजमा पुगेपछि विभिन्न समस्या देखिन सक्छन् । अभिभावकहरू बच्चालाई धेरै अनुशासनमा राख्न खोज्छन् । कतिपयका हकमा बुबाको अगाडि बच्चा बोल्नै अप्ठ्यारो मान्ने अवस्था छ । बुबा निस्किएको एक घण्टापछि मात्रै बच्चाले बोल्न र खेल्न थाल्छ । यस्तो त्रास सिर्जना गर्नाले बच्चामा आत्मविश्वासको कमी हुन्छ र उनीहरू समस्या लुकाउन थाल्छन् । आफ्नै अभिभावकसँग टाढिन खोज्छन् । 

कतिपय अभिभावकले बच्चाहरू आफ्नै हो, एक थप्पड लगाउँदा के हुन्छ भनेर सोच्छन् । एक थप्पडले पनि बच्चा संवेदनशील भइदिन्छ । उनीहरूको स्वाभिमानमा चोट पुग्छ । त्यहीकारण अभिभावकले राम्ररी बच्चालाई गाइडेन्स गर्नुपर्छ । उनीहरूसँग खुलेर संवाद गरिदिनुपर्छ । तर्साउने होइन, उनीहरूलाई विश्वासमा लिएर सही मार्गमा लगाउनुपर्छ । 

अभिभावकसँगै यस विषयमा शिक्षकहरू पनि उत्तिकै संवेदनशील हुन जरुरी छ । शिक्षकले बच्चालाई तर्साउने होइन, खुलेर आफ्ना कुरा भन्न सक्ने वातावरण तय गर्न सक्नुपर्छ । 

विदेशतिर अस्पतालले सन्तान लाभ गरेका दम्पतीलाई बच्चा कसरी हुर्काउने भन्ने विषयमा पनि परामर्श दिएको हुन्छ । हाम्रोमा त्यसको कमी छ । 

टिनएजर्स 
अभिभावकहरूले छिमेकीका छोराछोरीसँग आफ्ना बच्चाको तुलना गर्छन् । यसले टिनएजर्सको मनोविज्ञानमा प्रभाव पार्छ । साथी अघि बढ्यो, आफू पछाडि नै छु भन्ने पर्न सक्छ । त्यसैले उनीहरूलाई राम्रो नम्बर ल्याउन दबाब दिने, कसैसँग तुलना गर्ने गर्नुहुँदैन । 

समाजमा अन्तक्र्रियाको पनि कमी भइरहेको छ । त्यसैले संवादको वातावरण बढाउनुपर्छ । आफ्ना कुरा लाद्ने नभएर बच्चाका भावना बुझ्नुपर्छ । उनीहरूलाई के गर्दा आनन्द आउँछ, त्यही काम गर्न दिनुपर्छ । कसैलाई संगीत सुन्दा आनन्द आउला, कसैलाई बगैँचामा समय बिताउँदा, कसैलाई दौडँदा, कसैलाई खेल खेल्दा मुडफ्रेस होला । राम्रो काम गर्न दिनुपर्छ । यसले उनीहरूमा आत्मविश्वास र हौसला बढाउँछ । 

मोबाइल र सामाजिक सञ्जालको अत्यधिक प्रयोगले पनि कतिपय किशोर–किशोरीलाई समस्यामा पारिरहेको छ । बाल्यकालमा भोगेका खराब अनुभवले बच्चालाई भविष्यमा ट्रिगर गरिदिन्छ । कतिपय बच्चाहरू अभिभावकसँग टाढिन रुचाउँछन् । एक्लोपन, डिप्रेसन, एन्जाइटीलगायत समस्या देखिन सक्छ । अभिभावकले सही मार्गनिर्देशन गर्न नसक्दा टिनएजमा पुगेपछि बच्चाहरू फ्रस्टेड पनि हुन सक्छन् । कतिपय कुलतमा लाग्छन् । त्यहीकारण सानैदेखि उनीहरूलाई राम्रो र मैत्रीपूर्ण वातावरण दिनुपर्छ । उनीहरूको आत्मसम्मानलाई अभिभावकले सधैँ प्राथमिकतामा राख्नुपर्छ । 

सामाजिक सञ्जालले निम्त्याएका समस्या 
पहिले गाउँघरका मानिस हिलो–माटोमा खेलेर हुर्कन्थे । उनीहरूको प्रतिरोधी क्षमता र अहिलेको पुस्ताको प्रतिरोधी क्षमतामा फरक छ । आधारभूत र आफूलाई आवश्यक पर्ने विषय जाने पुग्छ भन्ने त्यतिवेलाको मान्यता थियो । 

अहिले टिनएजरले धेरै सूचना र जानकारी बोकेर हिँडेको हुन्छ । कतिपय कुरामा ठीकै पनि होला । तर, सबै सूचना र जानकारी उसलाई आवश्यक पर्छ भन्ने हुँदैन । 

कतिपयले गुगल गरेर धेरै कुरा जान्ने कोसिस गर्छन् । टाउको दुख्यो भने पनि गुगल हेर्छन् । तनाव भयो भने पनि गुगल हेर्छन् । त्यहाँ जे लेखिएको हुन्छ, आफूलाई त्यही नै भएजस्तो ठान्छन् । समाधान पनि डिजिटल डिभाइसमै खोज्ने कोसिस गर्छन् । जसले समस्याको सही कारण पहिचान हुनमा ढिलाइ हुन्छ । अर्कोतर्फ, सामाजिक सञ्जालमा अन्यको जीवन हेरेर आफू खल्लो मानिरहेका हुन्छन् । 

सूचना सीमित हुनुपर्छ भन्ने होइन । तर, अनावश्यक विषयमा धेरै चासो राख्दा पनि मानसिक दबाब बढ्छ । 

यसले पर्सनालिटीमा प्रभाव पार्छ । १६ वर्षको बच्चा १६ वर्षकै जस्तो हुनुपर्छ । उनले आफ्नो बाल्यकाल बाँच्न पाउनुपर्छ । उसको व्यक्तित्व ३० वर्षको जस्तो भएर हुँदैन । अहिले ‘इन्फर्मेसन ओभरफ्लोडेड’ एउटा समस्या बनेर देखिएको छ । आवश्यकताभन्दा बढी सूचना र जानकारी राख्दा मानिसले आफ्नो सही उमेर नै बाँच्न पाइरहेको हुँदैन । 

तसर्थ, बच्चाले आवश्यकताभन्दा बढी डिजिटल डिभाइस चलाउनु राम्रो हुँदैन । डिजिटल डिभाइसमा सीमित समय मात्रै बिताउनु राम्रो हुन्छ भन्ने कुरा टिनएजर्सलाई पनि बुझाउनुपर्छ । उनीहरूलाई सपिङ जाँदा सँगै लैजाने, पार्कमा घुमाउन लैजाने, उनीहरूसँगै बसेर हाँसो–ठट्टा गर्ने, खेल खेलाउने गर्न सकिन्छ । बच्चालाई हस्तक्षेप गर्ने होइन, माया र विश्वास दिलाउने काम गर्नुपर्छ ।

ad
ad
ad
ad