१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १७ सोमबार
  • Wednesday, 03 July, 2024
गेबोर सेरिङ
२o८१ असार १७ सोमबार ११:o१:oo
Read Time : > 2 मिनेट
ad
ad
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

लोकतन्त्रको पतन गराउँदै लोकप्रियतावाद

Read Time : > 2 मिनेट
गेबोर सेरिङ
नयाँ पत्रिका
२o८१ असार १७ सोमबार ११:o१:oo

अहिले अमेरिका, टर्की, भारतदेखि लिएर हंगेरीसम्म लोकप्रियतावाद बढिरहेको छ । आखिर लोकप्रियतावाद कसरी बढिरहेको छ ? लोकप्रियतावाद एक राजनीतिक विचारधारा हो, जहाँ ‘आममानिस’लाई नैतिक रूपमा न्यायपूर्ण, असल समाजको हिस्साका रूपमा हेरिन्छ । यो विचारधाराअनुसार ‘आममानिसको’ यो समूहलाई समाजबाट पृथक् रहेका वा सम्भ्रान्त वर्गको विपरीत समूहका रूपमा हेरिन्छ । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पजस्ता नेताले आफ्नो शक्तिलाई बलियो बनाउन र समर्थकमाझ आफ्नो लोकप्रियता कायम राख्न लोकप्रियतावादको प्रयोग गर्ने गर्छन् ।

उदाहरणका लागि जुन २०२४ मा ट्रम्पले आफ्नो चुनावी अभियानमा मुलुकको विनाश गरिरहेको ‘अशुभ शक्ति’बाट मुक्ति पाउन संघर्ष गरिरहेको बताएका थिए । उनले मिडिया, अन्तर्राष्ट्रिय निकाय र आप्रवासीलाई ‘अशुभ शक्तिका रूपमा प्रस्तुत गर्ने गरेका छन् । सन् २०१० देखि हालै युरोपेली संसद्ले अलोकतान्त्रिक मुलुक मानेको हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बान आफ्नो देशको राजनीतिमा हस्तक्षेप गरेको भन्दै विदेशी गैरनाफामुखी संस्थाको आलोचना गर्दै आएका छन् ।

लोकप्रियतावादको उग्र रूपले समाजलाई ध्रुवीकरण गरेर र समाजका बौद्धिकप्रति अविश्वास बढाएर लोकतन्त्रलाई खतरामा पार्ने गर्छ । लोकप्रियतावादी नेताले जनतालाई सशक्त बनाउने वाचा गरेर समर्थन हासिल गर्छन्, तर यी नेता प्रायः आफ्नो वाचा पूरा गर्न असफल हुन्छन् । यिनले आर्थिक असमानतालाई बेवास्ता गर्दै लैंगिक र जातीय असमानताजस्ता मुद्दालाई प्रायः चर्काउँछन् । हंगेरीको राजनीतिमा ओर्बानको शासनको विरोध गर्दै आएको एक नेता र एक प्राज्ञिक अनुसन्धाताका रूपमा मैले एक महत्वपूर्ण पाठ सिकेको छु । लोकतन्त्रलाई लोकप्रियतावादबाट जोगाउन पहिले यसको मूल कारण बुझ्नुपर्छ ।

लोकप्रियतावादको उग्र रूपले समाजलाई ध्रुवीकरण गरेर र समाजका बौद्धिकप्रति अविश्वास बढाएर लोकतन्त्रलाई खतरामा पार्छ

के हुन् कारक ? :  धेरै पत्रकार र राजनीतिशास्त्री लोकप्रियतावादलाई विविधतापूर्ण विश्वमा आफ्नो विशेषाधिकार गुम्ने हो कि भन्ने भयले ग्रसित पुरातनपन्थी गोरा पुरुषको ‘सांस्कृतिक प्रतिक्रिया’का रूपमा हेर्छन् । संघर्षरत अर्थतन्त्र, विश्वव्यापी व्यापार र औद्योगिक रोबोट एवं आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को प्रभावजस्ता आर्थिक चिन्तासँगै आप्रवासन, जाति र धर्म धेरै लोकप्रियतावादीका लागि प्रमुख मुद्दा हुन् ।

कारक अर्थ–व्यवस्था हो :  मेरो हालैको अनुसन्धानले आर्थिक असुरक्षाले युरोप, उत्तरी अमेरिका र ल्याटिन अमेरिकाभरि लोकप्रियतावादलाई मलजल गरेको देखाएको छ । उदाहरणका लागि सन् २०१० को दशकमा उत्पादनमूलक रोजगारी गुमाएका अमेरिकी प्रायः सन् २०१६ मा ट्रम्पलाई समर्थन गर्न डेमोक््रयाटिक पार्टीलाई छाडेका छन् । यसबाहेक रोजगारी सुरक्षाबारेको चिन्ताले आममानिसलाई आप्रवासनविरोधी भावनासँग जोडेका विभिन्न प्रमाण मौजुद छन् । मेरो अनुसन्धानले युरोपेली जसले न्यून ज्यालाका लागि आप्रवासी कामदारसँग प्रतिस्पर्धा गर्नुपर्दाका कारण रोजगारी गुमाएको वा न्यून कमाइको अनुभव गरेका छन्, तिनले विश्वव्यापीकरणलाई खतराको रूपमा बुझ्ने गरेका छन् । 

अमेरिकामा लोकप्रियतावादी मतदाता :  मेरो अनुसन्धानले लोकप्रियतावादी मतदाताबीचको विविधतालाई जोड दिन्छ । यसले विभिन्न प्रेरणा र चिन्ता प्रकट गर्छ । उदाहरणका लागि पूर्वी युरोपको तुलनामा अमेरिका र पश्चिमी युरोपमा एआईका कारण रोजगारी निशृत विस्थापन हुने चिन्ता बढ्दो छ । यसबाहेक नश्ल/जातिले पनि भूमिका खेल्छ किनभने आर्थिक कठिनाइको सामना गरिरहेका केही गोरा मतदाताले आप्रवासी र गैरश्वेत मानिसलाई रोजगारी अभावको दोष दिने गर्छन् ।

यद्यपि, लोकप्रियतावाद पुरातनपन्थी गोरा पुरुषभन्दा बाहिर पनि फैलिएको छ । उदाहरणका लागि अमेरिकाका डेमोक्रेटिक नेताले अश्वेत मतदाताको एक बढ्दो हिस्सासहित श्रमिक–वर्ग, गैर–कलेज–शिक्षित व्यक्तिको भोट सुरक्षित गर्न चुनौती सामना गरिरहेका छन् । डेमोक््रयाटका लागि अश्वेत मतदाताको समर्थन बलियो नै हुने गर्छ, तर सन् २०२० देखि २०२४ सम्म अश्वेत मतदाताबीच डेमोक्रेटिक पार्टीको समर्थनमा उल्लेखनीय २८ प्रतिशतको गिरावट आएको छ र एक महत्वपूर्ण हिस्सा रिपब्लिकन पार्टीतर्फ नजिक भइरहेको छ । मतदाताको पुनर्संरचनाको यो प्रवृत्ति सन् २००८ देखि चलिरहेको छ । ट्रम्पको सन् २०१६ को चुनावले गोरा मजदुर वर्गमा मात्र नभई अश्वेत मजदुर वर्गका मतदाताबीच पनि लगभग समान अन्तरले समर्थन बढेको देखिएको थियो । 

सबै लोकप्रियतावादी उग्र छैनन् :  सञ्चारमाध्यमले प्रायः उग्र–लोकप्रियतावादी मतदातालाई तिनको उत्तेजक कार्यनीति र भडकाउ बयानबाजीका लागि चिनाउँछन्, जसलाई विभिन्न विद्वान्ले ‘नराम्रो बानी’ भनेर पनि वर्णन गर्छन् । इटली र पोल्यान्डमा सफल लोकप्रियतावादी अभियानले आर्थिक मुद्दासँग सम्बन्धित मतदातालाई आकर्षित गर्छ, अर्थात् त्यहाँको लोकप्रियतावादले संस्कृति र जातिमा केन्द्रित उग्र समूहसँगै आर्थिक रूपमा विपन्नसँग जोड्छ । बेरोजगारी बिमा विस्तार गर्नेजस्ता समावेशी नीतिले मतदाताको आवश्यकतालाई प्रभावकारी रूपमा सम्बोधन गरेर लोकप्रियतावादको आकर्षणलाई कम गर्न सकिन्छ ।

अबको बाटो :  लोकप्रियतावादलाई सम्बोधन गर्न उपयुक्त समाधान आवश्यक पर्छ । रोजगारी प्रत्याभूति कार्यक्रमले स्थिर रोजगारी प्रदान गर्छ जसले आर्थिक असुरक्षा निशृत लोकप्रियतावादी भावनाको प्रोत्साहनलाई रोक्छ । हालको गिग अर्थतन्त्रमा जहाँ रोजगारीमा हुने परिवर्तन बारम्बार भइरहन्छन् यस अवस्थामा स्वास्थ्य सेवा, सेवानिवृत्ति बचत र अन्य सुविधामा निरन्तर पहुँच प्रदान गर्दा आर्थिक चिन्तालाई कम गर्न सक्छ, जसले लोकप्रियतावादलाई नियन्त्रण गर्न सक्छ । दक्षिणपन्थी लोकप्रियतावादविरुद्ध लड्न विश्वव्यापी आर्थिक चिन्तालाई कम गर्न केन्द्रीकृत दृष्टिकोणको आवश्यकता छ । चुनौतीपूर्ण भए पनि लोकतन्त्रको रक्षा र सामाजिक ध्रुवीकरणलाई रोक्नका लागि यो दृष्टिकोण महत्वपूर्ण हुनेछ ।
(सेरिङ जर्जटाउन विश्वविद्यालयका तुलनात्मक राजनीतिका प्राध्यापक हुन्) द कन्भर्सेसनबाट

ad
ad
ad
ad