१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १९ बुधबार
  • Friday, 05 July, 2024
वीरगन्ज एकीकृत जाँचचौकी (आइसीपी)मा चार वर्षदेखि थन्किएका महँगा गाडी । तस्बिर : नयाँ पत्रिका
नवीन अर्याल काठमाडाैं
२o८१ असार १९ बुधबार १o:४४:oo
Read Time : > 3 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

चार वर्षदेखि भन्सार यार्डमै थन्किए महँगा गाडी

Read Time : > 3 मिनेट
नवीन अर्याल, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असार १९ बुधबार १o:४४:oo

- भन्सारको ताकेतापछि कमर्सियल गाडीको भन्सार जाँचपास गर्ने क्रम बढ्यो 
- ०८० असारमा वीरगन्ज र भैरहवा यार्डमा साढे ३१ सय गाडी थन्किएकामा ०८१ असारमा घटेर नौ सय ६७ गाडी मात्रै 
- रसुवागढी नाकाबाट भित्रिने विद्युतीय गाडीको जाँचपासमा छैन समस्या, जेठमा मात्रै भित्रिए तीन हजार विद्युतीय गाडी  

मन्दीका कारण सवारीसाधनको बिक्री घटेपछि भएपछि महँगो मूल्यका विलासी गाडीहरू भन्सार यार्डमा चार वर्षदेखि थन्किएका छन् । आयातकर्ताले भन्सार जाँचपास नगरेपछि वीरगन्ज, भैरहवा र रसुवाका यार्डमा गाडीहरू असरल्ल देखिन्छन् ।

वीरगन्ज एकीकृत जाँचचौकी (आइसिपी), वीरगन्ज सुक्खा बन्दरगाह र रसुवागढी भन्सारमा अझै एक हजार ३२ गाडी अलपत्र छन् । आइसिपीमा पाँच सय २७, भैरहवा भन्सारमा तीन सय ५०, वीरगन्ज बन्दरगाहमा ९० र रसुवागढी नाकामा ६५ गाडी रहेका छन् ।  वीरगन्ज आइसिपीमा तीन सय एक कार र दुई सय २६ चेसिस, रसुवगढीमा सन् २०२२ र २०२३ मा ल्याइएका सातवटा पेट्रोल कार, ५६ पिकअप र एक माइक्रो गरी ६५ गाडी रहेको कार्यालयले जनाएको छ । तर, विद्युतीय गाडी भने धमाधम जाँचपास भइरहेको भन्सार कार्यालयले जनाएको छ ।

सन् २०२१ देखिका गाडीहरू यार्डमा पार्किङ गरेर राखिएको वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक डिलाराम पन्थीले बताए । अहिले वीरगन्ज आइसिपीमा तीन करोडभन्दा पनि बढी कर तिर्ने कार पार्किङमा छन् । वीरगन्ज आइसिपीमा टोयोटाका हाइब्रिड ¥याभफोर, ल्यान्डक्रुजर, फर्चुनर, हायलक्स, हुन्डाईका टुसान, क्रेटा, भेन्युलगायत गाडी छन् । आइसिपीको यार्डमा थन्किएको टोयोटा ल्यान्डक्रुजर जेडएक्स सबैभन्दा महंगो गाडी हो, जसको शो–रुम मूल्य पाँच करोड १६ लाख छ । यस्तै, ल्यान्डक्रुजर प्राडोको मूल्य दुई करोड ८३ लाखलेखि तीन करोड ३४ लाखसम्म छ । टोयोटाका हाइब्रिड ¥याभफोर, हाइलक्स, फर्चुनर, रसलगायत गाडी महँगो मूल्यका हुन् । आइसिपीमा फोर्सका गुर्खा जिप, बस, पिकअप, आशोक लेल्यान्डको पिकअप, चेसिस, एमजी हेक्टर (हाइब्रिड) र बस तथा ट्रकका चेसिसहरू पार्किङमा राखिएका छन् । 

वीरगन्ज सुक्खा बन्दरगाहमा बिएमडब्लू, किया, फोर्ड, मर्सिडिज, सुवारु, माज्दाजस्ता महँगा गाडी धेरै देखिन्छन् । महँगो मूल्य पर्ने बिएमडब्लू, मर्सिडिज, फोर्डको रेन्जर, सुवारु, माज्दाजस्ता कारहरूबाट ठूलो रकम कर उठ्ने गर्छ । यस्तै, बन्दरगाहमा विलिङ, ग्लोरी–५६० गाडी पनि धेरै छन् । रसुवागढीमा डिजेलबाट चल्ने पिकअप गाडी जाँचपास नगरी थन्किएको रसुवागढी भन्सार कार्यालयका भन्सार अधिकृत नवराज चौलागाईंले जानकारी दिए ।

रसुवागढीबाट विद्युतीय गाडी बढी 
रसुवागढी नाकाबाट ठूलो संख्यामा चीनमा निर्मित विद्युतीय कार र माइक्रोको भने धमाधम जाँचपास भइरहेको पाठकले बताए । उनले भने, ‘बजेटअगाडि सबै गाडी पास भइसकेका छन्, त्यसपछि आएका गाडी पनि धमाधम जाँचपास गर्ने क्रम जारी छ ।’ जेठमा मात्रै विभिन्न नाकाबाट करिब तीन हजार विद्युतीय कार भित्रिएको भन्सार विभागको तथ्यांक छ । मन्दीले पेट्रोल र डिजेलबाट चल्ने कमर्सियल र प्यासेन्जर गाडीको व्यापार ठप्प भए पनि विद्युतीय गाडीको व्यापार भने बढ्दो दरमा रहेको नाडा अटोमोबाइल एसोसिएसनका अध्यक्ष करण चौधरीले बताए । इन्जिन गाडीको व्यापारमा कुनै परिवर्तन नआएको उनको भनाइ छ । उनले भने, ‘इन्जिनवाला कारको ७० प्रतिशत र कमर्सियल गाडीको ८० प्रतिशतभन्दा बढी व्यापार डाउन छ ।’ 

व्यवसायीले छुटाए कमर्सियल र साना गाडी 
भन्सार कार्यालयले पटक–पटक ताकेता गरेपछि आयातकर्ताले कमर्सियल गाडी र तिनका चेसिस भने जाँचपास गरेर ल्याइसकेका छन् । यार्डमा लामो समयदेखि पार्किङ गरेर राखेका गाडी छिट्टै जाँचपास गर्न आग्रह गरिएको वीरगन्जका प्रमुख भन्सार प्रशासक पन्थीको भनाइ छ । सोही कारण एक वर्षमा यार्डमा थन्किएका गाडी (कमर्सियल र प्यासेन्जर)को संख्या दुईतिहाइले घटेको छ । अहिले वीरगन्ज, भैरहवा र रसुवा भन्सारमा जाँचपास नगरी राखिएका गाडी एक हजार ३२ छन् । जबकि, ०८० असारमा वीरगन्ज र भैरहवा भन्सारमा मात्रै साढे ३१ सय गाडी थन्किएका थिए । ठूला कमर्सियल गाडी जाँचपास भएपछि यार्ड पनि खाली देखिन थालेका छन् । यसअघि वीरगन्ज आइसिपी टाटा, महिन्द्रा, आइसरलगायत कम्पनीका कमर्सियल गाडी र तिनका चेसिसले भरिभराउ देखिन्थ्यो ।

‘वर्ष दिनअघि आइसिपीमा मात्रै २२ सय वटासम्म गाडी देखिन्थे, अहिले पाँच सय २७ वटा मात्र छन्,’ वीरगन्जका प्रमुख भन्सार प्रशासक पन्थीले भने, ‘यहाँबाट कमर्सियल भेहिकल र चेसिस जाँचपास भइरहेका छन्, अहिले महँगो मूल्य पर्ने प्यासेन्जर कार धेरै छन् ।’ भैरहवा भन्सारबाट पनि धेरै गाडी भन्सार जाँचपास भएर छुटिसकेको भैरहवा भन्सार कार्यालयका सूचना अधिकारी नरेन्द्रप्रसाद चौधरीले बताए । ‘अहिले भैरहवा यार्डमा जाँचपास नभएका साढे तीन सय नयाँ गाडी होलान्,’ उनले भने, ‘टाटाले अधिकांश गाडी छुटाएर लगिसकेको छ, अब हुन्डाईलगायत केही कम्पनीका गाडी छन् ।’

वीरगन्ज र भैरहवामा सबैभन्दा धेरै टाटाका टिपर, टेलर, ट्रक, ट्यांकर, पिकअप गाडी, चेसिस र प्यासेन्जर कार थिए । अहिले टाटाले वीरगन्ज र भैरहवा दुवै ठाउँमा भएका गाडीहरू अधिकांश जाँचपास गरेर छुटाइसकेको सिप्रदी ट्रेडिङका सिइओ राजनबाबु श्रेष्ठले बताए । ‘गाडीको बिक्री बढेर ल्याएका होइनौँ, अहिले पनि बजार ६०–६५ प्रतिशत डाउन छ,’ उनले भने, ‘डिजेल र पेट्रोल गाडीको बिक्री ठप्प छ, अलि–अलि बस, मिनी बस र माइक्रोहरू बिक्री भइरहेका छन् ।’ टाटाको कमर्सियलदेखि प्यासेन्जरसम्म भन्सार जाँचपास गरेर ल्याइसकेको उनले बताए ।  

इभीको बिक्री उत्साहप्रद
पछिल्लो समय नेपालमा इभीको बिक्री उत्साहप्रद देखिन्छ । चालू आर्थिक वर्षको ११ महिनामा २९ अर्ब रुपैयाँबराबरका ११ हजार चार सय ६६ विद्युतीय कार नेपाल भित्रिएको भन्सार विभागको तथ्यांक छ । जसमध्ये इभीमा प्यासेन्जर कार र माइक्रो राम्रो बिक्री भइरहेको सिप्रदीका सिइओ श्रेष्ठको भनाइ छ । भन्सार विभागका अनुसार ५० किलोवाट मोटर क्षमतासम्मका कार, जिप र भ्यान चार हजार तीन सय ४४, ५१ देखि १०० किलोवाटसम्मका ६ हजार आठ सय ८५, १०१ देखि २०० किलोवाटसम्मका दुई सय नौ, २०१ देखि ३०० किलोवाटसम्मका २७ र ३०० किलोवाटभन्दा माथिको एउटा भित्रिएको देखिन्छ ।

नेपालमा चीनमा निर्मित विद्युतीय कारको बाहुल्य छ । यस्तै, भारत, कोरिया, अमेरिका र युरोपमा निर्मित विद्युतीय कार पनि आयात हुन्छन् । भन्सार बढ्ने सुइँको पाएपछि व्यवसायीले बजेटअघि यार्डमा पार्किङ गरेर राखेका धेरै विद्युतीय कार, जिप र माइक्रो छुट्याएको देखिन्छ । 

वीरगन्ज भन्सारका प्रमुख डिलाराम पन्थी भन्छन्– मन्दीले गाडी बिक्री नभएपछि व्यवसायीले यार्डमा असरल्ल छाडेका थिए । हामीले गाडी जाँचपास गरेर लैजान ताकेता गरेपछि बस, ट्रक, टिपर, पिकअप र चेसिसहरू जाँचपास भइसकेका छन् । अझै पनि महँगो मूल्यका कार यार्डमै छन् ।

नाडाका अध्यक्ष करण चौधरी भन्छन्– अहिले विद्युतीय गाडीको बिक्री राम्रै भइरहेको छ । तर, पेट्रोल–डिजेलबाट चल्ने प्यासेन्जर कारको ७० प्रतिशत र कमर्सियल भेहिकलको ८० प्रतिशतभन्दा धेरै व्यापार डाउन छ । अटोमोबाइल क्षेत्रमा मन्दीको प्रभाव कत्ति पनि कम भएको छैन ।

ad
ad
ad
ad