मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार ११ मंगलबार
  • Wednesday, 05 February, 2025
२o८१ असार ११ मंगलबार o७:२१:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

युरो २०२४ : इन्जुरी समयमा जोगियो जर्मनी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ असार ११ मंगलबार o७:२१:oo

स्विट्जरल्यान्ड उपाधि दाबेदार जर्मनीविरुद्ध इन्जुरी समयसम्म अप्रत्याशित नतिजा निकाल्न तयार थियो । युरो २०२४ अन्तर्गत समूह ‘ए’को अन्तिम खेलमा स्विट्जरल्यान्ड अन्तिम इन्जुरी समयको दोस्रो मिनेटसम्म १–० ले अघि थियो । खेलमा स्विट्जरल्यान्डले पकड राखेको थियो । जर्मनी लगातार बराबरी गोल फर्काउने प्रयासमा देखिन्थ्यो । तर, स्विट्रल्यान्डको सटिक डिफेन्स र आक्रामक खेलअगाडि जर्मनीले गोलका लागि संघर्ष गरिरह्यो । विस्थापन्न खेलाडी निक्लास फल्क्रुगले जर्मनीलाई हारबाट जोगाए । 

निक्लासले अन्तिम इन्जुरी समयमा हेडिङ गोल गरी जर्मनीलाई १–१ को बराबरीमा पुर्‍याए । उनको गोलसँगै स्विट्रल्यान्ड समूह विजेताका रूपमा प्रिक्वार्टरफाइनलमा पुग्ने आशा समाप्त भयो । स्विट्रल्यान्डका लागि डान डोएले पहिलो हाफमा अग्रता दिलाएका थिए । स्विट्जरल्यान्डले डिफेन्समा हल्का कमजोरी देखाउँदा जर्मन खेलाडीले फाइदा लिएका थिए । जर्मनीका प्रशिक्षक जुलियन नग्लेसम्यानले निश्चित अंकका लागि प्रतिस्पर्धा गरेको बताए । 

‘अन्ततः हामीले एक अंक प्राप्तिका लागि कठिन मिहिनेत गर्नुपरेको थियो । स्विसविरुद्ध धेरै चुनौती थियो,’ उनले भने, ‘सुरुमै अनावश्यक रूपमा गोल व्यहोर्दा गाह्रो भयो ।’ प्रशिक्षक जुलियनले समूह ‘ए’ कठिन भएको बताए । उनी भन्छन्, ‘हाम्रो समूह सर्वाधिक कठिन हो, खेलअनुसार पहिलो हाफमै कम्तीमा दुई गोल हुनुपर्ने थियो, तर विपक्षीले धेरै गाह्रो बनायो ।’ 

पहिलो हाफमा जर्मन खेलाडीले सहज गोल अवसर चुकाउँदा घरेलु दर्शकबाट आलोचना खेप्नुपरेको थियो । इन्जुरी समयमा निक्लासको गोलसँगै समर्थकले खुसी मनाएका थिए । खेलको २८औँ मिनेटमा रेमो फेलेरको क्रसमा निक्लासले आकर्षक गोल गरेका थिए । उनले दोस्रो हाफमा पनि गोल गरेका थिए । तर, भिएआरले उनको गोललाई मान्यता दिएन । अघिल्लो दुई खेलमा जस्तो जर्मनी स्विट्जरल्यान्डविरुद्ध लयमा देखिएको थिएन । प्रशिक्षक जुलियनले नकआउट चरणमा सुधार हुने अपेक्षा राखेका छन् । 

अपरिवर्तित जर्मनी टोली 
प्रशिक्षक जुलियनले तेस्रो खेलमा त्यति महत्वपूर्ण नराख्दा खेलाडी परिवर्तन गरेनन् । समूहको अन्तिम खेलअगाडि नै नकआउट चरणमा प्रवेश गरेका कारण नै टोलीमा परिवर्तन गर्नुपर्ने आवश्यकता उनले देखेनन् । लगातार दुई खेल खेलेका खेलाडी थकित देखिन्थे । स्विट्जरल्यान्डमाथि सधैँ हाबी हुने गरेको जर्मनी आइतबार राति आफैँ समस्या परेको थियो । तर, जर्मनीलाई रोक्दा वा हराउँदा अन्तिम आठमा पुग्ने आधार तयार गरेको स्विट्रल्यान्डले यहीअनुसारै रणनीति बनाएको थियो । इन्जुरी समयबाहेक अन्य कुनै पनि समयमा स्विट्रल्यान्ड कमजोर भएन । बारम्बार स्विसका खेलाडीले जर्मनीको पोस्टमा पोस्ट चार्ज गरिरहेका थिए । पहिलो हाफमा स्विसका समर्थन नै जर्मनीमाथि दबाबमा राखेका थिए । यद्यपि, केई हाभेट्जले पोस्टनजिकबाट प्रहार गरेको बल क्रसबारनजिक हुँदै बाहिरिएको थियो । गुन्डोगानको एक प्रहार क्रसबारनजिक हुँदा जर्मनीले बराबरी अवसर गुमाएको थियो । 

हंगेरीको जितले स्कटल्यान्ड बाहिरियो
समूह ‘ए’मा हंगेरीमाथिको जितले स्कटल्यान्ड पहिलोपटक नकआउट चरणमा पुग्ने थियो । तर, प्रतिस्पर्धामा स्कटल्यान्ड हंगेरीसँग १–० ले पराजित भयो । खेलको अन्तिम १० मिनेटको इन्जुरी समयमा हंगेरीका सोवाथले एक मात्र निर्णायक गोल गरेका थिए । उनको गोलसँगै स्कटल्यान्डको युरो २०२४ यात्रा समूह चरणसम्मै रह्यो । यस समूहमा जर्मनीले तीन खेलबाट सर्वाधिक सात अंक बटुल्यो । स्विट्जरल्यान्डले पाँच अंक बटुल्यो । स्विट्जरल्यान्ड समूह उपविजेता भयो । हंगेरीले एक जितका साथ तीन अंक बनायो । स्कटल्यान्ड समूहकै चौथो स्थानमा रहँदा एक अंक मात्र जोडेको छ ।