१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार ५ बुधबार
  • Thursday, 27 June, 2024
शुरोजंग पाण्डे काठमाडाैं
२o८१ असार ५ बुधबार o६:५४:oo
Read Time : > 2 मिनेट
ad
ad
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

मन्त्रिपरिषद् विस्तारको गृहकार्य : नागरिक उन्मुक्ति र जनमतलाई सरकारमा ल्याउने तयारी

संविधानअनुसार २५ सदस्यीय मन्त्रिपरिषद् बनाउन सकिने भए पनि अहिले २३ सदस्यीय छ 

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ असार ५ बुधबार o६:५४:oo

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदबाट बजेट पारित भएलगत्तै मन्त्रिपरिषद् विस्तारको गृहकार्य गरेका छन् । ७ असारमा बजेट पारित गर्ने र त्यसलगत्तै नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीलाई सरकारमा ल्याएर मन्त्रिमण्डललाई पूर्णता दिने प्रधानमन्त्रीको तयारी छ । युरोप भ्रमणमा रहेका राष्ट्रपति रामचन्द्र पौडेल बुधबार स्वदेश फर्कँदै छन् । 

दुवै पार्टीलाई सरकारमा ल्याउन प्रधानमन्त्री प्रचण्डले सत्तासमीकरणका प्रमुख नेता एमाले अध्यक्ष केपी ओलीसँग निरन्तर छलफल गर्दै आएका छन् । दुवै पार्टीलाई कुन–कुन मन्त्रालय दिएर सामेल गर्ने अन्तिम टुंगो नलागे पनि प्रधानमन्त्री र ओलीबीच निरन्तर छलफल चलिरहेको छ । दुई पार्टीलाई भिœयाउँदा हालका मन्त्रीहरूको जिम्मेवारीसमेत हेरफेरको सम्भावना छ । 

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले राष्ट्रपतिको स्वदेश फिर्ता र बजेट पारितसँगै सत्तासमीकरणका दलहरूसँग छलफल गरेर मन्त्रिमण्डल विस्तार गर्ने तयारी भइरहेको बताए । ‘प्रधानमन्त्रीले विश्वासको मत लिएपछि नै जनमत पार्टीलाई सरकारमा सहभागी हुन प्रस्ताव गर्नुभएको हो, तर उहाँहरूले बजेट आओस्, पास होस् र त्यसपछि छलफल गर्ने भनेकाले अब सत्तासमीकरणका दलहरूको बीचमा छलफल गरेर सरकार विस्तार हुन सक्छ,’ आचार्यले नयाँ पत्रिकासँग भने, ‘अहिले राष्ट्रपतिज्यू देशबाहिर हुनुहुन्छ, जनमत पार्टीले पनि बजेटपछि भनेकाले सायद बजेट पाससँगसँगै सरकार विस्तार हुनेछ ।’ 

उनले नागरिक उन्मुक्ति पार्टी सरकारमा आउन पहिल्यै तयार भएकाले दुवै पार्टीलाई एकैपटक सरकारमा सामेल गर्ने सोचमा प्रधानमन्त्री रहेको बताए । ‘नागरिक उन्मुक्ति पार्टी सरकारमा आउन तयारै छ, तर जनमत र नागरिक उन्मुक्ति कसलाई कुन मन्त्रालय दिने भन्ने अन्तिम टुंगो लागिसकेको छैन,’ आचार्यले भने, ‘२५ सदस्यसम्म मन्त्री बनाउन पाइने व्यवस्था भएकाले अब पूर्णता दिने गरी नै विस्तार हुन्छ ।’ 

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले राष्ट्रपति स्वदेश फर्किएलगत्तै आफूलाई मन्त्री बनाउने सूचना दिइएको बताइन् । ‘राष्ट्रपतिज्यू फर्किएपछि प्रधानमन्त्रीले मलाई मन्त्री नियुक्त गर्ने जानकारी गराउनुभएको छ,’ श्रेष्ठले नयाँ पत्रिकासँग भनिन् । श्रेष्ठले प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीले आफूलाई संस्कृति, पयर्टन तथा नागरिक उडड्यन मन्त्रालयको जिम्मेवारी सम्हाल्न प्रस्ताव गरेकोसमेत बताइन् । अहिले सो मन्त्रालय माओवादीको भागमा छ । हितबहादुर तामाङले पयर्टनमन्त्रीको जिम्मेवारी सम्हाल्दै आएका छन् । नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम प्रदेशमा मन्त्रीसहित वर्तमान सत्तासमीकरणमा सामेल छ । 

त्यस्तै, मधेश प्रदेश सरकारको नेतृत्व सम्हालेको जनमत पार्टीलाई पनि प्रधानमन्त्री प्रचण्डले सरकारमा ल्याउने गरी गृहकार्य गरिरहेका छन् । जनमतका अध्यक्ष डा. सिके राउत महत्वपूर्ण मन्त्रालय पाएको खण्डमा आफैँ सरकारमा जाने मनस्थितिमा छन् । एमाले अध्यक्ष ओलीले उनलाई गृहमन्त्री रवि लामिछानेमार्फत परराष्ट्र मन्त्रालय सम्हाल्ने गरी सरकारमा सामेल हुन प्रस्ताव पठाएको जानकारी गराएका छन् । 

जनमत पार्टीका महासचिव चन्दन सिंहले बजेटको स्थिति हेरेर सरकारमा सामेल हुने कि नहुने पार्टीले निर्णय गर्ने बताए । ‘हाम्रो बटमलाइन मधेश प्रदेश सरकार थियो, त्यहाँ सरकार बनायौँ, अब केन्द्रमा बजेट पारित भएपछि सरकारमा जाने कि नजाने निर्णय हन्छ,’ सिंहले नयाँ पत्रिकासँग भने, ‘अहिलेलाई हामीले सरकारलाई समर्थन गरेका छौँ, बजेट पारित भएपछि सरकारमा सामेल हुने कि नहुने, हुँदा कसरी हुने भन्ने निर्णय गर्ने अधिकार अध्यक्ष सिके राउतजीलाई दिएका छौँ ।’ 

जनमत पार्टीलाई कुन मन्त्रालय दिने भन्ने टुंगो लागिसकेको छैन । उसलाई सरकारमा सामेल गराउँदा एमाले वा माओवादीमध्ये कुनै एकले मन्त्रालय छाड्नुपर्ने हुन सक्छ । संविधानअनुसार मन्त्रिमण्डल २५ सदस्यीयसम्म बनाउन सकिन्छ । अहिले २३ सदस्यीय मन्त्रिपरिषद् छ भने २१ वटा मन्त्रालयमध्ये सत्तासमीकरणमा रहेका दलहरूले भागबन्डा गरेर जिम्मेवारी सम्हालेका छन् । 

प्रधानमन्त्रीले राष्ट्रपतिज्यू फर्केपछि नियुक्त गर्ने भन्नुभएको छ : रञ्जिता श्रेष्ठ, अध्यक्ष, नागरिक उन्मुक्ति पार्टी
राष्ट्रपतिज्यू फर्किएपछि प्रधानमन्त्रीले मलाई मन्त्री नियुक्त गर्ने जानकारी गराउनुभएको छ । प्रधानमन्त्री र एमाले अध्यक्षले मलाई  पर्यटन मन्त्रालयको प्रस्ताव गर्नुभएको छ ।

सरकारमा जाने÷नजाने निर्णय गर्ने अधिकार अध्यक्षलाई दिएका छौँ : चन्दन सिंह, महासचिव, जनमत पार्टी
हाम्रो बटमलाइन मधेश प्रदेश सरकार थियो, त्यहाँ सरकार बनायौँ । हामीले सरकारलाई समर्थन गरेका छौँ, बजेट पारित भएपछि सरकारमा सामेल हुने कि नहुने, हुँदा कसरी हुने भन्ने निर्णय गर्ने अधिकार अध्यक्ष सिके राउतजीलाई दिएका छौँ ।

बजेट पाससँगसँगै सरकार विस्तार हुन सक्छ : गोविन्द आचार्य, प्रधानमन्त्रीका प्रेस सल्लाहकार 
सत्तासमीकरणका दलहरूबीच छलफल गरेर सरकार विस्तार हुन सक्छ । अहिले राष्ट्रपतिज्यू देशबाहिर हुनुहुन्छ, जनमत पार्टीले पनि बजेटपछि भनेकाले सायद बजेट पाससँगसँगै विस्तार हुनेछ । 

ad
ad
ad
ad