१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार ४ मंगलबार
  • Saturday, 24 August, 2024
२o८१ असार ४ मंगलबार o९:५२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बालबालिकालाई श्रममा लगाउने उद्योग प्रतिष्ठानमाथि कारबाही    

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असार ४ मंगलबार o९:५२:oo

प्रतिष्ठान तथा रोजगारदातामाथि कारबाही गरी ३७ हजार सात सय जरिवाना र तीन लाख ४० हजार सात सय १२ क्षतिपूर्ति तिराइयाे

बालबालिकालाई बालश्रमिकका रूपमा काममा लगाउने १५ उद्योग, प्रतिष्ठान तथा रोजगारदातालाई श्रम तथा रोजगार कार्यालय हेटौँडाले कारबाही गरेको छ । चालू आर्थिक वर्ष ०८०/८१ को १० महिना अवधिमा गरिएको अनुगमनका क्रममा बालबालिकालाई बालश्रमिकका रूपमा काममा लगाउने १५ प्रतिष्ठान तथा रोजगारदातामाथि कारबाही गरिएको कार्यालयका प्रमुख छन्दनारायण श्रेष्ठले जानकारी दिए।

उनका अनुसार प्रतिष्ठान तथा रोजगारदातामाथि कारबाही गरी ३७ हजार सात सय जरिवाना र तीन लाख ४० हजार सात सय १२ क्षतिपूर्ति तिराइएको छ । सो अवधिमा विभिन्न उद्योग, प्रतिष्ठानबाट बालश्रमिकका रूपमा रहेका २२ बालबालिकाको उद्धार गरिएको कार्यालय प्रमुख श्रेष्ठले बताए।

यस्तै, चालू आवको वैशाखसम्म दुई सय प्रतिष्ठानमा अनुगमन गर्दा अधिकांश ठूला उद्योग प्रतिष्ठानमा न्यूनतम पारिश्रमिकलगायत श्रम कानुनको पालना गरिएको पाइए पनि साना उद्योग प्रतिष्ठानमा नियुक्तिपत्र, न्यूनतम पारिश्रमिक, सामाजिक सुरक्षा, व्यवसायजन्य सुरक्षाको अवस्था कमजोर रहेको पाइएको छ ।

श्रम तथा रोजगार कार्यालयमा धेरैजसो उजुरी पारिश्रमिक नपाएकोसम्बन्धी आउने गरेको छ । चालू आवको १० महिनामा पारिश्रमिकसम्बन्धी ७० वटा उजुरी दर्ता भएकामा ५५ वटा उजुरी कार्यालयको पहलमा प्रत्यक्ष वार्तामार्फत समाधान गरिएको र बाँकी १५ वटा उजुरी समाधानको प्रक्रियामा रहेको प्रमुख श्रेष्ठले जानकारी दिए।

उनका अनुसार सो अवधिमा श्रमिक आपूर्तिकर्ता कम्पनी दर्ता तथा नवीकरणबापत ६८ हजार पाँच सय, बालश्रमसम्बन्धी जरिवानाबापत ३७ हजार सात सय र ट्रेड युनियन दर्ता तथा नवीकरणबापत एक हजार ६ सय ५३ गरी  एक लाख सात हजार आठ सय ५३ राजस्व संकलन भएको छ । यस अवधिमा मकवानपुर, चितवन, सिन्धुलीमा विभिन्न सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको कार्यालय प्रमुख श्रेष्ठकाे भनाइ छ ।