मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ११ शुक्रबार
  • Thursday, 19 December, 2024
रामचन्द्र शर्मा
२o८१ जेठ ११ शुक्रबार १o:१४:oo
Read Time : > 3 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

समस्यामै छ समाधान

Read Time : > 3 मिनेट
रामचन्द्र शर्मा
नयाँ पत्रिका
२o८१ जेठ ११ शुक्रबार १o:१४:oo

दार्शनिक सुकरात भन्छन्— प्रश्न राम्ररी बुझे आधा उत्तर त्यत्तिकै पाइन्छ । आजका विद्वान्हरू भन्छन्– समस्याभित्रै समाधान हुन्छ, समस्या नै सम्पत्ति हो । यो सन्दर्भ हाम्रो देशका यावत् समस्या र तिनको समाधानतर्फ सरकारको ध्यान पुगोस् भन्ने सदाशयताले उठाइएको हो । विश्वमै उत्कृष्ट मानिएको लोकतान्त्रिक गणतन्त्र नेपाल विकासमा पछाडि परेको तथ्यांकले देखायो । उसो त भिन्न व्यवस्था अँगालेका हाम्रै छिमेकी चीन र भारत विकासको फड्को मार्दै विश्व महाशक्तिमा दरिँदै गएको अवस्थाले विकास हुनु र नहुनुमा व्यवस्था ठूलो कारक नहुने प्रस्ट हुन्छ । स्वदेशमा केही हुँदैन भन्ने नकारात्मक मनोविज्ञानका साथ रोजगारी र उच्च शिक्षाको खोजीमा युवा जनशक्ति विदेश पलायन भइरहेका छन् ।

बसी खाने वृद्धभन्दा गरी खाने युवाको बाहुल्यले जनसांख्यिक लाभको अवसर पाएको नेपाल वृद्धाश्रममा परिणत हुने जोखिममा छ । देशमा बढ्दै गइरहेको भ्रष्टाचार, हत्या–हिंसा या बलात्कारका घटनाले नागरिकमा देशैप्रति अविश्वास बढाउँदै लगेको छ । सबै दल र नागरिक मिलेर गणतन्त्र ल्याए । दलहरूले मिलेरै संविधान बनाए । तर, तिनै दल सत्ताको खेलमा अल्झिँदा एक दशक लामो अवधिसम्म आवश्यक कानुन बन्न सकेनन् ।

संविधानको धारा २३२ ले तय गरिसकेको संघ, प्रदेश र स्थानीय सरकारबीचको सहकारिता सहअस्तित्व र समन्वयको सम्बन्ध व्यवहारमा लागू हुन सकेन । धारा ४ मा उल्लिखित समाजवादउन्मुख कार्यक्रमप्रति कसैको चासो देखिएन । सत्तामा हुँदा र नहुँदा एउटै मुद्दामा दुई विपरीत अडान देखियो । तजबिजी कानुन बनाई छिद्र खोज्दै स्वार्थ पूरा गर्ने खेलमा सबै रमाउन थाले । राजनीतिक स्थिरताका लागि दिइएको जनमत कहिले संसद् विघटन गरेर त कहिले संसद्मै अभद्र व्यवहार गरेर अपमान गर्नेसम्मका व्यवहार दोहोरिँदा देश अप्ठ्यारामा परेको हो । 

सरकारदेखि देशका प्रमुख अंग, संयन्त्रदेखि सर्वसाधारण नागरिकसमेतमा रहेको अज्ञानता नै सबै समस्याको प्रमुख स्रोत हो
 

दल र नेताहरूबाट कमजोरी नभएका होइनन्, तर पछिल्ला दिनमा सारा समस्या उनीहरूमै मात्र थोपर्ने प्रवृत्तिले समस्या थपेको छ । धरातलमा देखिएका समस्या मानिसमा आउने ज्वरोजस्तै हो । ज्वरो आफैँमा समस्या भए पनि त्यसको कारण शरीरभित्रको अर्को कुनै रोग भएजस्तै समस्याको मूल कारण आफू मात्र ज्ञानी भएको भ्रम (अज्ञान) र पापी प्रवृत्ति हो । आफ्नो विकलांगताले ह्विलचियरमा सारा जीवन बिताएर पनि ब्रह्माण्ड बुझ्ने ठूलो लक्ष्य लिई निरन्तर अनुसन्धान गर्ने वैज्ञानिक स्टिफन विलियम हकिङले मानिसको ठूलो दुस्मन मूर्खता होइन, ज्ञानी भएको भ्रम हो भनेको प्रसंग आजको नेपाली परिवेशमा ठ्याक्कै मिल्छ । चीन र अमेरिकाबीच व्यापार भएको नदेख्ने, पुँजीवाद र समाजवादका नाममा जनता भिडाउने, मन्दिरमा देवीको पूजाआजा गर्ने घरमा श्रीमती, बुहारी या छोरीमाथि हिंसा गर्ने व्यवहारले ज्ञानी भएको भ्रममा छिपेको अज्ञान प्रकट गरेको छ । 

इको–सिस्टमको अन्तरनिर्भरता दर्शाएर प्रकृतिले मानिसलाई दिएको सहकार्य र सहअस्तित्वको सन्देशविपरीत जाति, धर्म र सम्प्रदायका नाममा तोडफोड र द्वन्द्व मच्चाउँदा प्रेम, श्रद्धा र करुणाले भरिनुपर्ने मानिसमा ईष्र्या र प्रतिशोधको भावना भरिई समस्या बढेको हो । त्यसमाथि मानिसको हित र सुविधाका लागि वैदिक ऋषिमुनि र वैज्ञानिकले वर्षौँको अनुसन्धानपछि आविष्कार गरेको अध्यात्म र भौतिक विज्ञानबीच संयोजन गरेर हिँड्नुपर्नेमा परस्पर विरोधीका रूपमा गलत व्याख्या गरिदिँदा शिक्षामा हुनुपर्ने गुणस्तरको अभाव भयो । उत्पादित जनशक्तिमा नैतिक चरित्रको कमी रह्यो ।

चलिआएका मानवीय मूल्य–मान्यता, संस्कार र संस्कृति क्रमशः मेटिँदै जाँदा सामाजिक उकुसमुकुस र देशकै अस्तित्व संकटमा पर्न सक्ने अवस्था खडा भएको छ । अध्यात्मले मानिसको भित्री जगत्, मन, चित्त, बुद्धि र भावना ठीक नपारिदिए भौतिक विज्ञानका उपलब्धि निस्सार हुँदा रहेछन् भन्ने तथ्य पुष्टि भयो । किनकि, भित्री र बाहिरी दुवै जगत्ले मात्र मानिस पूर्ण हुन्छ । समग्र सहकारीको छानबिन गर्ने सहमति गरिसकेपछि यो र त्यो सहकारीको नाम उल्लेख गर्ने वा नगर्ने बहानामा दुवै संसद् बन्धक बनाइदिँदा देशको प्रमुख अंग विधायिका अज्ञानताको सिकार भएको छ ।

नागरिकले आफूहरू संकुचित कानुन तथा कार्यविधि र त्यसमाथि न्यायिक विचलनको मारमा परेको औँल्याउँदै आएको अवस्थामा वकिलहरूको राष्ट्रिय सम्मेलनमा प्रधानन्यायाधीशले न्यायपालिकाप्रतिको आशंका निवारणमा जुट्न गरेको आग्रहले न्याय दिलाउन सहजीकरण गर्नुपर्ने वकिल, न्याय गर्नुपर्ने न्यायाधीश र न्यायालय पनि अज्ञानताबाट ग्रस्त रहेको देखायो । देशलाई गतिमान बनाउने कार्यपालिका त झनै अज्ञानको भुमरीमा परेको तथ्य सरकार बनाउने र भत्काउने गठबन्धनका गतिविधिले उजागर गरेको छ । 

आफ्नो स्वार्थ पूरा गर्न नेता रिझाएर भ्रष्टाचार गर्न तम्सिने आफूले निर्वाह गर्नुपर्ने पदीय जिम्मेवारीप्रति बेवास्ता मात्र होइन, तलब–सुविधाका लागि आन्दोलन गर्दै संस्था नै बन्द गर्ने विभिन्न क्षेत्रका कर्मचारी, शिक्षकदेखि मुनाफा बढी चाहने तथा सेवाको गुणस्तर बढाउन नचाहने व्यापारी, कुखुरा देखाइदिएको कमिसन खोज्ने नागरिक सबै अज्ञानको महारोगबाट थलिएका छन् । अतः देशका प्रमुख अंग, संयन्त्रदेखि सर्वसाधारण नागरिकसमेतमा रहेको अज्ञानता सबै समस्याको स्रोत हो भन्ने छर्लंग छ ।

अज्ञानको समाधान ज्ञानले मात्र गर्न सक्छ । हरेक वस्तुको आफ्नै स्वभाव हुन्छ र त्यो धारण गर्नु उसको धर्म हो । पानी जति तताए पनि चिसो भइछाड्छ । शीतलता पानीको स्वभाव हो । मानिसको स्वभाव आनन्द हो, जुन ऊभित्रै छ । तर, ऊ बाहिर खोज्छ र नभेटेर दुःखी हुन्छ । उसले आफ्नो स्वभावमा फर्किन नजानेर अज्ञानतावश प्रकृतिविरोधी काम ग¥यो । मानिस आध्यात्मिक ज्ञानको प्रकाशबाट वञ्चित भएकाले अज्ञानी रह्यो । चिनीमा गुलियो र कागतीमा अमिलो स्वाद रहेजस्तै हरेक चिज वस्तुमा रहेको गुण नै उसको स्वभाव हो । हरेक मानिसमा सत्यता, स्वाध्याय, क्षमाशीलता, सर्वकल्याण भाव, सेवाभाव, मधुर वाणी, लक्ष्यसँग एकाकार र मुमुक्षाजस्ता गुण छन् । आध्यात्मिक भाषामा ‘दिव्य नव व्रत’ भनिने यी गुण धारण एवं पालना गर्नु मानवीय धर्म हो । 

अध्यात्म र भौतिक विज्ञानको संयोजन गर्दै आध्यात्मिक जागरण र योग–ध्यानको साधनामार्फत नेपाललाई योग र ध्यानमय राष्ट्रको रूपमा विकास गरी स्वर्गीय आनन्द दिने हरिया डाँडापाखालाई योग र ध्यानको पूर्वाधार र हरेक नेपालीलाई प्रशिक्षक बनाई विश्वभरका मानिसलाई योग र ध्यानको साधनामार्फत आनन्दित तुल्याई देशमा डलर भित्र्याई समृद्ध बनाउने लक्ष्य लिएको जीवन विज्ञान संस्थाले गत चैतमा लुम्बिनीमा विराट चक्र विज्ञान कार्यक्रम सम्पन्न गरेको थियो ।

त्यसैबखत नेपाललाई विश्वकै शान्ति पर्यटन केन्द्रका रूपमा विकास गर्ने भनी जारी गरिएको लुम्बिनी घोषणापत्रमा हस्ताक्षर गर्दै प्रधानमन्त्रीले बजेटसहित योजना ल्याउने प्रतिबद्धता व्यक्त गरेकाले छोटै रूपमा भए पनि योग र ध्यानको विषय नीति तथा कार्यक्रममा समेटिएको छ । देशमा व्याप्त अज्ञान र नकारात्मकतालाई ज्ञानी र सकारात्मक बनाउने एक र अन्तिम उपाय आध्यात्मिक जागरण र योग– ध्यान मात्र भएकाले स्थानीय तहदेखि नै बजेट छुट्याएर अर्थमन्त्रीले देशको समस्या चिनी समाधानतर्फ अग्रसर भएको सन्देश दिन जरुरी छ ।