Skip This
बुद्धदर्शनको सामयिकता
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १० बिहीबार
  • Sunday, 16 June, 2024
आचार्य श्रीस्वामी ध्रुव
२o८१ जेठ १० बिहीबार १७:o८:oo
Read Time : > 2 मिनेट
ad
ad
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

बुद्धदर्शनको सामयिकता

लगभग २६ सय वर्षअघि दुःखमुक्ति र सुखी जीवनका लागि भगवान् बुद्धबाट दिइएको अष्टांगिक मार्गको ज्ञान आज पनि उत्तिकै सामयिक छ

Read Time : > 2 मिनेट
आचार्य श्रीस्वामी ध्रुव
नयाँ पत्रिका
२o८१ जेठ १० बिहीबार १७:o८:oo

फ्रायडले ३० वर्षसम्म मानवीय मनको अध्ययन र अनुसन्धान गर्नुभयो र अन्त्यमा भन्नुभयो– मानवको जीवन जिउने जुन तरिका छ, त्यस आधारमा उसको दुःख कहिल्यै समाप्त हुँदैन । त्यसलाई कम गर्न मिल्छ, तर एकदमै समाप्त गर्न सकिँदैन । किनकि, सानो–सानो कुरामा अपेक्षा जोडिएको हुन्छ। जुन कहिल्यै पूरा हुँदैन । यति मात्र होइन, अपेक्षाको रुख नै छ हाम्रो मनमा, त्यसका हजारौँ–हजार हाँगा पनि छन् । भगवान् बुद्धले पनि भन्नुभएको छ– जीवन दुःख हो, दुःखको कारण छ र दुःख मुक्तिको उपाय पनि हो । आर्य अष्टांगिक मार्ग यसका प्रथम र अन्तिम उपाय हुन् । अज्ञान दुःख हो, ज्ञान सुख हो।

लगभग २६ सय वर्षअघि दुःख मुक्ति र सुखी जीवनका लागि भगवान् बुद्धबाट दिइएको अष्टांगिक मार्गको ज्ञान आज पनि उति नै लाभकारी र उपयोगी छ, जति त्यो वेला थियो । ज्ञान जीवनको आधार हो । ज्ञानविना जीवनको कल्पना गर्न सकिँदैन । ज्ञानको सिमाना छैन । यो असीमित छ।

अष्टांगिक मार्गका आठ सिद्धान्त निम्न छन् :

१. सम्यक दृष्टि : कुनै पनि घटनाको असली अर्थ हामीलाई थाहा हुँदैन । कहिलेकाहीँ पछि थाहा हुन्छ । सम्यक् दृष्टिको सिद्धान्तअनुसार कुनै पनि घटनालाई पक्ष–विपक्ष वा नकारात्मक–सकारात्मकमा सन्तुलन राखेर हेर्नुपर्छ । कुनै पनि घटनाको परिणामलाई अधिकतम सकारात्मक र शुद्ध बुझ्नु नै सम्यक् दृष्टिको ज्ञान हो।

२. सम्यक संकल्प : संकल्पविना केही हुँदैन । यसकारण सधैँ संकल्पको सिद्धान्त याद राख्नुपर्छ । सामान्य इच्छालाई संकल्पको शक्तिबाट सफलतासम्म पुर्याउन सकिन्छ । अहिलेसम्म हामीले जे प्राप्त गरेका छौँ, त्यो हाम्रो संकल्प शक्तिकै परिणाम हो । कुनै कुरा चाहेर पनि प्राप्त नसक्नु संकल्प शक्तिको कमी हुनु हो । कमजोर इच्छाशक्तिलाई संकल्पको सहयोगबाट शक्तिशाली बनाउन र पूरा गर्न सजिलो हुन्छ।

३. सम्यक वाणी : हाम्रो सम्बन्धमा अहंकार र अज्ञानले गर्दा नराम्रो वाणीका कारण धेरै समस्या भइरहेको हुन्छ । यसकारण सम्यक वाणीको सिद्धान्त हामीले याद राख्नुपर्छ । सम्यक वाणी विनम्रताको प्रतीक हो । राम्रो कुरालाई पनि नराम्रो तरिकाले बोल्दा नराम्रै परिणाम निस्किन्छ । नराम्रो कुरालाई पनि राम्रो तरिकाले बोल्दा राम्रो परिणाम निस्किन्छ । हामीलाई विनम्रता मनपर्छ भने अर्कालाई पनि मनपर्छ । बोल्दा बढी बोल्नुहुँदैन । बढी बोल्दा काम खराब हुन सक्छ। 

४. सम्यक कर्म : दैनिक जीवनमा कार्य गर्दा सन्तुलनको सिद्धान्त याद राख्नुपर्छ । हाम्रो कर्म नै हाम्रो सुखदुःखका लागि जिम्मेवार हुन्छ । सम्यक् कर्मको सिद्धान्तले जीवनलाई सुखी बनाउन सहयोग गर्छ । हामीले कुनै पनि कार्यमा सन्तुलन राख्नुपर्छ। 

५. सम्यक आजीविका : व्यापार गर्ने वेला यसबाट अर्काको नोक्सानी नहोस् र समाजका लागि कल्याणकारी होस् भन्ने सोचेर रक्सी, चुरोट, बन्दुक आदिको व्यापार गर्न हुँदैन।

६. सम्यक स्मृति : हामी कहिले भूतलाई लिएर चिन्तामा रहन्छौँ । कहिले भविष्य सोचेर दुःखी हुन्छौँ । वर्तमानमा हामी रहँदैनौँ । यो एक प्रकारको बेहोसी हो । यस बेहोसीमै काम, क्रोध, लोभ, मोह हामीमाथि हाबी रहन्छ । सम्यक स्मृतिका अनुसार हामीले सकेसम्म होसमा रहनुपर्छ, जसले गर्दा मन शान्त र सन्तुलित रहन्छ । 

७. सम्यक स्वीकार : हाम्रो जीवनमा जति पनि तनाव, दुःख, पीडा वा नकारात्मक विचार छ, त्यो अस्वीकारका कारण उत्पन्न हुने हो । किनकि, अस्वीकार गरेपछि असन्तुष्टि जन्मन्छ । असन्तुष्टिले क्रोध र दुःख बढाउँछ । यसकारण दैनिक जीवनका सबै परिणामलाई सहृदय स्विकार्नुपर्छ । राम्रो हुनका लागि प्रयास गरे पनि जे प्राप्त हुन्छ, त्यसैलाई सन्तोषपूर्वक स्वीकार गर्नुपर्छ।

८. सम्यक व्यायाम/समाधि : मानवको तीन प्रकारका कामना वा समस्या छन्– मानसिक, शारीरिक र आध्यात्मिक । हामी सारा जीवन मानसिक र शारीरिक समस्या समाधान गर्न लगाउँछौँ । तैपनि, शान्ति हुँदैन । यसैकारण हामीले आध्यात्मिक इच्छा पूरा गर्नुपर्छ । यसैलाई महात्मा बुद्धले भन्नुभएको छ– दैनिक जीवनमा ध्यान, साधना पनि गर्नुपर्छ । ध्यान साधनाबाट मनको फोहोर सफा हुन्छ, चित्त निर्मल हुन्छ।
 
विपस्यना ध्यान : यो अति प्राचीन ध्यानविधि हो । मध्यकालमा बिस्तार–बिस्तारै यो विधि विलुप्त हुँदै गयो । पछि भगवान् बुद्धले यसको खोज गर्नुभयो र आफ्नो हजारौँ भिक्षुमाथि प्रयोग गर्नुभयो। विपस्यना ध्यान विधि अन्तर्मनको गहराइमा पुगेर आफूलाई आत्मनिरीक्षण गरेर आत्मशुद्धि गर्ने विज्ञान हो । विपस्यनाको शाब्दिक अर्थ हो विशेष रूपमा आफनो श्वास-प्रश्वासलाई हेर्नु र अनुभव गर्नु । 

भूतकालको चिन्ता नगर्नु र भविष्यको आशंका र डरबाट असन्तुलित नहुनु, वर्तमानमा रहनु र जस्तो स्थिति छ, त्यस्तै स्वीकार गरेर बस्नु महात्मा बुद्धको दर्शन हो ।

भगवान् बुद्धको अति महत्त्वपूर्ण उपदेश : 

१. डराउने मान्छे कहिल्यै धार्मिक हुन सक्दैन। 
२. हाम्रो सबैभन्दा ठूलो शत्रु शंका हो। 
३. मानव जीवनको परम सत्य मृत्यु हो। 
४. जसरी हुरीबतासले पहाड हल्लिँदैन, त्यस्तै साधकको मन कुनै पनि स्थितिमा विचलित हुँदैन। 
५. जसरी पात्रलाई औषधिको ज्ञान हुँदैन, त्यस्तै अज्ञानीलाई ज्ञानको जानकारी हुँदैन।

(आचार्य ध्रुव माइन्ड म्यानेजमेन्ट मुभमेन्टका प्रणेता हुन्)
 

ad
ad
ad
ad