१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 20 September, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ ४ शुक्रबार o८:४४:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

चार दिनमा सात करोडको कोकिन बरामद

चार करोडको कोकिन पेटभित्र राखेर इथियोपियाबाट नेपालसम्मको यात्रा  

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार o८:४४:oo

करिब सात करोड रुपैयाँबराबरको लागुऔषध कोकिनसहित तीन विदेशी महिला काठमाडौंमा पक्राउ परेका छन् । लागुऔषध नियन्त्रण ब्युरोले अन्तर्राष्ट्रिय लागुऔषध गिरोहमा आबद्ध युगान्डाका दुई र भारतका एक महिलालाई पक्राउ गरेको हो । 

पक्राउ परेकामध्ये केभिना मुलागाले क्याप्सुल बनाई पेटभित्र राखेर एक केजी दुई सय ६० ग्राम कोकिन नेपाल ल्याएकी थिइन् । उनी इथियोपियाबाट कतार हुँदै नेपाल आएकी थिइन् । लागुऔषध नियन्त्रण ब्युरोको टोलीले उनलाई निगरानीमा राखी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलअगाडिबाट गत ३० वैशाखमा पक्राउ गरेको थियो । अस्पतालमा लगेर उपचार पद्धतिबाट उनको पेटमा रहेको कोकिनका क्याप्सुल निकालिएको लागुऔषध नियन्त्रण ब्युरोका प्रमुख एसएसपी गोविन्दप्रसाद थपलियाले बताए । उनीबाट करिब चार करोड रुपैयाँबराबरको कोकिन बरामद भएको छ ।  

एसएसपी गोविन्दप्रसाद थपलिया, प्रमुख, लागुऔषध नियन्त्रण ब्युरो
पक्राउ परेकामध्ये केभिना मुलागालाई अस्पताल लगेर उपचार पद्धतिबाट उनको पेटमा रहेको एक केजी दुई सय ६० ग्राम कोकिनका क्याप्सुल निकालिएको हो

त्यस्तै, बुधबार (२ जेठ) धोबीचौरको होटेलबाट पक्राउ परेकी लिलियनसँग एक केजी तीन सय ९४ ग्राम कोकिन बरामद भएको छ । स्निकर चकलेटको खोलभित्र लुकाएर उनले कोकिन तस्करी गरेकी थिइन् । उनले सो कोकिन भारतीय नागरिक दिवा पाललाई दिन लागेकी थिइन् । त्यही क्रममा पाललाई पनि प्रहरीले पक्राउ गरेको थियो । 

दुवैजनाबाट बरामद कोकिनको अवैध बजार मूल्य सात करोड ६ लाख रुपैयाँ भएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरूले एक नाइजेरियन नागरिकले केही खर्च दिएर आफूहरूलाई सो काममा लगाएको बताएका छन् । पक्राउ परेका तीनैजना एउटै गिरोहबाट परिचालित भएको प्रहरीको आशंका छ । 

दक्षिण अमेरिकी देशमा उत्पादन हुने कोकिन तस्करीमा नेपाल ट्रान्जिट हुँदै आएको छ । नेपालमा पक्राउ परे पनि धेरै सजाय नहुने र खुला सीमाका कारण भारत लैजान सहज हुने भएकाले यसरी ट्रान्जिट बन्दै आएको प्रहरी अधिकारी बताउँछन् । सो कोकिन भारत लैजान लागिएको थियो । भारतबाट अन्य देश लैजाने योजना हुन सक्ने ब्युरोका एसएसपी थपलिया बताउँछन् । विगतमा पनि यसरी नेपालमा ल्याइएको कोकिन प्रहरीले बरामद गर्दै आएको छ । 

अर्का कारोबारीलाई गोली हानेर पक्राउ 
सुनसरीमा प्रहरीले एक लागुऔषध कारोबारीलाई गोली हानेर नियन्त्रणमा लिएको छ । बिहीबार साँझ रामधुनी नगरपालिका– ६ मा लागुऔषध कारोबारी सप्तरीका रामसुन्दर यादवलाई पक्राउ गरेको हो ।

यादवको खुट्टामा गोली लागेको छ । उनीसँगै रहेका इटहरीका श्यामसुन्दर लामिछाने पनि पक्राउ परेका छन् । उनीहरूको साथबाट करिब दुई सय ग्राम खैरो हेरोइन बरामद भएको छ । दुवै लागुऔषधको डिलर भएको सूचनाका आधारमा प्रहरी टोली पक्राउ गर्न गएको थियो । यादव भाग्न खोजेपछि गोली चलाएर पक्राउ गरिएको प्रहरीले जनाएको छ । लागुऔषध नियन्त्रण ब्युरो, कोटेश्वरबाट सइ बालकृष्ण सञ्जेल नेतृत्वको टोलीले उनलाई नियन्त्रणमा लिएको हो । पछिल्लो दुई सातामा ब्युरोको टोलीले लागुऔषध कारोबारी पक्राउ गरी चार ठाउँमा गोली चलाएको छ ।