
एएफसीले औँल्याएका चार कमजोरी
दशरथ रंगशालाको मापदण्ड नपुगेपछि युएईविरुद्ध २४ जेठका लागि तय भएको फिफा विश्वकप २०२६ छनोटअन्तर्गतको ‘होम म्याच’ नेपालमा नहुने भएको छ । यसका लागि न्युट्रल भेन्यु खोज्न एसियाली फुटबल महासंघ (एएफसी)ले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई पत्राचार गरेको छ ।
‘एएफसीका प्रतिनिधिले २० र २१ वैशाखमा दशरथ रंगशालाको निरीक्षण गरेर गएका थिए । उनीहरूको प्रतिवेदन पछि दशरथ रंगशाला प्रतियोगिता गराउन योग्य नभएको पत्र एएफसीले एन्फालाई पठाएको छ ।,’ एन्फा महासचिव किरण राईले नयाँ पत्रिकासँग भने ।
एएफसीका प्रतिधिनिले मैदानको दुबो स्तरीय नभएको, माटो सतह नमिलेको, फ्लड लाइट र सुरक्षाको ग्यारेन्टी नभएको बताएका थिए । एएफसीले शनिबार (मे ११) सम्म यी कमजोरी सुधारेर प्रतियोगिता गर्न सक्ने आधार देखाउन एन्फालाई समयसीमा तोकेको थियो । रेखदेखको जिम्मेवारी पाएको राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले शुक्रबार नै सबै मापदण्ड पूरा भएको र अन्तर्राष्ट्रिय मान्यता दिन एन्फामार्फत एएफसीसँग अनुरोध गरेको थियो । तर, एएफसीले शनिबार नै एन्फालाई पत्र पठाउँदै खेल दशरथ रंगशालामा नहुने र न्युट्रल भेन्यु खोज्न पत्राचार गरेको हो ।
विश्वकप छनोटको दोस्रो चरणमा नेपालसहित युएई, यमन, बहराइन र नेपाल समूह ‘एच’मा छन् । नेपालले खेलेको चारमध्ये एक खेल मात्रै दशरथ रंगशालामा खेलेको छ । एक होम म्याच बहराइनमा खेलिँदा दुई खेल युएई र बहराइनमा नै भएका हुन् ।
पाँच महिनामै बिग्रियो मैदान
पाँच महिनाअघि दशरथ रंगशालामै विश्वकप छनोटअन्तर्गत यमनविरुद्धको खेल आयोजना भएको थियो । तर, ८ चैतमा दशरथ रंगशालामा हुनुपर्ने बहराइनविरुद्धको ‘होम म्याच’ नेपालले आयोजना गर्न सकेन । नेपालको मैदान स्तरीय नभएका कारण उक्त खेल बहराइनमै पुग्यो । एन्फा महासचिव राईले नेपालले साउदी अरेबियालाई न्युट्रल भेन्युका रूपमा प्रयोग गर्न प्रस्ताव गर्ने बताए । ‘हामी अब साउदीसँग कुरा गर्छाैँ,’ उनले भने ।
एन्फा र राखेपबीच द्वन्द्व
पछिल्ला दिनमा राखेपले खेलकुद विकास ऐन २०७७ दफा २८ (झ) व्यवस्थाअनुसार प्रतियोगितामा भाग लिन जाने खेलाडी, अफिसियल र पदाधिकारीको भ्रमण स्वीकृति लिन ताकेता गरेको थियो । जथाभावी पदाधिकारी भ्रमण रोक लगाएपछि एन्फा र राखेपबीच सुमधुर सम्बन्ध छैन । राखेपले मलेसिया र बहराइनमा असम्बन्धित व्यक्ति पुगेको भन्दै स्पष्टीकरण मागेको थियो । त्यसैगरी, इंग्ल्यान्ड जानबाट अध्यक्ष नेम्वाङ, उपाध्यक्ष दीपक खतिवडासहित २० जनालाई रोक लगाएको थियो ।
पूर्वअध्यक्षको आरोप, एन्फा नै नेपालमा खेल गराउने योजनामा थिएन
एन्फा पूर्वअध्यक्ष कर्माछिरिङ शेर्पाले वर्तमान नेतृत्वकै कारण अन्तर्राष्ट्रिय खेल आयोजनाको अवसर गुमेको बताए । ‘अन्तर्राष्ट्रिय मान्यता गुमाउने अवस्था वर्तमान एन्फाले नै सिर्जना गरेको हो । प्रतियोगिता आयोजनाको मिति पहिले नै टुंगो लागेको थियो । सोहीअनुसार राखेपसँग सहकार्य गरेर मैदानको मापदण्ड पूरा गर्न तयार हुनुपर्ने थियो । तर, एन्फाले यसमा ध्यान नै दिएन,’ शेर्पाले भने,‘एन्फा अध्यक्ष एएफसीको सदस्य हुनुहुन्छ । उहाँले चाहे युएईको खेल नेपालमै हुने थियो । तर, उहाँ सरकार र राखेपलाई दुःख दिने र खेल दशरथ रंगशालामा नगर्ने योजनामा हुनुहुन्थ्यो ।’ विदेशमा खेल आयोजना गराउँदा पदाधिकारीलाई घुमाउन पाइने भएकाले एन्फाले नेपालमा खेल गर्न नचाहेको आरोप पनि उनले लगाए ।