सल्यानमा १४ वर्षीया बालिका बलात्कार गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । बनगाड कुपिण्डे नगरपालिका– ९ जयतपानीका २८ वर्षीय वीरबहादुर डाँगी बालिका बलात्कार गरेको आरोपमा पक्राउ परेका हुन् ।
भान्जी नाता लगाएर विगत लामो समयदेखि पारिवारिक रूपमा उनी बालिकाको घर सल्यान त्रिवेणी गाउँपालिकामा आवतजावत गर्दै आइरहेका थिए । गत वैशाख १७ गते राति सामान किनी ल्याइदिएको छु भान्जी लिन आऊ भनी बोलाई पीडित बस्ने घरदेखि नजिकै रहेको जंंगलमा लगी ललाइफकाई जबर्जस्ती करणी गरी उनी फरार भएका थिए ।
बलात्कार गरेको कुरा कोही कसैलाई भने मारिदिने धम्कीसमेत डाँगीले दिएको पीडितले आफन्तलाई बताइन्। आफन्तले प्रहरीलाई जाहेरी दिएपछि फरार डाँगीलाई त्रिवेणी गाउँपालिका– ६ लुहाम बजारबाट पक्राउ गरी सल्यान जिल्ला अदालतबाट चार दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी भवानीप्रसाद धमलाले जानकारी दिए ।