१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
जोसेफ एस नाई
जुनियर
२o८१ जेठ ६ आइतबार १o:o८:oo
Read Time : > 2 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

अमेरिका–चीन सम्बन्ध सुधार अझै सम्भव

Read Time : > 2 मिनेट
जोसेफ एस नाई
जुनियर
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार १o:o८:oo

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनको हालैको बेइजिङ भ्रमणका क्रममा राष्ट्रपति सी जिनपिङसँग विवादास्पद विषयमा छलफल भएको छ । छलफलमा युक्रेन द्वन्द्वमा रुसलाई सहयोग नगर्न चेतावनी, साउथ चाइना सी र फिलिपिन्सतर्फ चीनको कारबाहीप्रति आपत्ति, ‘एक चीन’लाई लिएर भएको ताइवानमाथिको विवाद र व्यापार एवं प्रविधि नियन्त्रण समावेश थिए ।

बेइजिङ भ्रमणका क्रममा मैले चीन–अमेरिकी ‘ट्र्याक टु डाइलग’मा अध्यक्षका रूपमा भाग लिएको थिएँ । यो एक अनौपचारिक छलफल हो, जहाँ सरकारसँग जोडिएका नागरिक संलग्न हुन्छन् र यसले स्पष्ट छलफलका लागि एक मञ्च प्रदान गर्छ । यसपटक ‘एस्पेन स्ट्रेटेजी ग्रुप’ले बेइजिङको सेन्ट्रल पार्टी स्कुलको समूहसँग भेट गरेको थियो । यो एक दशकमा छैटौँ बैठक थियो । संवादका क्रममा अमेरिकीले ब्लिन्केनको अडान दोहोर्‍याए भने चिनियाँले आफ्नो ।

महाशक्ति प्रतिस्पर्धातर्फ अमेरिकी नीति परिवर्तन भएको अवस्थामा पनि सहकार्यका सम्भावित क्षेत्र खोज्नेतर्फ छलफल भएको थियो । फुटबलमा झैँ सहभागीले परिभाषित सीमाभित्र रहेर दुवै टोलीले कडा प्रतिस्पर्धा गर्ने सम्भावनामा जोड दिए । नतिजा हामीले सहयोगका लागि सात सम्भावित क्षेत्र तोकेका थियौँ ।

पहिचान गरिएका साझेदारीका प्राथमिक क्षेत्र जलवायु परिवर्तन थियो, जुन दुवैका लागि साझा खतरा थियो । चीनले अझै पनि कोइलाबाट चल्ने बिजुली प्लान्ट निर्माण गरिरहेको छ, तर यसले नवीकरणीय ऊर्जा स्रोत पनि बढाइरहेको छ । चीनले सन् २०६० सम्ममा कार्बन तटस्थता हासिल गर्ने लक्ष्य राखेको छ । यद्यपि हामीले यो लक्ष्य प्राप्त गर्न द्रुत समयरेखा र वैज्ञानिक प्रयोगको वकालत गरेका थियौँ ।

द्वन्द्वबाट टाढा रहनु र सम्भव भएसम्म सहयोगका अवसर खोज्नु अमेरिका र चीनका लागि पारस्परिक रूपमा लाभदायक छ
 

दोस्रो चासोको विषय विश्वव्यापी जनस्वास्थ्यमा केन्द्रित थियो । विज्ञले अर्को महामारी अपरिहार्य रूपमा आउने आकलन गरेका छन् । दुवै सरकारले कोभिड–१९ लाई व्यवस्थापन गर्न नसकेको आलोचना सामना गर्नुपरेको थियो ।व्यवस्थापनको कमीका कारण ठूलो मानवीय क्षति भएको थियो । दोषारोपणको सट्टा हामीले सन् २००३ मा सार्स प्रकोप र सन् २०१४ मा इबोला संकटका समयमा भविष्यका लागि ज्ञान–अनुभव बटुल्ने विगतको वैज्ञानिक सहयोगलाई अगाडि बढाउने प्रस्ताव राखेका थियौँ । 

आणविक हतियारका सन्दर्भमा चिनियाँले अन्तरमहादेशीय ब्यालिस्टिक मिसाइलको बढ्दो सफलता र पनडुब्बीको जोखिमबारेका चिन्ता उद्धृत गर्दै तीव्र आणविक विकासलाई जायज ठहर्‍याएका थिए । तिनले हतियार–नियन्त्रण सीमाको विरोधलाई दोहोर्‍याए र जबसम्म आफ्नो हतियार क्षमता अमेरिका र रुससँग मेल खाँदैन, तबसम्म हतियार विकास गर्ने जनाए । यद्यपि, चिनियाँ पक्ष आणविक सिद्धान्त, रणनीतिक स्थिरता, अप्रसार र उत्तर कोरिया एवं इरानजस्ता चुनौतीबारे छलफल गर्न तयार थियो । 

चौथो मुद्दा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सँग सम्बन्धित थियो । गत शरद याममा सनफ्रान्सिस्कोमा एआई सुरक्षामा छलफल सुरु गर्न राष्ट्रपति सी र राष्ट्रपति बाइडेनबीच सम्झौता भए पनि सम्बन्धित सरकारले थोरै मात्र काम गरेका छन् । हाम्रो समूहले निजी छलफलको आवश्यकतामा जोड दियो । विशेषतः एआईको सैन्य अनुप्रयोगका सन्दर्भमा छलफल भयो । 

आर्थिक मामिलामा दुवै पक्षले द्विपक्षीय व्यापारको पारस्परिक लाभलाई स्वीकार गरेका थिए । तर, चिनियाँले उन्नत सेमिकन्डक्टरमा अमेरिकी निर्यात नियन्त्रणबारे चासो व्यक्त गरेका थिए । अमेरिकाले सुरक्षाका आधारमा नियन्त्रणलाई पुष्टि गरे पनि चीनले यसलाई आफ्नो आर्थिक विस्तारमा अवरोध पुर्‍याएको ठान्छ । वास्तवमा चिप व्यापारमा यी नियन्त्रणको प्रभाव अपेक्षाकृत सीमित छ, जसलाई अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानको ‘सानो आँगनवरिपरि उच्च बार हाल्ने’ भनाइले पुष्टि गर्छ ।

चीनको आर्थिक वृद्धि सुस्त भए पनि यसले आन्तरिक उपभोग बढाउनुको सट्टा आफ्नो घरेलु चुनौती कम गर्न निर्यातमा भर परिरहेको छ । हामीले शताब्दीको सुरुमा भएको चिनियाँ वृद्धिपछि विश्वव्यापी परिदृश्य विकसित भएकामा जोड दियौँ ।

हानिकारक डिकपलिङ (व्यापारिक बहिष्कार) लाई समर्थन गर्नुको सट्टा हामीले आर्थिक मुद्दालाई तीन समूहमा वर्गीकरण गर्नुपर्छ भन्यौँ । सुरक्षा मामिलामा असहमति भए पनि सामान्य व्यापारले अन्तर्राष्ट्रिय नियमको पालना गर्नुपर्छ भन्नेमा सहमत थियौँ । भारी र अधिक क्षमताजस्ता मुद्दाका लागि हामीले विस्तारमा संवाद गर्ने सहमति गर्‍यौँ ।

हाम्रो अन्तिम चासोको विषय कोभिड प्रतिबन्ध र तनावग्रस्त राजनीतिक सम्बन्धबाट महत्वपूर्ण रूपमा प्रभावित जनस्तरको सम्बन्धमा केन्द्रित थियो । हाल एक हजारभन्दा कम अमेरिकी विद्यार्थी चीनमा अध्ययन गर्छन्, जबकि करिब दुई लाख ८९ हजार चिनियाँ अमेरिकी विश्वविद्यालयमा पढ्छन् । पत्रकारले चीनमा बढ्दो भिसा प्रतिबन्धको सामना गर्छन् र दुवै पक्षका प्राज्ञ र वैज्ञानिकले अध्यागमन अधिकारीबाट उच्चस्तरको छानबिनमा परेको अनुभव सुनाउँछन् । यी चुनौतीले आपसी समझदारी बढाउने प्रयासमा अवरोध पु¥याइरहेका छन् ।

अमेरिका र चीनबीचको महाशक्ति प्रतिद्वन्द्विताको वर्तमान युगको सन्दर्भमा यो शताब्दीको सुरुमा देखिएको साझेदारी रणनीति पुनरुत्थान हुने सम्भावना छैन । यद्यपि द्वन्द्वबाट टाढा रहनु र सम्भव भएसम्म सहयोगका अवसर खोज्नु दुवै राष्ट्रका लागि पारस्परिक रूपमा लाभदायक छ ।
(नाई, जुनियर हार्भर्ड केनेडी सेन्टरका प्राध्यापक एवं पूर्वअमेरिकी उपरक्षामन्त्री हुन्) प्रोजेक्ट सिन्डिकेटबाट 

ad
ad