१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
दीपक भट्ट रामेछाप
२o८१ जेठ ६ आइतबार १४:५४:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

डढेलोले पाइप जल्दा ४० परिवार खानेपानीबाट बन्चित

Read Time : < 1 मिनेट
दीपक भट्ट, रामेछाप
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार १४:५४:oo

जंगलमा लागेको डढेलोले खानेपानीको पाइप जल्दा मन्थली नगरपालिका– १ दाहालगाउँ र नालामी टोलका ४० घरपरिवार खानेपानीबाट बन्चित भएका छन्। 

शनिबार साँझ मन्थली नगरपालिका– १ खोक सामुदायिक वनमा लागेको डढेलोसँगै दाहालगाउँ र नालामी टोलमा वितरण गरिएको खानेपानीको पोलिथिन पाइप आगोले पूर्ण रूपमा जलेपछि दुई दिनदेखि त्यस गाउँमा खानेपानीको अभाव भएको हो।

आगलागीमा परी उपभोक्ताले खरिद गरी आ–आफ्नो घरमा लगेको पाइप लाइन पूर्ण रूपमा जलेको छ। 

सोही आगलागीमा परी मन्थली सामुदायिक खानेपानी उपभोक्ता सरसफाइ समितिले आर्मी क्याम्पनजिकैको रिजर्भ ट्यांकीबाट गिद्ध बस्ने बर्राको रुखछेउमा निर्माण गरेको रिजर्भ ट्यांकीसम्म लगेको मेन लाइनको पोलिथिन पाइपसमेत आगलागीमा परी ठाउँठाउँमा जलेको छ।
 
एकातिर मेन लाइनकै पाइप आगलागीमा परी जलेको र अर्कोतर्फ रिजर्भ ट्यांकीबाट उपभोक्ताको घरसम्म लगेको पोलिथिन पाइप सबै जलेपछि खानेपानी वितरणमा समस्या भएको मन्थली सामुदायिक खानेपानी उपभोक्ता सरसफाइ समितिका व्यवस्थापक जगदीश सुवेदीले जानकारी दिए। 

उनले भने, ‘आगलागीले पोलिथिन पाइपलाइन पूर्ण रूपमा नष्ट भएको छ। उपभोक्तालाई पानी वितरण गर्नका लागि समितिले पाइप खोजी रिजर्भ ट्यांकीसम्म पानी लैजानका लागि काम भइरहेको छ। समितिमा पाइप स्टक नभएका कारण समस्या छ। हामीले अहिले तत्काल अस्थायी रूपमा पुरानो पाइप जोडेर भए तापनि उपभोक्तालाई पानी खुवाउने तयारी गरेका छौँ।’

सम्भवतः भोलि बेलुकासम्म पानी वितरण गर्ने गरी कामलाई तीव्रता दिएको व्यवस्थापक सुवेदीले बताए। भूकम्पपछि दाहालगाउँमा रहेको पँधेरा कुवाको पानी सुकेपछि दाहालगाउँका नागरिक खानेपानीवाट बन्चित भएका थिए।

पछि मन्थली सामुदायिक खानेपानी उपभोक्ता समितिले उक्त गाउँमा खानेपानी पुर्‍याएपछि त्यहाँका उपभोक्ताहरूलाई राहत पुगेको थियो। 

अहिले जंगलमा लागेको आगलागीले गर्दा खानेपानीको पाइप जल्दा गाउँमा खानेपानीको हाहाकार भएको मन्थली नगरपालिका– १ दाहालगाउँका हरिराम भुजेलले बताए।

ad
ad