१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
२o८१ जेठ ५ शनिबार o९:३४:oo
Read Time : > 3 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

सेयर बजारबाट ३.७९ अर्ब राजस्व

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार o९:३४:oo

नेप्से तल्लो विन्दुमै रहे पनि कारोबार रकम र किनबेच संख्या बढेकाले सरकारले प्राप्त गर्ने राजस्वमा वृद्धि

स्टक मार्केटमा भएको सेयर किनबेचबाट सरकारले चालू आव ०८०/८१ को चैत मसान्तसम्म तीन अर्ब ७९ करोड दुई लाख ९८ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । जुन अघिल्लो आव ०७९/८० को सोही अवधिको तुलनामा ९७ प्रतिशत बढी हो । 

नौ महिना अवधिमा नेप्से परिसूचक तल्लो विन्दुमै रहे पनि कारोबार रकम र किनबेच संख्या बढेकाले सरकारले प्राप्त गर्ने राजस्व वृद्धि भएको सिडिएस एन्ड क्लियरिङ लिमिटेडले जनाएको छ । लगानीकर्ताले सेयर किनेको एक वर्षपछि बिक्री गर्दा हुने खुद नाफामा ५ प्रतिशत र प्रत्येकपटक सेयर बिक्री गर्दा (नाफा भएको अवस्थामा) पुँजीगत लाभकर ७.५ प्रतिशत तिर्नुपर्ने व्यवस्था छ ।

गत वर्षभन्दा पुँजीगत लाभकर बढेको छ : सुरेश न्यौपाने, प्रवक्ता, सिडिएससी
गत आवको तुलनामा सेयर बजारमा केही सुधार आउँदा पुँजीगत लाभकर संकलन बढेको छ । परिसूचक र कारोबार रकम पनि बढेको छ । त्यसमाथि यो वर्ष आइपिओ आपूर्ति पनि उच्च छ ।
 

सिडिएसका प्रवक्ता सुरेश न्यौपानेले गत आवको तुलनामा सेयर बजारमा केही सुधार आउँदा पुँजीगत लाभकर संकलन बढेको बताए । ‘गत आवको तुलनामा परिसूचक र कारोबार रकम बढेको छ । त्यसमाथि यो वर्ष आइपिओ आपूर्ति पनि उच्च छ,’ उनले भने ।

स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष धर्मराज सापकोटाले कारोबार रकम बढ्दा पुँजीगत लाभकर बढेको बताए । ‘इन्डेक्स त त्यति बढेको छैन । तर, गत आवको तुलनामा सेयर कारोबार संख्या र रकम भने बढेको देखिन्छ । त्यसमा अधिकांश लगानीकर्ताले नाफा कमाएका हुन सक्छन्,’ उनले भने, ‘किनकि, सेयर बजार बुझेका लगानीकर्ताले इन्डेक्स घट्दा पनि नाफा कमाउन सक्छन् ।’

सरकारले प्राप्त गर्ने राजस्व वृद्धि भएको तथ्यांकले लगानीकर्ताले सेयर कारोबारमा नाफा कमाइरहेको पुष्टि भएको उनको भनाइ छ । सिडिएसका अनुसार गत आव ०७९/८० मा भने कुल दुई अर्ब ९७ करोड पाँच लाख ८९ हजार रुपैयाँ कर उठेको थियो । समीक्षा अवधि (गत आवको नौ महिना)मा भने एक अर्ब ९२ करोड ६५ लाख २७ हजार रुपैयाँ कर संकलन भएको थियो ।

अर्बौँको आइपिओ आउँदा राजस्वमा वृद्धि
नियामक निकाय धितोपत्र बोर्डले पुसयता आइपिओ स्वीकृत गरेको छैन । तर, त्यसअघि ठूला रकमका आइपिओ निष्कासन भएका थिए । हिमालयन रि–इन्स्योरेन्स कम्पनीले ६ अर्ब १८ करोड रुपैयाँको सेयर निष्कासन गरेको थियो । कम्पनीले १०६ रुपैयाँ प्रिमियमसहित प्रतिकित्ता २०६ रुपैयाँमा तीन करोड कित्ता आइपिओ निष्कासन गरेको थियो ।

त्यस्तै, सोनापुर  मिनिरल्स एन्ड आयलले प्रिमियम मूल्यमा एक अर्ब ६६ करोड ६१ लाख रुपैयाँको आइपिओ ल्याएको थियो । सर्वाेत्तम सिमेन्टले एक अर्ब २९ करोड ९२ लाख ४० हजार रुपैयाँबराबरको २४ लाख कित्ता सेयर प्रिमियम नै जारी गरेको थियो । त्यसैगरी, भिजन लुम्बिनी ऊर्जा कम्पनीको ३८ करोड २५ लाखको र मुक्तिनाथ कृषि कम्पनीको १४ करोडको आइपिओ जारी भएको थियो ।

यो वर्ष यस्ता ठूला आइपिओ निष्कासन भएको र लगानीकर्ताले राम्रो नाफा पनि कमाएको, सरकारी राजस्वसमेत वृद्धि भएको सिडिएस एन्ड क्लियरिङ लिमिटेडका प्रवक्ता सुरेश न्यौपानेले बताए । 

१८ देखि ३० वर्षका उमेर समूह सेयर बजारमा सबैभन्दा बढी सक्रिय
सिडिएस एन्ड क्लियरिङ लिमिटेडको पछिल्लो तथ्यांकअनुसार १८ वर्षदेखि ३० वर्ष उमेर समूह सबैभन्दा धेरै सेयर बजारमा आबद्ध छन् ।

उक्त उमेर समूहको हितग्राही खाता (डिम्याट खाता) खोल्नेको संख्या १८ लाख ८३ हजार पाँच सय ९५ रहेको छ । त्यस्तै, १८ वर्षभन्दा कम उमेर रहेकाको नाममा सात लाख ६३ हजार ५० वटा डिम्याट खाता रहेका छन् ।

३१ वर्षदेखि ४० वर्ष उमेर समूहको संख्या १३ लाख ९० हजार, ४१ वर्षदेखि ६० वर्षको उमेर समूहको डिम्याट १५ लाख ३७ हजार दुई सय ५८ र ६१ वर्षदेखि ७० वर्ष उमेर समूहको डिम्याट खाता तीन लाख १५ हजारवटा रहेको छ । ७० वर्षभन्दा बढी उमेरको डिम्याट खाता खोल्नेको संख्या एक लाख ६० हजार रहेको छ । 

चार वर्षअघि आव ०७७/७८ मा उठेको थियो सबैभन्दा धेरै १४ अर्ब राजस्व 

सेयर बजारको कारोबार नियाल्दै लगानीकर्ता । फाइल तस्बिर/नयाँ पत्रिका

२ भदौ ०७८ मा नेप्से परिसूचक ३१९८ विन्दुमा पुग्दा २१ अर्ब ३१ करोडको सेयर कारोबार भई हालसम्मकै उच्च रेकर्ड कायम

सेयर कारोबारबाट सबैभन्दा धेरै कर आर्थिक वर्ष ०७७/७८ मा १४ अर्ब १३ करोड ६१ लाख ५३ हजार रुपैयाँ उठेको थियो । त्यस्तै, ०७८/७९ मा १० अर्ब ३५ करोड ३० लाख ५९ हजार रुपैयाँ पुँजीगत लाभकर उठेको थियो । उक्त समयमा सेयर बजार बुलिस ट्रेन्ड (बढ्दो क्रम)मा थियो । 

२ भदौ ०७८ मा नेप्से परिसूचक ३१९८ विन्दुमा पुगेको थियो । त्यतिवेला एकै दिन २१ अर्ब ३१ करोड रुपैयाँसम्मको   सेयर कारोबार भएको थियो । जसकारण पुँजीगत लाभकर बढेको थियो । सामान्यतः सूचक बढ्दा लगानीकर्ताले नाफा बढाउने र लाभकरसमेत बढ्ने गर्छ ।

तर, गत आवमा नेपाली सेयर बजार घट्दो क्रममा थियो । त्यसले गर्दा यस्तो कर दुई अर्ब ९७ करोडमा सीमित भएको थियो । चालू आवमा नेप्से परिसूचक त्यति बढ्न सकेको छैन । तर, कारोबार रकम बढ्दा पुँजीगत लाभकर बढेको ब्रोकर कम्पनीहरू बताउँछन् ।

अहिले (बिहीबार) नेपाली सेयर बजार १९९८.९६ विन्दुमा रहेको छ । पहिला ३१९८ विन्दुसम्म पुगेको सेयर बजार पछिल्लो समय दुई हजार विन्दुवरिपरि घुमेको छ । कहिले १८ सय विन्दुमा झर्ने गरेको छ भने कहिले २२ सय विन्दुसम्म पुग्ने गरेको छ । 
 

ad
ad