नेपाल र वेस्ट इन्डिज ‘ए’बीचको टी–२० सिरिजको अन्तिम खेल आज मध्याह्न कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुँदै छ । पाँच खेलको शृंखलामा एक खेल बाँकी हुँदा नै वेस्ट इन्डिजले शृंखलालाई आफ्नो पक्षमा पारिसकेको छ ।
नेपालसँगको चौथो खेलमा २८ रनको जित निकाल्दा वेस्ट इन्डिज ‘ए’ले शृंखला आफ्नो पक्षमा पारेको हो । चार खेल सकिँदा वेस्ट इन्डिजले तीन र नेपालले एक खेल जितेको छ । शृंखलाको पहिलो खेलमा नेपाल चार विकेटले विजयी हुँदा दोस्रो खेलमा १० रन र तेस्रो खेलमा ७६ रनले पराजित भएको थियो ।
गत बिहीबारको खेलमा वेस्ट इन्डिजले प्रस्तुत गरेको २१० रनको लक्ष्य पछ्याउने क्रममा नेपालले निर्धारित २० ओभर खेले पनि १८१ रनमात्र बनाउन सकेको थियो । यो जितसँगै वेस्ट इन्डिजले ३–१ को अग्रतासहित शृंखला सुनिश्चित गरेको हो ।