१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
२o८१ जेठ ५ शनिबार o७:३८:oo
Read Time : > 2 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

जापानी विदेशमन्त्री भोलि नेपाल आउँदै

विज्ञ भन्छन् : नेपालका लागि भूराजनीतिक महत्वको भ्रमण परराष्ट्रमन्त्री श्रेष्ठसँग द्धिपक्षीय वार्ता, राष्ट्रपति र प्रधानमन्त्रीसँग शिष्टाचार भेट

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार o७:३८:oo

जापानका विदेशमन्त्री योको कामीकावा एक दिनका लागि आइतवार नेपाल भ्रमणमा आउने भएकी छन् । उनी दक्षीण एशियामा श्रीलंका र नेपाल भ्रमण गर्न लागेकी छन् । विज्ञहरुले उनको भ्रमण परिवर्तित वैश्विक परिस्थितिमा महत्वपूर्ण भएको भन्दै सुझबुझपूर्ण तयारी गर्न सरकारलाई सुझाब दिएका छन् । 

परराष्ट्र मन्त्रालयले शुक्रवार जापानी विदेशमन्त्रीको भ्रमण सार्वजनिक गरेको छ । जापानी विदेशमन्त्री  माडागास्कार, आइभोरिकोष्ट, नाइजेरिया र फ्रान्स हुँदै श्रीलंकापछि नेपाल आउने कार्यक्रम  छ । ‘जापानका विदेशमन्त्री एक दिनका आउनु हुने छ । जापानबाट हुने उच्चस्तरीय भ्रमणलाई नेपाल सरकारले महत्वसाथ तयारी गरिरहेको छ’ परराष्ट्र मन्त्रालयका प्रबक्ता अमृतबहादुर राईले नयाँ पत्रिकासँग भने । राईका अनुसार उनले उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठसँग द्धिपक्षीय औपचारिक वार्ता गर्ने कार्यक्रम छ । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग शिष्टाचार भेट गरेर उनी साँझ स्वदेश फर्किने कार्यक्रम छ । 

नेपाल र जापानबीच ६८ बर्षअघि (२०१३ भदौ १७ गते) औपचारिक कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । नेपालले जापानमा सन् १९६५ मा र जापानले नेपालमा सन्१९६७ मा राजदुताबास स्थापना गरेका थिए । परराष्ट्र मन्त्रालयका अनुसार पाँचबर्षअघि जापानका परराष्ट्रमन्त्री तारो कोनोले नेपाल भ्रमण गरेका थिए । त्यसपछि उच्चस्तरमा पहिलोपटक यो भ्रमण हुन लागेको हो ।जापानका लागि पूर्व राजदूत डा मदनकुमार भट्टराईका अनुसार जापानबाट अहिलेसम्म तीनजना बिदेशमन्त्रीले नेपाल भ्रमण गरिसकेका छन् भने कामीकावा चौथा हुन् । सन् १९७७मा इचिरो हातोयामा, सन् २०१२ मा कोइचिरो गेम्बा र सन् २०१९ मा तारो कोनोले बिदेशमन्त्रीको हैसियतमा नेपाल भ्रमण गरिसकेका छन् । 

पूर्व राजदूत भट्टराईले परिवर्तित विश्व परिवेशमा नेपालले जापानसँग सम्बन्धलाई नयाँ दिशामा लैजान प्रयास गर्नुपर्ने बताए। जापानसँग कृषि, शिक्षा, स्वास्थ्य क्षेत्र, पर्यापर्यटन, टनेल इन्जिनियरिङ् जस्ता बिषयमा सहकार्यका लागि नेपालले प्रयास गर्नुपर्ने उनको भनाई छ । ‘नेपालबाट जापानमा फापर, अदुवा, बेसारको निर्यात गर्ने सम्भावना प्रबल छ, जापानसँग सातै प्रदेशमा श्रमिकहरुका लागि दक्षता तालिम केन्द्रहरु, शिक्षण अस्पतालहरु स्थापनाका लागि आग्रह गर्नु उपयुक्त हुन्छ’ भट्टराईले भने । 

पूर्व राजदूत हिरण्यलाल श्रेष्ठले भने निस्कृय बस्ने नीतिबाट जापानले विश्वमञ्चमा सक्रियता देखाउन थालेको परिप्रेक्ष्यमा जापानका विदेशमन्त्री आउन लागेको टिप्पणि गरे । ‘जापानले नेपालसँग समबन्ध बहुआयामिकरुपमा विस्तार गर्न खोजेको देखिन्छ, यसका लागि समझदारी बढाउन, नेपालको सम्बृद्धिका लागि हात अघि बढाउने अबसरका रुपमा नेपालले यो भ्रमणका सदुपयोग गर्नुपर्छ’ श्रेष्ठले भने । 

त्रिभुवन विश्वविद्यालयका रेक्टर एवं जापानबारे जानकार प्राध्यापक डा खड्ग केसीले विश्व शक्ति सम्बन्धमा आएको बदलाबका यो भ्रमणलाई हेर्नुपर्ने बताए । ‘भूराजनीतिकरुपमा बदलिएको विश्व शक्ति सम्बन्धको बदलाबको एउटा पाटो नेपाल पनि भएको अर्थमा पुरानो मित्र नेपालसँग फरक ढंगले जापानले सम्बन्ध प्रबद्र्धन गर्न खोजेको देखिन्छ’ केसीले भने, ‘यो उच्चस्तरीय भ्रमणलाई भौतिक उपलब्धी के हुने भन्ने अर्थमा हेर्नु हुँदैन । सद्भावना भ्रमणका लिनुपर्छ ।’ जापानसँग सम्बन्धको पुनःताजकीकरणका लागि नेपालले उपयुक्त गृहकार्य गर्नुपर्ने बताए । ‘हाम्रा परराष्ट्रमन्त्रीले जापानसँग सहकार्य अघि बढाउने प्रयासका रुपमा भ्रमण हुन लागेको अर्थमा मैले बुझेको छु’ केसीले भने । 

त्रिविको चिन्तन संस्थान नेपाल तथा एशियाली अनुसन्धान केन्द्र (सिनास)का कार्यकारी निर्देशक डा मृगेन्द्रबहादुर कार्कीले बदलिँदो वैश्विक परिस्थितिमा जापानले आफ्नो प्रभाव विस्तार गर्न खोजेको र नेपालले जापानसँग सहकार्यमा जोड दिनुपर्ने सुझाब दिए । ‘नेपाल जापान सम्बन्ध पुरानो र हार्दिक छ । अन्तराष्ट्रिय क्षेत्रमा अरुको प्रभाव बढेसँगै जापान पनि आफ्नो अस्तित्व विस्तारको प्रयासमा रहेका कारण सैन्य शक्ति विस्तारमा पनि लागेको देखिन्छ’ कार्कीले भने, ‘विश्वको चौथो ठूलो अर्थतन्त्र रहेको जापान हाम्रो महत्वपूर्ण विकास साझेदार हो । नेपालले जापानसँग सहकार्यको क्षेत्र विस्तार गर्न परिपक्व गृहकार्य गर्नुपर्छ ।’ 

परराष्ट्र मन्त्रालयका अनुसार उपप्रधानमन्त्री श्रेष्ठसँग औपचारिक वार्तामा नेपाल जापान सम्बन्धका सबै पक्षबारे पुनरावलोकन हुनेछ । ‘द्धिपक्षीय सहयोग र सहकार्यका बिषयमा छलफल हुन्छ । अन्तराष्ट्रिय मञ्चमा पनि सहयोग आदनप्रदानबारे कुराकानी हुनेछ’ परराष्ट्र प्रबक्ता राईले भने, ‘जापान हाम्रो विश्वासिलो विकास साझेदार र मित्र हो । दुई बर्षपछि अति कम विकसित अवस्थाबाट विकासशील मुलुकमा स्तरोन्नति हुने क्रममा हामीलाई अनुदान र ऋण सहयोग निरन्तर रहोस् भन्ने अपेक्षा अरुसँग जस्तै जापानसँग पनि राख्नेछौँ।’

ad
ad