![](https://nayapatrika.blr1.cdn.digitaloceanspaces.com/news/images/Bagmati2024-04-29-03-52-16.jpeg)
बागमती प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले सर्वदलीय बैठक आह्वान गरेका छन्। बैठक यही २१ गते शुक्रबारका लागि सर्वदलीय बैठक आह्वान गरिएको प्रदेश सभा सचिवालयले जानकारी दिएको छ।
दिनको १ बजे बस्ने गरी बोलाइएको बैठकमा संसदीय समितिको सभापतिको निर्वाचन, बजेट अधिवेशनलगायतका विषयमा छलफल हुने बताइएको छ।
प्रदेश सभाको दोस्रो कार्यकाल सुरु भएको लामो समय बितिसक्दा पनि अहिलेसम्म संसदीय समितिहरूले सभापति पाउन सकेका छैनन्। प्रदेश सभामा रहेका पाँचवटा समितिहरू अहिलेसम्म ज्येष्ठ सदस्यको भरमा चलिरहेका छन्।
पटक–पटक सत्तासमीकरण परिवर्तन भइरहने र दलहरूबीचको भागबन्डा मिल्न नसक्दा संसदीय समितिको सभापति चयन हुन सकेको छैन भने संसदीय समितिहरूले पनि प्रभावकारी तवरले भूमिका निर्वाह गर्न सकेका छैनन्।
यसअघि पनि पटक–पटक सर्वदलीय बैठक बसेर संसदीय समितिको सभापति चयन गर्ने विषयमा सहमति जुटाउने प्रयास असफल हुँदै आएको छ।