१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार १o:१३:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व प्रिन्ट संस्करण

विधेयकले टिकटकमाथि पनि प्रतिबन्ध लगाउँदै छ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १o:१३:oo

मंगलबार अमेरिकी सिनेटले अनुमोदन गरेको ९५ अर्ब डलरको विदेशी सहायता प्याकेजमा टिकटकको स्वामित्वको विषय पनि समेटिएको छ  । लोकप्रिय सामाजिक सञ्जाल एप टिकटकलाई उसको चिनियाँ अभिभावक कम्पनी बाइटडान्सबाट अलग गर्नुपर्ने अन्यथा अमेरिकी बजारबाट बन्द गर्नुपर्ने विधेयकमा व्यवस्था छ ।

युक्रेन, इजरायल र ताइवानलाई सैन्य सहायता दिन ल्याइएको यो विधेयक यसअघि नै तल्लो सदनबाट पारित भएको थियो । अब यो प्रमाणीकरणका लागि जो बाइडेनको डेस्कमा पुगेको छ । अमेरिका र अन्य पश्चिमी अधिकारीले युवामाझ टिकटकको लोकप्रियताप्रति चिन्ता व्यक्त गर्दै यसले बेइजिङलाई डाटा प्रदान गर्ने र प्रयोगकर्तामाथि जासुसी गर्ने आरोप लगाउँदै आएका छन् । 

अमेरिकामा टिकटकका १७ करोड प्रयोगकर्ता छन् । आलोचकहरूले टिकटकको माउ कम्पनी बेइजिङको अधीनमा रहेको र यो गलत प्रचारको माध्यम भएको बताएका छन् । चीन र बाइटडान्सले भने ती आरोप खण्डन गर्दै आएका छन् । कुनै विदेशी कम्पनीलाई अमेरिकी बजारमा सञ्चालन हुनबाट रोक लगाउने दुर्लभ कदम चाल्न सक्ने उक्त विधेयक प्रतिनिधिसभाबाट पारित भएको तीन दिनपछि सिनेटबाट पारित भएको छ ।

विधेयकको पक्षमा ७९ र विपक्षमा १८ सिनेटर उभिएका थिए । राष्ट्रपति बाइडेनले छिटै यस विधेयकमा हस्ताक्षर गर्ने बताएका छन् । टिकटकले भने अमेरिकी कानुन विधायकहरूले १७ करोड अमेरिकीको स्वतन्त्र अभिव्यक्तिलाई कुल्चिने प्रयास गरेको गुनासो गरेका छन् । टिकटक प्रतिबन्धले यसमार्फत व्यवसाय गर्दै आएका ७० लाख व्यवसायी प्रभावित हुनेछन् । अमेरिकी अर्थतन्त्रमा वार्षिक २४ अर्ब डलरको योगदान गर्ने प्लेटफर्म बन्द गर्ने प्रयास ‘दुर्भाग्यपूर्ण’ भएको कम्पनीले टिप्पणी गरेको छ । 

ad
ad