१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
२o८१ बैशाख २३ आइतबार o८:४८:oo
Read Time : > 2 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

सुदूरपश्चिम सरकारको अंकगणित जोडिएको बझाङ उपनिर्वाचन

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार o८:४८:oo

बझाङ (१) को उपनिर्वाचन प्रदेश सभाको अंक मात्र होइन, सुदूरपश्चिम सरकारको अंकगणितसँग पनि जोडिएको छ । तत्कालीन कानुनमन्त्री पृथ्वीबहादुर सिंहको गत असारमा सवारी दुर्घटनामा निधन भएपछि ५३ सदस्यीय प्रदेश सभामा कांग्रेसको एक सिट गुमेको थियो । अहिले गठबन्धन फेरिएको र सात सिटसहित निर्णायक रहेको नागरिक उन्मुक्ति दुईतिर विभाजन (औपचारिक होइन) भएका वेला कांग्रेस, एमाले, माओवादी र एकीकृत समाजवादी प्रदेश सभामा आफ्नो एक सिट थप्न चाहन्छन् । 

सरकारका लागि २७ सिट आवश्यक पर्छ । यदि कांग्रेसले जितेमा ऊसँग १९ सिट हुनेछ, नाउपाका सातमध्ये पाँच कांग्रेसतिर खुलिरहेका छन् । चार सिट रहेको एकीकृत समाजवादीले मुख्यमन्त्री पाए पनि अध्यक्ष माधवकुमार नेपालले गठबन्धनप्रति नै असन्तुष्टि जनाइरहेका छन् । यो अवस्थामा गठबन्धन फेरबदल भएमा कांग्रेसलाई सहज हुनेछ ।

सभामुखसहित ११ सिट रहेको माओवादी र १० सिट रहेको एमालेका लागि पनि बझाङको जितले संख्या बढाउन मद्दत गर्नेछ । एमाले पोलिटब्युरो सदस्य एवं सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री राजेन्द्र रावल पनि बझाङ निर्वाचनसँग सुदूरपश्चिम सरकारको भविष्य पनि जोडिएको बताउँछन् । ‘अहिले सरकारलाई समर्थन मात्र दिएका छौँ,’ रावलले भने, ‘सुदूरपश्चिम सरकारको स्थिरताका लागि एमाले उम्मेदवारका पक्षमा पनि वाम दलसँग छलफल भइरहेको छ ।’

इलाममा एमालेले सुवासका छोरालाई उम्मेदवार बनाएझैँ बझाङमा कांग्रेसले पनि पृथ्वीबहादुरका छोरा अभिषेकलाई अघि सारेको छ । कांग्रेस आफ्नो बिरासत जोगाउने दाउमा छ । उसले पाँच दिनदेखि केन्द्रीय सदस्य एनपी साउदको नेतृत्वमा चुनावी अभियान जारी राखेको छ । साउदले हरेक पालिकामा केन्द्रीय स्तरका नेतालाई परिचालन गरेको र नतिजा आफूहरूको पक्षमा आउने बताए ।

एमालेबाट बझाङ अध्यक्ष दमनबहादुर भण्डारी उम्मेदवार हुन् । सांगठनिक हिसाबले यस क्षेत्रमा बलियो ठानिएको एमालेलाई ०७९ को निर्वाचनमा माओवादी–कांग्रेस–समाजवादी गठबन्धनले पराजित गरेको थियो । तर, यसपटक गठबन्धन फेरिएको र ठूला दलका छुट्टाछुट्टै उम्मेदवार रहेकाले डेढ वर्षअघिको पराजयको बदला लिने दाउमा एमाले छ ।

माओवादीले जनक बुढा र समाजवादीले दिलबहादुर सिंहलाई उम्मेदवार बनाएका छन् । माओवादीले ०७० को संविधानसभा निर्वाचनमा आफ्नो उम्मेदवारी दिए पनि त्यसयता भने गठबन्धनका कारण आफ्नो उम्मेदवार उठाएको थिएन । माओवादीका मतदाताले ०७४ मा एमाले र ०७९ मा कांग्रेसलाई मतदान गरेका थिए । 

गत निर्वाचनमा कांग्रेस, माओवादी र एकीकृत समाजवादी गठबन्धनबाट उम्मेदवार रहेका सिंह १७ हजार ११२ मत प्राप्त गरी विजयी भएका थिए । उनका प्रतिस्पर्धी एमालेका अफीलाल ओखेडाले १३ हजार ३७६ मत पाएका थिए । 

एमाले र कांग्रेसका केन्द्रीय नेता गाउँमा
कांग्रेसबाट नेता एनपी साउदको नेतृत्वमा केन्द्रीय सदस्य रणबहादुर रावल, पुर्वमन्त्री सुरेश मल्ल, नरेशबहादुर सिंह, सत्यराज भण्डारी तथा नेता बद्री पाण्डे, चन्द्रादेवी जोशी, नृप वड, नन्दकृष्ण जोशीसहितलाई बझाङमा खटाएको छ । उनीहरू गाउँ–गाउँमा खटिएका छन् । साउदले यसअघि भारी मतले जितिएको सिट भएकाले आफूहरू जित्ने दाबी गरे । दुर्घटनामा निधन भएका नेता सिंहको योगदानको जनताले मूल्यांकन गर्ने बताउँदै उनले भने, ‘उहाँका अधुरा सपना पूरा गर्न उहाँकै छोरा उठाएका छौँ ।’ 

एमालेले नेता राजेन्द्र रावलको नेतृत्वमा भैरवबहादुर सिंह, आशा विक, ऐन महर, सुरेन्द्र पाल तथा प्रदेश अध्यक्ष, सचिवलगायत नेतालाई खटाएको छ । एमाले नेता रावलले वर्तमान गठबन्धनमा रहेका दल चुनावी मैदानमा भए पनि अन्ततः एमाले नै जित्ने वातावरण बनेको बताए । 

माओवादीबाट नेताहरू विना मगर, खगराज भट्टलगायत बझाङमा छन् भने एकीकृत समाजवादीका नेता तथा मन्त्री भानुभक्त जोशी चुनावी अभियानमा छन् । त्यस्तै, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, रवीन्द्र मिश्र बझाङ पुगेर फर्किएका छन् ।

एमाले उम्मेदवारलाई पितृशोक 
एमाले उम्मेदवार दमनबहादुर भण्डारीलाई पितृशोक परेको छ । भण्डारीका बुबा चक्रबहादुर भण्डारीको ८८ वर्षको उमेरमा मंगलबार बिहान निधन भएको हो । उपनिर्वाचनको चुनावी प्रचारका क्रममा रहेका वेला उम्मेदवार भण्डारीका बुबाको निधन भएपछि एक दिनलाई प्रचारप्रसार स्थगित गरिएको एमाले बझाङ जिल्ला इन्चार्ज राजेन्द्र रावलले बताए । मृतक भण्डारी दुई हप्तादेखि बिरामी रहेका थिए । 

ad
ad