एक दिनलाई चुनाव प्रचारप्रसार स्थगित
बझाङ प्रदेश सभा क्षेत्र नम्बर १ को उपनिर्वाचनका उम्मेदवार दमनबहादुर भण्डारीलाई पितृशोक परेको छ। एमालेका उम्मेदवार भण्डारीका बुबा चक्रबहादुर भण्डारीको ८८ वर्षको उमेरमा मंगलबार बिहान निधन भएको हो ।
उपनिर्वाचनको चुनावी प्रचारका क्रममा रहेका वेला उम्मेदवार भण्डारीका बुबाको निधन भएपछि एक दिनलाई प्रचारप्रसार स्थगित गरिएको एमालेका बझाङ जिल्ला इन्चार्ज राजेन्द्र रावलले जानकारी दिए । मृतक भण्डारी दुई हप्तादेखि बिरामी परेका थिए।
छबिस पाथीभेरा गाउँपालिका- १, भण्डारीगाउँनिवासी उनको बुधबार बिहान अन्तिम संस्कार गरिने आफन्तजनले बताएका छन्। अन्तिम संस्कारपछि बुधबारदेखि नै चुनावी अभियानलाई निरन्तरता दिइने इन्चार्ज रावलले जानकारी दिए।
गत निर्वाचनमा बझाङ १ बाट निर्वाचित पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा मृत्यु भएपछि यही वैशाख १५ गते उपनिर्वाचन हुँदै छ।