Skip This
ad
रुवान्डा नरसंहार र कागामे शासनका ३० वर्ष
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
डेक्लान वाल्स
२o८१ बैशाख २६ बुधबार o७:४९:oo
Read Time : > 5 मिनेट
ad
ad
विश्व प्रिन्ट संस्करण

रुवान्डा नरसंहार र कागामे शासनका ३० वर्ष

Read Time : > 5 मिनेट
डेक्लान वाल्स
नयाँ पत्रिका
२o८१ बैशाख २६ बुधबार o७:४९:oo

सन् १९९४ अप्रिलमा जातीय नरसंहार भोगिरहेको रुवान्डाका राजधानी किगालीका सडक रगतमा लतपतिएको देखिन्थ्यो । खुँडाजस्ता हतियार बोकेका अर्धसैनिक फौजले चलाएको नरसंहारमा आठ लाखसम्म मानिस मारिएका थिए, जुन २०औँ शताब्दीको उत्तराद्र्धको सबैभन्दा भयानक घटनामध्ये एकमा गणना हुन्छ । तीस वर्षपछि अहिले किगाली अफ्रिकाको ईष्र्या गर्ने ठाउँमा बदलिएको छ ।

चिल्ला सडक र चम्किला भवनयुक्त यस सहरमा ठूला बैंक, विशाल होटेल र प्राविधिक स्टार्टअपको मुख्यालय छन् । सहरमा फक्सवागन कार निर्माण सयन्त्रदेखि एमआरएनए भ्याक्सिन निर्माणस्थलसम्म छ । सहरमा रहेको दश हजारजना अटाउने बास्केटबल लिगमा अफ्रिकाको सबैभन्दा ठूलो लिग आयोजना गरिन्छ भने यहीँ अमेरिकी र्‍यापर केन्ड्रिक लामारजस्ता स्टारको कन्सर्टहरू आयोजना हुन्छ ।

रुवान्डामा आउनेमध्येमा यहाँको प्रसिद्ध गोरिल्ला हेर्न आउने पर्यटक मात्र हुँदैनन् । अन्य अफ्रिकी देशका सरकारी अधिकारी यहाँ कायम सुशासनको पाठ लिन आउँछन् । बिजुली भरपर्दो छ । अन्य अफ्रिकी मुलुकमा जस्तो यहाँका ट्राफिक प्रहरीले घुस माग्दैनन् । हिंसाका घटना दुर्लभ भएको छ । यस आश्चर्यजनक रूपान्तरणको वास्तुकार हुन्, देशका राष्ट्रपति पल कागामे । कागामेले यो सफलता उनको कठोर शासन शैलीमार्फत हासिल गरेका हुन्, जुन अन्तर्राष्ट्रिय जगत्मा समय–समयमा आलोचनाको विषय हुने गर्छ । 

कागामेको शासनमा रुवान्डाका कैयौँ विपक्षी जेलमा छन् । अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लागेको छ । सरकारका आलोचक रहस्यमय अवस्थामा मृत भेटिने गरेका छन् । पश्चिममा लुकेर बसेका आलोचकले फाट्टफुट्ट उस्तै नियती भोगेको पाइन्छ । कागामेका सिपाही छिमेकी प्रजातान्त्रिक गणतन्त्र कंगोमा हुने नरसंहार र लुटपाटमा संलग्न भएको आरोप पनि लाग्ने गरेको छ । दशकौँदेखि कायम कागामेको कठोरतालाई पश्चिमी नेताले बेवास्ता गर्दै आएका छन् । केही पश्चिमी मुलुकले हिजो हुतु चरमपन्थीबाट कागामेको तुुत्सी जातीय समूहका मानिसमाथि भएका नरसंहार रोक्न नसकेकोमा दुःख व्यक्त गरेका छन् । रुवान्डाको दुःखद इतिहासको कारण यो ‘अत्यन्त विशिष्ट मुद्दा’ रहने गरेको एकपटक बेलायती पूर्वप्रधानमन्त्री टोनी ब्लेयरले भनेका थिए । कागामेले अप्रिल ७ मा नरसंहारको ३०औँ वार्षिकोत्सवको नेतृत्व गरे ।

२०औँ शताब्दीको उत्तराद्र्धको सबैभन्दा भयानकमध्ये एक नरसंहार भोगेको तीस वर्षपछि रुवान्डाले केही उल्लेखनीय उपलब्धि हासिल गरेको छ । तर, नरसंहारको कारणका रूपमा रहेको जातीय विभाजन भने लामो समयदेखि सत्तामा रहेका राष्ट्रपति पल कागामेको शासनमा पनि कायमै छ ।

 तर, यस वार्षिकोत्सवले कैयौँलाई ६६ वर्षीय कागामेको त्यति नै लामो शासनको सम्झना गरायो । पछिल्लो राष्ट्रपतिको निर्वाचनमा कुल खसेको मतमा कागामेको पक्षमा ९९ प्रतिशत मत खसेको थियो । अर्को चुनाव यही वर्ष जुलाईमा हुँदै छ र त्यसमा कगामेको जितप्रति थोरै मात्र आशंका छ । रुवान्डाको संविधानअनुसार उनले आगामी दशकसम्म नेतृत्व गर्न सक्नेछन् । कागामेको दमनकारी रणनीतिलाई पहिले नरसंहारपछिको रुवान्डामा स्थिरता कायम गर्न आवश्यक भएको आलोचकसमेत स्विकार्थे । तर, समय लम्बिँदै जाँदा उनको शैलीमाथि प्रश्न उठ्न थालेको छ । यस रणनीतिले देशलाई कता लैजाँदै छ भन्नेमा चिन्ता सुनिन थालेको छ ।

कागामेले रुवान्डामा जातीय भावनालाई प्रभावकारी रूपमा हटाएको दाबी गरे पनि आलोचक, कूटनीतिज्ञ, सरकारी पूर्वअधिकारी र कैयौँ रुवान्डाली नागरिक उनको शासनमा अव्यक्त रूपमा जातीय विभाजन गहिरिँदै गएको आरोप लगाउँछन् । यसले गृहयुद्धपछि वास्तविक मेलमिलापको सम्भावनालाई कमजोर बनाउने तिनको भनाइ छ । रुवान्डा सरकारका प्रवक्ताले यस लेखका लागि गरिएको प्रश्नको जवाफ दिएनन् भने रिपोर्टिङका लागि उनको देश प्रवेश दिइएन । रुवान्डा प्रवेश पाएका अर्का न्युयोर्क टाइम्स रिपोर्टरको सहयोगमा यो रिपोर्टिङ तयार पारिएको हो । 

आज कागामेको सरकारका जति पनि शीर्ष पद छन्, तिनमा तुत्सीहरूको प्रभुत्व छ । जबकि देशको जनसंख्यामा ८५ प्रतिशत हिस्सा ओगट्ने हुतुहरू वास्तविक शक्तिबाट वञ्चित रहेको आलोचकहरू भन्छन् । सतहमा सबै ठीक भएजस्तो देखिए पनि भित्र जातीय विभाजन कायम भएको यो एक उदाहरण हो । ‘कागामे शासनले हाम्रो देशमा राजनीतिक हिंसा निम्त्याउने अवस्था सिर्जना गरिरहेको छ,’ उनका सबैभन्दा प्रमुख राजनीतिक प्रतिद्वन्द्वी भिक्टोयर इंगाबायर उमुहोजाले किगालीबाट फोनमा भनिन् । ‘प्रजातन्त्रको अभाव, विधिको शासनको अभाव, सामाजिक र राजनीतिक बहिष्करण, यी समस्या पहिले जस्तो थियो, अहिले पनि त्यस्तै छ,’ इंगाबायरले भनिन् । हुतु जातिकी इंगाबायर सन् २०१० मा निर्वासनबाट देश फर्किएर कागामेविरुद्ध राष्ट्रपति पदमा लडेकी थिइन् । उनी पक्राउ परिन् । चुनावमा भाग लिनबाट रोक लगाइयो । पछि षड्यन्त्र र आतंकवादको आरोप लगाएर कारावास लम्ब्याइयो । सन् २०१८ मा कागामेले माफी दिएपछि उनी रिहा त भइन्, तर इंगाबायरलाई विदेश यात्रा गर्न रोक लगाइएको छ । उनलाई आगामी जुलाईमा हुने चुनावमा उठ्न प्रतिबन्ध लगाइएको छ ।

‘नरसंहारपछि हाम्रो देशमा व्यवस्था ल्याउन बलियो शासक चाहिएको थियो भन्नेहरूसँग म पनि सहमत छु,’ उनले भनिन्, ‘तर, आज ३० वर्षपछि हामीलाई बलियो शासकभन्दा बलियो संस्था चाहिएको छ ।’ कागामेले सन् १९९४ जुलाईमा तुुत्सीबहुल विद्रोही समूहका प्रमुखको रूपमा सत्तारोहण गरे । उनी नेतृत्वको रुवान्डन पेट्रोटिक फ्रन्टले नरसंहार मच्चाउने हुतु चरमपन्थीहरूलाई सत्ताच्युत गरेको थियो । 

सत्तामा आएपछि कागामेले सहायता रकमलाई बुद्धिमानीपूर्वक खर्च गर्ने र अग्रगामी आर्थिक नीतिहरूलाई प्रवद्र्धन गर्ने कुराका लागि चर्चा पाउन थाले । यद्यपि उनका पूर्वसहयोगीहरूले कागामेले प्रगतिलाई बढाइचढाइ गर्न तथ्यांकहरू हेरफेरको आरोप लगाएका छन् । तथ्यांकका आधारमा कागामेको शासनमा रुवान्डाले लोभलाग्दो प्रगति गरेको देखिन्छ, औसत आयु सन् १९९४ मा ४० वर्ष रहेकोमा बढेर ६६ वर्ष पुगेको संयुक्त राष्ट्रसंघले भन्छ । कागामेको पहिलो काममध्ये एक नरसंहार निम्त्याउने खतरनाक साम्प्रदायिक विभाजन कम गर्नु थियो । उनले हुतु र तुत्सी शब्दहरूलाई कुनै पनि परिचयपत्र समावेश गर्न प्रतिबन्ध लगाए । साथै सार्वजनिक रूपमा जातीयताको कुरा गर्नेहरूलाई अपराधीकरण गरे । ‘हामी सबै रुवान्डाली हौँ’ भन्ने राष्ट्रिय नारा बन्यो । केही शब्दमा प्रतिबन्ध लागे पनि वास्तविकतामा भने कागामेका नीतिहरूले रुवान्डाली जीवनको लगभग हरेक पक्षमा जातीयताले प्रवेश गरेको छ । 

‘बाहिर नभने पनि हरेकलाई को कुन जातिको भन्ने थाहा हुन्छ नै,’ सन् २००० सम्म सभामुख रहेका जोसेफ सेबरेन्जी (जो तुत्सी हुन्)ले भने । उनी अहिले कागामेसँग मतभिन्नतापछि निर्वासित जीवन बिताइरहेका छन् । गत वर्ष बेल्जियममा अध्यापन गराइरहेका कागामेका आलोचकसमेत रहेका फिलिप रेन्टजेन्सले प्रकाशित गरेको एक अध्ययनअनुसार रुवान्डाका १९९ शीर्ष सरकारी पदमध्ये ८२ प्रतिशत तुुत्सी जातिका मानिसको हातमा थियो । र, कागामेको कार्यालयका त लगभग शतप्रतिशत नै सोही अल्पसंख्यक जातिका पाइएका थिए । अमेरिकी कूटनीतिज्ञहरूले सन् २००८ मा रुवान्डाको शक्ति संरचनाको सर्वेक्षण गर्दा यस्तै निष्कर्ष निकालेका थिए । विकिलिक्सले बाहिर ल्याएको अमेरिकी दूतावासले उसको अमेरिकी केन्द्रमा पठाएको पत्रमा देशमा नरसंहारपछि विभाजन कम गर्ने हो भने कागामेले ‘हुतुसँग धेरै हदसम्म अधिकार बाँड्नुपर्छ’ भन्ने उल्लेख थियो ।

आलोचकहरू कागामेले हुतु बहुमतलाई दबाउन सन् १९९४ को घटनाको स्मरणलाई प्रयोग गरेको आरोप लगाउँछन् । सरकारी स्मारकमा सन् १९९८ को घटनालाई ‘तुत्सीको नरसंहार’ उल्लेख मात्रै गरिएको हुन्छ । जबकि त्यस समय आफ्ना तुत्सी छिमेकीलाई शरण दिएका वा दिने प्रयास गरेका दसौँ हजार उदारवादी हुतुहरू पनि मारिएका थिए । तिनलाई बेवास्ता गर्ने प्रयास गरिँदा र छानेर न्याय दिने धारणाले घाउमा नुन छर्ने काम गरेको आलोचकहरू बताउँछन् । त्यस्तै एक विवादित संयुक्त राष्ट्रसंघीय प्रतिवेदनअनुसार नरसंहार रोक्न भन्दै कागामेका विद्रोही फौजले अप्रिलदेखि अगस्टसम्म २५ हजारदेखि ४५ हजार मारेको थियो, जसमध्ये अधिकांश हुतु थिए । सार्वजनिक तथ्यांकअनुसार पनि नरसंहारको समयमा भएको हुतुहरूको हत्या तुत्सीहरूको हत्याको तुलनामा नगण्य हो । तर, ती घटनाप्रति कागामेको पूर्वाग्रही प्रतिक्रियाले रुवान्डालीहरूको मेलमिलाप र अगाडिको यात्रामा बाधा पुर्‍याइरहेको आलोचकहरू बताउँछन् । 

कागामेले सन् १९९४ यता प्रधानमन्त्री र रक्षामन्त्रीलगायत केही शीर्ष सरकारी पदमा हुतुलाई नियुक्त नगरेका होइनन्, तर रुवान्डामा ती शक्तिशाली पद होइनन् । वरिष्ठ हुतुको कार्यालयमा उनीहरूमाथि निगरानी राख्न तुत्सीका बफादार खटाइने आफँै तुत्सी रहेका गुप्तचर सेवाका पदाधिकारी ओमर खल्फानले भने । सन् २०१५ देखि अमेरिकामा लुकिरहेका खल्फानले भने, ‘सरकार जातीयताबारे बोल्न चाहँदैन, किनभने त्यसो गर्दा शक्ति बाँडफाँटको मुद्दा उठ्छ । र, उनीहरू त्यसो गर्न चाहँदैनन् ।’ पश्चिममा कागामे विश्व आर्थिक फोरमजस्ता सम्भ्रान्त भेलामा सर्वस्वीकार्य अतिथि हुन्छन् । तर, देशभित्र भने उनलाई सार्वजनिक रूपमा चुनौती दिनेहरू गिरफ्तारी, यातना वा मृत्युको जोखिम मोल्छन् । 

एक दशकपहिले किजिटो मिहिगो नामक एक इसाई गायक रुवान्डाका सबैभन्दा लोकप्रिय कलाकारमध्ये एक थिए । नरसंहारमा आफ्ना आमाबुबा गुमाएका तुत्सी जातिका मिहिगोले प्रायः नरसंहारको सम्झनामा गीत गाउँथे । तर, नरसंहारको २०औँ वार्षिकोत्सवमा मिहिगोले जारी गरेको एउटा गीतमा तुत्सी र हुतुपीडितहरू दुवैप्रति समानुभूति देखाउनुपर्ने भन्दै बृहत् मेलमिलापको आह्वान गरिएको थियो । यसबाट कागामे क्रुद्ध भए । राष्ट्रपतिका एक सहयोगीले मिहिगोलाई ‘राष्ट्रपतिलाई गीत मन नपरेकाले माफी माग्न भने, अन्यथा मारिने धम्की दिए । मिहिगोले माफी मागेका थिए तर पनि उनीमाथि देशद्रोहको आरोप लाग्यो । उनी जेल परे । चार वर्षपछि उनी रिहा त भए, तर सन् २०२० मा उनी पुनः गिरफ्तारमा परे । चार दिनपछि एक पुलिस स्टेसनमा उनी मृत फेला परे । मिहिगोले आत्महत्या गरेको सरकारले भने पनि थोरैले मात्र त्यस भनाइमा विश्वास गरे । 

कागामेको पहुँच विश्वभर विस्तार छ । अधिकारवादी समूहले क्यानडा, अस्ट्रेलिया र दक्षिण अफ्रिकालगायत कम्तीमा एक दर्जन देशमा रुवान्डाका निर्वासित अधिकारकर्मीलाई राज्यका एजेन्टले डरधम्की देखाएको, आक्रमण गरेको वा हत्या भएको आरोप लगाएका छन् । रुवान्डा नरसंहारमा आधारित फिल्म ‘होटेल रुवान्डा’का मूल पात्रको प्रेरणाका स्रोत हुतु होटेल व्यवसायी पल रुसेसबागिनालाई सन् २०२० मा जालसाजीपूर्ण रूपमा देश फर्काइयो र जेलमा हालियो । उनी अमेरिकाको दबाबपछि गत वर्ष जेलबाट रिहा गरिए । यस घटनाले कागामे देशभित्र कत्तिको प्रतिरोधहीन छन् भन्ने देखायो । तर, पछिल्लो समय उनको प्रभावको असर छिमेकी कंगोमा देखिएको छ । केही समयदेखि कंगोका कुख्यात विद्रोही समूह एम–२३लाई रुवान्डाले फौज र मिसाइल पठाएको अमेरिका र संयुक्त राष्ट्रसंघले सार्वजनिक रूपमा आरोप लगाएका छन् । रुवान्डाले आरोप अस्वीकार गर्दै आएको छ ।

यस संकटले कागामेको उनको सबैभन्दा ठूलो विदेशी दाता अमेरिकासँगको सम्बन्धलाई चिसो बनाएको अमेरिकी अधिकारीले नै बताएका छन् । बाइडेन प्रशासनका वरिष्ठ अधिकारीले पछिल्लो केही महिना रुवान्डा, कंगो र तान्जानिया पुगेर यस संकटलाई क्षेत्रीय युद्धमा परिणत हुनबाट रोक्ने प्रयास गरेका छन् । अगस्टमा अमेरिकाले एम–२३लाई सघाएको भन्दै एक वरिष्ठ रुवान्डाली सैन्य कमान्डरलाई प्रतिबन्ध लगायो । यस विषयमा छलफल गर्न कागामे र शीर्ष अमेरिकी अधिकारीबीच तनावपूर्ण बैठकहरू भएको अमेरिकी अधिकारी बताउँछन् । कागामेले रुवान्डाली सेना कंगोमा भएको खण्डन गर्दै आएका छन् । कागामेले हालै ‘जेउन अफ्रिक’ नामक पत्रिकालाई दिएको अन्तर्वार्तामा यस आरोपलाई सहयोग पुग्ने स्वीकारोक्ति गरेका छन् । उनले आफ्ना सेना पूर्वी कंगोमा रहेका तुुत्सी जनसंख्याविरुद्ध हुने नरसंहार रोक्न त्यहाँ रहेको बताए । 

(यो रिपोर्टिङमा अराफात मुगाबोले सघाएका थिए । वाल्स केन्याको नैरोबी बसेर अफ्रिकाको समाचार लेख्छन् । उनले विगतमा कायरो र इस्लामाबादमा रहेर रिपोर्टिङ गरिसकेका छन् ।) – द न्युयोर्क टाइम्सबाट
 

ad
ad