१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
२o८१ बैशाख १९ बुधबार o८:o५:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

प्रदर्शन नरोकिएपछि सुनसरीमा कर्फ्यु कायमै 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार o८:o५:oo

सुनसरीका विभिन्न पालिकामा लगाइएको कर्फ्यु आंशिक रूपमा कायमै राखिएको छ । हरिनगर गाउँपालिका र देवानगन्ज गाउँपालिकाको वडा नम्बर १ र ७ मा कर्फ्यु कायमै राखिएको छ ।

इनरुवा नगरपालिका, कोशी गाउँपालिका, भोक्राहा नरसिंह गाउँपालिका र देवानगन्ज गाउँपालिकाको वडा नं. २, ३, ४, ५ र ६ मा सोमबार बिहान ६ बजेसम्मका लागि कर्फ्यु लगाइएको छ । आइतबार दिउँसो फेरि प्रदर्शन चर्किएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले कर्फ्यु लम्ब्याएको हो ।

हरिपुरमा प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले १२ राउन्ड हवाईफायर र २९ सेल अश्रुग्यास प्रहार गरेको थियो । प्रदर्शनकारीले सुरक्षाकर्मीमाथि ढुंगामुढा प्रहार गर्नुका साथै कुटपिट गर्दा प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीसहित नौ प्रहरी घाइते भएको सुनसरी प्रहरी प्रमुख विपिन रेग्मीले जानकारी दिए ।

प्रदर्शनकारीले हरिनगर बजारको एउटा घरमा तोडफोड गर्नुका साथै आगो लगाउने प्रयास गरेको प्रहरीले जनाएको छ । प्रदर्शनमा घुसपैठ तथा हिंसात्मक हुन थालेपछि शान्ति सुव्यवस्था कायम राख्न सुरक्षा कडा पारिएको प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले जानकारी दिए ।

गत बिहीबार हरिनगर गाउँपालिकामा दर्जनभन्दा बढीको संख्यामा रहेको समूहले स्थानीय युवालाई मरणासन्न हुने गरी कुटपिट गरेपछि अवस्था असामान्य बनेको हो । दुई समूहबीच भएको कुटपिटका कारण सामाजिक सद्भाव भड्किन नदिन बिहीबारदेखि कर्फ्यु लगाइएको हो । 

ad
ad