१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २० बिहीबार o६:१५:oo
Read Time : > 2 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

नेपाललाई फ्रेन्डसिप टी–२० उपाधि 

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o६:१५:oo

नेपालले प्रस्तुत गरेको १७७ रनको लक्ष्य पछ्याएको गुजरातले २० ओभरमा आठ विकेट गुमाउँदै १५८ रन बनायो

नेपाली राष्ट्रिय क्रिकेट टोलीले आइतबार फ्रेन्डसिप कप टी–२० प्रतियोगिताको उपाधि जितेको छ । नेपालले भारतको रणजी ट्रफी खेल्ने गुजरातलाई १८ रनले हराउँदै उपाधि जितेको हो । नेपालले प्रस्तुत गरेको १७७ रनको लक्ष्य पछ्याएको गुजरातले २० ओभरमा आठ विकेट गुमाउँदै १५८ रन मात्रै बनाउन सक्यो । गुजरातका कप्तान उमांग रोहितकुमारले सर्वाधिक ४० रन बनाए । उनले २८ बलमा दुई चौका र दुई छक्का प्रहार गरेका थिए । यसैगरी, आर्य देसाईले ३६ रन जोड्न २४ बलमा चार चौका र दुई छक्का प्रहार गरेका थिए । 

गुजरातका रुद्र पटेलले १७ रन जोडे । जयमित पटेल र हर्ष देसाईले समान १५ रन बनाए । नेपालका अभिनाश बोहराले चार ओभरमा २६ रन खर्चेर तीन विकेट लिए । दीपेन्द्रसिंह ऐरीले चार ओभरमा १३ रन खर्चेर दुई विकेट लिए । यसैगरी, करण केसी र कुशल मल्लले समान एक विकेट लिए । टस जितेर ब्याटिङ गरेको नेपालले २० ओभरमा चार विकेट गुमाउँदै १७६ रन बनाएको थियो । नेपालका कप्तान रोहित पौडेलले सर्वाधिक ७४ रन जोडे । उनले ४७ बलमा पाँच चौका र चार छक्काको सहयोग लिए ।

ओपनर आसिफ शेखले ३४ बलमा दुई चौका र एक छक्कासहित ३४ रन बनाए । कुशल भुर्तेलले २१ बलमा १९ रन बटुलेका थिए । कुशल मल्लले १३ बलमा दुई चौका र दुई छक्काको सहयोगमा ३१ रन बनाए । सन्दीप जोरा ७ रनमा नटआउट रहे । मध्यक्रमका दीपेन्द्रसिंह ऐरी ७ रन बनाएर आउट भए । गुजरातका स्नेह पटेल, तेजास पटेल, जयमित पटेल र जाला युवराज सिंहले समान एक विकेट हात पारे ।

आयरल्यान्डविरुद्ध अर्जुनको शतक
ओपनर अर्जुन कुमालको शतकको बाबजुद नेपाल ‘ए’ तेस्रो तथा अन्तिम एकदिवसीय खेलमा आयरल्यान्ड ‘ए’सँग ६९ रनले पराजित भएको छ । त्रिवि क्रिकेट मैदानमा नेपालले सिरिजमा तीनवटै खेल गुमाएको हो । नेपाल पहिलो खेलमा २७ रन र दोस्रोमा ११४ रनले पराजित भएको थियो । आयरल्यान्डले प्रस्तुत गरेको २८५ रनको लक्ष्य पछ्याएको नेपाल ३९.४ ओभरमा २१५ रनमा अलआउट भयो । ओपनर अर्जुनले ११८ बलमा १४ चौकासहित १०२ रनको शतकीय इनिङ्स खेलेका थिए । 

लिस्ट ‘ए’मा उनको पहिलो शतक हो । उनले यसअघि यू–१९ मा दुई शतक जोडेका छन् । नेपालको ब्याटिङमा अर्जुन साउदले ३० बलमा चार चौका र तीन छक्काको सहयोगमा ३६ रन बनाए । आयरल्यान्डका बेन ह्वाइटले १० ओभरमा ६२ रन खर्चेर पाँच विकेट लिए । 

टस जितेर ब्याटिङ रोजेको आयरल्यान्डले ५० ओभरमा नौ विकेट गुमाउँदै २८४ रन बनाएको थियो । आयरल्यान्डको जितमा स्टेफन डोहेनीले १०७ रनको योगदान दिए । उनले एक सय २९ बलमा आठ चौका र दुई छक्का प्रहार गरेका थिए । पिटर मुरले ४४ रन बनाउन २५ बलमा दुई चौका र पाँच छक्का प्रहार गरे । नेपालका लागि रञ्जित कुमारले १० ओभरमा ५१ रन खर्चेर तीन विकेट लिए । रिजन ढकालले १० ओभरमा ७५ रन खर्चेर तीन विकेट लिए । 

वेस्ट इन्डिजका रोड्रिक बलिङ सल्लाहकार
नेपाल क्रिकेट संघ (क्यान)ले सिनियर टोलीको बलिङ प्रशिक्षकका रूपमा वेस्ट इन्डिजका रोड्रिक ओ एस्टविकलाई नियुक्त गरेको छ । क्यानले आसन्न इमर्जिङ कप र आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा सहभागिता जनाउनुअघि बलिङ प्रशिक्षकका रूपमा वेस्ट इन्डियन रोड्रिकलाई भित्र्याएको हो । नेपालका प्रशिक्षक मोन्टी देसाई र रोड्रिकबीच दोस्रोपटक सहकार्य हुन लागेको हो । मोन्टी वेस्ट इन्डिजका प्रशिक्षकका रूपमा रहँदा रोड्रिकले पनि सहयोग गरेका थिए । रोड्रिकले आठ वर्ष वेस्ट इन्डिजको सिनियर टोलीसँग काम गरेको अनुभव छ । उनले नेपालको टोलीसँग जोडिन पाउँदा गर्व लागेको बताएका छन् । ‘नेपाली क्रिकेटसँग काम गर्न पाउनु गर्वको विषय हो,’ उनले भने, ‘मेरो ज्ञान नेपाली खेलाडीलाई बाँड्न आतुर छु । अहिले नेपाली क्रिकेट निकै राम्रो छ ।’

रोड्रिकले एकपटक पनि वेस्ट इन्डिजको राष्ट्रिय टोलीबाट खेल्न अवसर पाएनन् । तर, ६२ वर्षीय रोड्रिकले करिअरमा ३७ पहिलो श्रेणी र ४२ लिस्ट ‘ए’ खेलेका छन् । प्रथम श्रेणीमा एक सय ४१ विकेट लिएका उनले तीन सय ७६ रन बटुलेका छन् । उनले लिस्ट ‘ए’ मा ४३ विकेटका साथै सय रन बनाएका छन् । नेपालको क्रिकेट माथि उकास्न आफूले सक्दो सहयोग गर्ने उनले जनाए । ‘नेपालको क्रिकेट माथि पुर्‍याउन दिलोज्यान दिएर सहयोग गर्नेछु,’ उनले भनेका छन्, ‘यसअघि नेपालका प्रशिक्षकसँग पनि काम गरेको अनुभव छ ।’ रोड्रिकले नेपालको ड्रेसिङ रुमलाई ह्याप्पी रुमका रूपमा प्रशंसा गरेका छन् । 

‘मोन्टीसँग सहकार्य गर्दा सधैँ ह्याप्पी ड्रेसिङ रुमको अवधारणा पाएको थिएँ, अहिले पनि यही नेपालको टोलीमा छ,’ उनले भने । यसैगरी प्रशिक्षक मोन्टीले टोलीमा एक अनुभवी व्यक्ति भित्र्याउन पाउँदा खुसी लागेको बताएका छन् । ‘खुसी लागेको छ, रोड्रिकको आगमनले हाम्रो ह्याप्पी ड्रेसिङ रुम झनै मजबुत हुनेछ,’ उनले भने, ‘हामी सबैको प्रयास नै नेपाली क्रिकेटर र समर्थकलाई खुसी पार्नु हो ।’ 

ad
ad