१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
लुम्बिनीमा विराट चक्रविज्ञान एवं लुम्बिनी आध्यात्मिक जागरण अभियानमा प्रधानमन्त्री प्रचण्डलगायत नेता ।
२o८१ बैशाख २४ सोमबार o८:२८:oo
Read Time : > 3 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

नेपाललाई शान्ति पर्यटन केन्द्र बनाउने प्रधानमन्त्रीसहित शीर्ष नेताहरूको संकल्प 

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o८:२८:oo

ध्यान, योग र पूर्वीय चिकित्सा पद्धतिका माध्यमबाट विश्वशान्ति एवं सहअस्तित्वको सन्देश फैलाइने

राजनीतिक दलका शीर्ष नेताहरूले नेपाललाई शान्ति पर्यटन केन्द्र बनाउने संकल्प गरेका छन् । लुम्बिनीमा एक साता चलेको विराट चक्रविज्ञान एवं लुम्बिनी आध्यात्मिक जागरण अभियानमा उनीहरूले ध्यान, योग र पूर्वीय चिकित्सा पद्धतिका माध्यमबाट नेपाललाई शान्ति पर्यटन केन्द्रका रूपमा विकास गर्ने संकल्प लिएका हुन् ।

जीवन विज्ञान प्रतिष्ठानका अध्यक्ष देवी शर्माले प्रस्ताव गरेको पाँचबुँदे संकल्पमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, एमाले महासचिव शंकर पोखरेल, लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचन, मुख्यमन्त्री जोखबहादुर महरा, गण्डकीका मुख्यमन्त्री सुरेन्द्र पाण्डे, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, संघीय सांसद बासुदेव घिमिरे, योग गुरु एलपी भानु शर्मासहितले हस्ताक्षर गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले भने–
राष्ट्रप्रेम र राज्यप्रति युवापुस्तामा देखिएको अविश्वास, उग्र निराशा तथा नकारात्मकताजस्ता समस्यालाई वेलैमा सुधार गर्दै नेपालमै केही गर्न सकिन्छ र गर्नुपर्छ भन्ने भाव जगाउनु छ । गर्न खोजे नेपालमा सम्भव छ भन्ने आशा र विश्वास जगाएर एक सय वर्षमा एकपटक प्राप्त हुने युवा जनशक्ति बाहुल्यको लाभ नेपालको विकासमा लगाउनु छ, यसका लागि नवीन र सकारात्मकता सोच ल्याउन अपरिहार्य भइसकेको छ ।

संकल्पमा नेपाल योगभूमि, ज्ञानभूमि, बुद्धभूमि तपोभूमि रहेकाले यहाँ मैत्रीभाव समानता र शान्तिको प्रवर्द्धन गरी नागरिकको शान्ति र समृद्धिको आकांक्षा पूरा गर्न जीवनको मूल विज्ञानमा आधारित ध्यान विधिको प्रयोगबाट मानिसको क्षमतालाई प्रकट एवं परिचालन गर्ने सबै जात, धर्म लिंग र सम्प्रदायको घेराभन्दा माथि उठेको राष्ट्रका रूपमा रूपान्तरित गर्ने उल्लेख छ । नयाँ वर्ष ०८१ सँगै पूर्वीय संस्कृतिको प्रयोग तथा संवर्द्धनका लागि शिक्षा, स्वास्थ्य, कृषि, अर्थ, वाणिज्य, सुरक्षा, सार्वजनिक प्रशासन र परराष्ट्र विषयमा उपयुक्त पाठ्यक्रम र तालिमका लागि जनशक्ति तयार गर्ने, देशभर ध्यान र योग प्रवर्द्धन गर्न सबै सरकारी कार्यालय र पर्यटकीय स्थलमा ध्यान तथा योग पद्धतिको प्रयोगका लागि उपयुक्त व्यवस्था गर्ने संकल्प गरिएको छ ।

संकल्पमा नेपालमा रहेका ध्यान, योग र चिकित्सा पद्धतिलाई विश्वसामु उपलब्ध गराएर समग्र विश्वशान्ति एवं सहअस्तित्वको सन्देशका लागि वैज्ञानिक पद्धतिको सञ्चार गर्ने र विदेशस्थित नियोग, दूतावास एवं कूटनीतिक सञ्जालमार्फत विश्वभर फैलाउने उल्लेख छ । नेपाललाई ध्यान, योग र पूर्वीय चिकित्सा पद्धतिका माध्यमबाट शान्ति, पर्यटनको केन्द्रका रूपमा विकास गर्दै देशको समृद्धिमा योगदान पुर्‍याउने, देशभर ध्यान र योग प्रवर्द्धन गर्न सक्रिय र समर्पित संस्था तथा अभियान्ताहरूसँग परामर्श तथा सहकार्य गरी सबै सरकारी एवं पर्यटकीयस्थल तथा कार्यालयमा ध्यान तथा योग पद्धतिहरूको प्रयोगका लागि उपयुक्त व्यवस्था मिलाउने संकल्प गरिएको छ । १७ चैतदेखि आयोजित विराट चक्र विज्ञान कार्यक्रममा देशभरिका र अन्तर्राष्ट्रिय क्षेत्रबाट समेत गरी पाँच हजारभन्दा बढीको सहभागिता थियो । 

प्रधानमन्त्री प्रचण्डले प्रत्येक नागरिकको जीवन रूपान्तरण गर्न अर्को क्रान्ति गर्ने समय आएको बताए । नेपाल र नेपालीको समग्र हितका लागि वैज्ञानिक अध्यात्म प्रणाली अवलम्बन गर्दै देशको स्वास्थ्य, कृषि, अर्थ, सुरक्षा, वाणिज्य र परराष्ट्र क्षेत्रको अवधारणागत र संरचनागत सुधार गर्नुपर्ने उनको भनाइ छ । युवा पुस्तामा देखिएको उग्र निराशा र नकारात्मकतालाई सुधार गर्दै नेपालमै केही गर्न सकिन्छ भन्ने विश्वास जगाउनुपर्ने पनि उनले बताए । 

‘राष्ट्रप्रेम र राज्यप्रति युवापुस्तामा देखिएको अविश्वास, उग्र निराशा तथा नकारात्मकताजस्ता समस्यालाई वेलैमा सुधार गर्दै नेपालमै केही गर्न सकिन्छ र गर्नुपर्छ भन्ने भाव जगाउनु छ’, उनले भने, ‘गर्न खोजे नेपालमा सम्भव छ भन्ने आशा र विश्वास जगाएर एक सय वर्षमा एकपटक प्राप्त हुने युवा जनशक्तिको बाहुल्यको लाभ नेपालको विकासमा लगाउनु छ, यसका लागि नवीन र सकारात्मकता सोच ल्याउन अपरिहार्य भइसकेको छ ।’ 

प्रचण्डले आध्यात्मिक जागरण र साधनाविना बाहिरी रूपमा व्यक्तिले जतिसुकै प्रगति गरे पनि भित्रबाट व्यक्ति अशान्त र अतृप्त नै रहने बताउनुभयो । ‘भित्रबाट अशान्त र अतृप्त व्यक्तिबाट आफ्नो हित र समाज एवं राष्ट्रको हित हुने कर्म गर्न सम्भव हुँदैन,’ उनले भने, ‘त्यसैले आफूभित्रबाटै प्रसन्न, शान्त, सहृदयी, आत्मविश्वासी, सुखी, ज्ञानी, दृढसंकल्पित र आनन्दित जनशक्तिको विकास गर्नु आजको प्रमुख आवश्यकता हो ।’ 

आनन्दित र दृढ विश्वास भएको व्यक्ति रहन हरेकमा आध्यात्मिक जागरण ल्याउन आवश्यक रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले विज्ञानसम्मत प्रयोगात्मक साधनालाई हरेक व्यक्तिको जीवनशैली बनाउन प्रतिबद्ध भएर लाग्नुपर्नेमा जोड दिए । ‘यो शताब्दीमा मात्रै ८० वर्ष लामो राजनीतिक संक्रमण, जनयुद्ध, भूकम्प, नाकाबन्दी, कोभिड–१९ लगायतका दर्जनौं समस्या बेहोरिसक्यौँ’, उनले भने । आफ्नो नेतृत्वमा राजनीतिक संरचना र दिशा परिवर्तन गर्ने सशस्त्र क्रान्ति पनि सम्पन्न भएको उल्लेख गर्दै उनले त्यही क्रान्तिको फलस्वरूप लोकतान्त्रिक संविधान जारी गर्न सकिएको बताए । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मानव जातिको हित र कल्याणका लागि समृद्ध जीवनयापनका लागि योग ध्यान आवश्यक रहेको बताए । 

एमाले महासचिव पोखरेलले बुद्ध जन्मस्थल लुम्बिनीमा यस खालको बृहत् कार्यक्रम सफल अभियान र उत्सवको रूपमा जनमानसमा सन्देश प्रवाह भएको बताए । उनले प्रकृति र विज्ञान अत्यन्तै अन्योन्याश्रित सम्बन्ध रहेको बताउँदै मानव जीवनलाई सफल बनाउन जीवन विज्ञान बुझ्नु र सही बाटोमा हिँडाउनु जरुरी रहेको उल्लेख गरे । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले जीवन विज्ञानले सबैलाई जोड्ने काम गरिरहेको र यसले आमजनमानसमा जागरण पैदा भएको बताए ।

उपप्रधान श्रेष्ठले समृद्धिको चरणमा लैजान र सुशासन स्थापनाका लागि नकारात्मक, अराजकता भावना रोक्न जीवन दृष्टिकोणसहित योगध्यान चलाउनुपर्नेमा जोड दिए । यस खालको कार्यक्रम जीवनको साँचोलाई देशव्यापी बनाउने अभियानको थालनी रहेको उनले बताए । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले योग र ध्यान शरीर विज्ञानको एउटा पाटो रहेकाले शरीरका लागि अत्यावश्यक विषय रहेको बताए ।

ad
ad