१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
२o८१ बैशाख १८ मंगलबार १७:२५:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

नयाँ समझदारी र सम्झौताबाट निष्कर्ष निकालौँ : ज्ञानेन्द्र शाह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार १७:२५:oo

पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ संवाद र सर्वपक्षीय सम्मेलन आवश्यक रहेको धारणा राखेका छन्। आर्थिक अभावले नागरिकले सीप प्रयोग गर्न नपाएका भन्दै शाहले नयाँ राष्ट्रिय सोच बनाउन आवश्यक देखिएको दाबी गरे।

शनिबार जुम्लामा नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै उनले नयाँ सम्झौताको निष्कर्ष निकालौँ भन्ने जनमत बढ्दै गइरहेको बताए। ‘अब सुध्रौँ, अब चेतौँ र सबैले सबैलाई सम्झेर राष्ट्रिय सोच बनाऊँ। मार्ग सुधार गरौँ, नयाँ समझदारी, नयाँ संवाद, नयाँ वार्तालाप, सर्वपक्षीय नयाँ सम्मेलन र नयाँ सम्झौताको निष्कर्ष निकालौँ भन्ने जनमत बढ्दै गइरहेको हाम्रो अनुभव छ,’ शाहले भने।

परिवर्तन पीडादायी भए पनि आवश्यक रहेको उनको भनाइ थियो। ‘परिवर्तन साँच्चै पीडादायी भए पनि सधैँ आवश्यक हुन्छ। याद होस्, संसारको पांग्रा सधैँ आफ्नो गतिमा चलिरहेको हुन्छ। यो संसारमा जे आउँछ त्यो रहँदैन र जाने कुरा हराउँदैन,’ उनले भने।

अपार सम्पदा हुँदाहुँदै पनि देश परनिर्भरतातिर गइरहेको उल्लेख गर्दै शाहले देश छाडेर विदेशमा ताप र पीडा खप्नुपर्ने अवस्था अन्त्य गर्नुपर्ने बताए।

‘आज देश कता जाँदै छ, तपाईंहरूलाई थाहै छ। हाम्रो अपार सम्पदा हुँदाहुँदै पनि हामी परनिर्भरतातिर गइरहेका छौँ। आफ्नै भूगर्भभित्र अथाह धनधान्य छ, तर खानका लागि काम खोज्न हामी भौँतारिराखेका छौँ,’ उनले भने, ‘त्यसैले म भन्छु, अब हामी राष्ट्रको पुरानो गौरव फर्काउनका लागि जुटौँ। देश बनाउनका लागि उठौँ र हामी हाम्रै पाखुराको बलमा अघि बढ्न कम्मर कसौँ।’

ad
ad