काठमाडौंको ठमेलबाट पक्राउ परेका जनमुक्ति सेना तेस्रो डिभिजन शक्तिखोरका पूर्वडिभिजन कमान्डर एवं पूर्वीरुकुम तथा उत्तरगंगा गाउँपालिका–६ हुकाम घर भएका ५० वर्षीय कालीबहादुर खाम मगरलाई चितवन लगिएको छ।
कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी खाम मगरलाई जिल्ला प्रहरी परिसर काठमाडौंको प्रहरी टोलीले मंगलबार साँझ पक्राउ गरेको थियो।
उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय चितवन पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए।
०६५ वैशाख २८ गते राति ८ बजेको समयमा जनमुक्ति सेना तेस्रो डिभिजन शक्तिखोरका डिभिजन कमान्डर खाम मगरसहितविरुद्ध काठमाडौं कोटेश्वरनिवासी रामहरि श्रेष्ठलाई अपहरण गरी हत्या गरेको आरोप छ।
श्रेष्ठकी श्रीमती रमिला श्रेष्ठले अपहरण गरी हत्या गरेको भनी ०६५ जेठ ३ गते जिल्ला प्रहरी कार्यालय चितवनमा दिएको किटानी जाहेरीका आधारमा प्रहरीले खाम मगरको खोजी जारी राखेको थियो।