नेपालले वेस्ट इन्डिज ‘ए’ टोलीविरुद्धको पाँच खेलको टी–२० सिरिज ३–१ ले गुमाएको छ। त्रिवि क्रिकेट मैदानमा बुधबार भएको चोथो खेलमा नेपाल वेस्ट इन्डिजसँग २८ रनले पराजित भएको छ।
चौथो खेल जित्दा सिरिज २–२ को बराबरी हुने थियो । तर, वेस्ट इन्डिजले प्रस्तुत गरेको दुई सय १० रनको विशाल लक्ष्य पछ्याएको नेपाल २० ओभरमा एक सय ८१ रनमा अलआउट भयो।
त्रिवि क्रिकेट मैदानमा नेपालको पुनः एकपटक ब्याटिङमा एकरूपता देख्न पाइएन । ओपनिङ जोडी सस्तै रनमा पेभेलियन फर्कँदा मध्यक्रममा दबाब परेको थियो। इनिङ्सको दोस्रो ओभरमै नेपालले आसिफ शेखलाई गुमाएको थियो । त्यसपछि कप्तान रोहित पौडेलले नेपालको रनरेट उस्काने प्रयास गरेका थिए। रोहितले ४७ बलमा पाँच छक्का र सात चौकाको सहयोगमा सर्वाधिक ८२ रनको योगदान दिए।
यसैगरी, सन्दीप जोराले १९ रन र दीपेन्द्रसिंह ऐरीले १९ रन बनाए । गुल्सन झाले पनि १९ रनकै योगदान दिए। अभिनाश बोहराले अन्तिमसम्म आउट नभई आठ बलमा एक छक्का र दुई चौकाको सहयोगमा १७ रन जोडे। नेपालको इनिङ्समा ललित राजवंशी, प्रतिश जिसी तथा ओपनर आसिफ शेख शून्य रनमा आउट भएका थिए।
यसअघि ब्याटिङ गरेको वेस्ट इन्डिजले २० ओभरमा तीन विकेट गुमाएर दुई सय नाै रन जोडेको थियो। फर्ममा रहेका जोन्सन चार्ल्स र एन्ड्रे फलेचरले नेपालविरुद्ध उत्कृष्ट ब्याटिङ गर्न सफल भए। दुवैले दोस्रो विकेटका लागि ९२ रनको साझेदारी गरी वेस्ट इन्डिजलाई ९.६ ओभरमा १०१–२ को बलियो स्थितिमा पुर्याएका थिए।
अघिल्लो खेलमा शतकीय इनिङ खेलेका चार्ल्सले ५८ रनको योगदान दिए। उनले ३० बलमा तीन चौका र ६ छक्का प्रहार गरेका थिए। उनी कुशल भुर्तेलको ओभरमा क्याच हुन पुगे।
भुर्तेलले १३.२ ओभरमा केआसी कार्टीलाई चार रनमा कप्तान रोहित पौडेलबाट क्याचआउट गराए । फलेचरले फाविआन एलानसँग चौथो विकेटका लागि ८३ रनको साझेदारी गर्दै टोलीको स्कोरलाई पुनः एकपटक दुई सय रनमाथि कटाए। फलेचर र फावियानले १३.२ देखि २० ओभरसम्म ब्याटिङ गरेका थिए । फलेचरले ५४ बलमा नौ चौका र चार छक्का प्रहार गरी सर्वाधिक ८४ रन जोडे । कार्टीले १९ बलमा तीन छक्का र दुई चौको सहयोगमा ३३ रनको योगदान दिए । नेपालले वेस्ट इन्डिजलाई २५ अतिरिक्त रन दिएको थियो।
बलिङमा नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक दुई विकेट लिन चार ओभरमा २३ रन खर्चेका थिए। प्रतिश जिसीले चार ओभरमा ४३ रन खर्चँदै एक विकेट हात पारे। नेपालका प्रमुख बलर सोमपाल कामीले दुई ओभरमा १५ रन खर्चे । ललित राजवंशीले चार ओभरमा ५३ रन दिए। अभिनाश बोहराले चार ओभरमा ४२ रन खर्चेका थिए।