१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २० बिहीबार o८:३२:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

रामहरि श्रेष्ठ हत्या प्रकरण : फरार खाम १५ वर्षपछि पक्राउ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o८:३२:oo

रेस्टुरेन्ट व्यवसायी रामहरि श्रेष्ठ हत्या घटनाको पुनः अनुसन्धान हुने भएको छ । प्रहरीले तत्कालीन माओवादीका पूर्वकमान्डर कालीबहादुर खामलाई पक्राउ गरेर अनुसन्धान सुरु गर्न लागेको हो । खाम माओवादीको राष्ट्रिय सुरक्षा विभाग सदस्य हुन् । 

जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएका प्रहरी टोलीले उनलाई मंगलबार ठमेलबाट पक्राउ गरेको हो । श्रेष्ठ हत्याको अभियोग लागेका खाम १५ वर्षदेखि फरार थिए । त्यही घटनामा संलग्न गोविन्दबहादुर बटाला भने अदालतबाट दोषी ठहर भई तीन वर्ष कैद सजाय भुक्तान गरेर जेलबाट छुटिसकेका छन् । तर, खामको हकमा भने मुद्दा मुल्तबीमा राखिएको थियो । 


जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी भूपेन्द्र खत्रीले खामविरुद्धको मुद्दा मुल्तबीमा राखिएको र अदालतको आदेशपछि पुनः अनुसन्धान हुने बताए । ‘१५ वर्षअघि व्यवसायी रामहरि श्रेष्ठको हत्या भएको थियो । सोही मुद्दामा केही जेल बसेर छुटे, केही फरार थिए । सोहीमध्येका एक खामको मुद्दा मुल्तबीमा राखिएको थियो । अब यो ‘रिओपन’ भएको छ । प्रमाणसहित हामी अब अदालत जान्छौँ । अदालतको आदेशपछि घटनाको पुनः अनुसन्धान गर्छौँ,’ उनले भने ।

कोटेश्वरका व्यवसायी श्रेष्ठको २८ वैशाख ०६५ मा अपरहणपछि हत्या गरिएको थियो । मरणासन्न गरी कुटपिट गरिएका उनको टाउको, छाती, तिघ्रा र हातमा गम्भीर चोट लागेको थियो । अत्यधिक कुटाइकै कारण उनको मृत्यु भएको थियो । चितवनबाट काठमाडौं आउने क्रममा उनको भालुढुंगामा मृत्यु भएको थियो । श्रेष्ठको शरीरलाई तन्नामा पोको पारी ढुंगाले बाँधी नारायणी नदीमा फालिएको अवस्थामा शव फेला परेको थियो । 

प्रहरीका अनुसार त्यसवेला खाम तत्कालीन जनमुक्ति सेनाका कमान्डर थिए । उनको आदेशपछि बटालाले १५ वैशाख ०६५ मा श्रेष्ठलाई कोटेश्वरबाट राति २ बजे अपहरण गरी चितवनको शक्तिखोरस्थित जनमुक्ति सेनाको क्यान्टोन्मेन्टमा पु¥याएको थियो । उनीमाथि जनमुुक्ति सेनाको हतियार र १७ लाख रुपैयाँ चोरी गरेको आरोप लागेको थियो । घटनाको छनबिन गर्न माओवादीले बटालालाई जिम्मेवारी दिएको थियो । सोही क्रममा बटालाले श्रेष्ठसहित केशव अधिकारी, गंगाराम थापासँग सोधपुछ गरेको थियो । ७ वैशाख ०६५ मा सोधपुछ काठमाडौंमै गरिएको थियो । 

तर, घटनाको चुरो नखुलेपछि खामको आदेशमा बटालासहितको टोलीले श्रेष्ठलाई अपहरण गरी शक्तिखोर लगेका थिए । शक्तिखोरस्थित क्यान्टोनमेन्टमा श्रेष्ठलाई यातना दिई सोधपुछ गरिएको थियो । यातनापछि श्रेष्ठ गम्भीर घाइते भएका थिए । चोटकै कारण उनको मृत्यु भएको थियो । मृत्युपछि शव व्यवस्थापन गर्न खामकै आदेशपछि बटालासहितको टोलीले जनमुक्ति सेनाकै गाडी प्रयोग गरेको थियो ।

कोटेश्वरनिवासी श्रेष्ठको घरमा तत्कालीन जनमुक्त सेनाको तेस्रो डिभिजन कार्यालय राखिएको थियो । सोही कार्यालयबाट १४ चैत ०६४ मा हतियारसहित १७ लाख रुपैयाँ चोरी भएको थियो । घटनामा श्रेष्ठ संलग्न रहेको खामको दाबी थियो । घटना छानबिन गर्न तेस्रो डिभिजन कार्यालयले बटालालाई खटाएको थियो ।

 एसएसपी भूपेन्द्र खत्री, प्रमुख, जिल्ला प्रहरी परिसर काठमाडौं
१५ वर्षअघि व्यवसायी रामहरि श्रेष्ठको हत्या भएको थियो । सोही मुद्दामा केही जेल बसेर छुटे, केही फरार थिए । सोहीमध्येका एक खामको मुद्दा मुल्तबीमा राखिएको थियो । अब यो ‘रिओपन’ भएको छ । प्रमाणसहित हामी अब अदालत जान्छौं । अदालतको आदेशपछि घटनाको पुनः अनुसन्धान गर्छौँ ।

ad
ad