लोकप्रिय बन्दै नेत्रज्योति संघ : बर्सेनि पाँच सय नागरिकको मोतीविन्दुको शल्यक्रिया
नेपाल नेत्रज्योति संघ जिल्ला शाखा गुल्मीले वार्षिक करिब ३३ हजार नागरिकको आँखाको उपचार र करिब पाँच सय नागरिकको शल्यक्रिया गर्ने गरेको छ । संघको तथ्यांकअनुसार आर्थिक वर्ष ०७८/७९ मा ३२ हजार तीन सय ८१ जनाको आँखाको उपचार भएको छ । यसैगरी गत वर्ष ३४ हजार नागरिकको आँखाको उपचार गरिएको छ ।
यो आर्थिक वर्षको आठ महिनामा २० हजार ६ सय २२ जनाको आँखाको उपचार भएको संस्थाले जनाएको छ । यहाँ नेपाल नेत्रज्योति संघको जिल्ला आँखा उपचार तथा शल्यक्रिया केन्द्रसहित वामी, शान्तिपुर, सिमलटारी र मदाने गरेर पाँचवटा आँखा उपचार केन्द्र रहेका छन् । जसमा १७ जना कर्मचारी कार्यरत रहेका छन् ।
जिल्लामा स्याथी रूपमा ०४५ सालबाट आँखा उपचार सेवा र ०४९ सालबाट नेपाल नेत्रज्योति संघको शाखा स्थापना भएको थियो । नेपाल नेत्रज्योति संघ गुल्मीको २७औँ वार्षिक प्रतिवेदनअनुसार संघले जिल्ला आँखा उपचार तथा शल्यक्रिया केन्द्रमार्फत गत वर्ष ११ हजार पाँच सय ३८ जनालाई ओपिडी र ४६ जनाको माइनर अप्रेसन गरिएको छ । केन्द्रले प्रत्येक महिनाको ११ र १२ गते हुने मासिक आँखा अप्रेसन सेवा प्रदान गरिरहेको छ ।
यस वर्ष हालसम्म तीन सय २७ जनाको शल्यक्रिया
यस वर्ष हालसम्म तीन सय २७ जनाको शल्यक्रिया गरिएको नेपाल नेत्रज्योति संघ जिल्ला शाखा गुल्मीका सचिव पदम पाण्डेले जानकारी दिए । त्यस्तै, वामी शाखामार्फत दुई हजार आठ सय २२, शान्तिपुरमार्फत एक हजार एक सय ८१ र सिमलटारीमार्फत सात सय ६ जनाको आँखाको जाँच गरिएको पाण्डेले बताए ।
उनका अनुसार गत वर्ष स्थानीय तहहरूमा आयोजित एक दिने आँखा उपचार शिविर सञ्चालन गर्ने कार्यक्रमअनुसार मुसिकोट, छत्रकोट, मदाने र रेसुंगा गरेर चार स्थानीय तहका दुई हजार ६ सय ९९ जनाको आँखाको जाँच तथा उपचार गरिएको थियो । मासिक आँखा जाँच कार्यक्रममा गत वर्ष रुरु क्षेत्र गाउँपालिकाको रिडी र सत्यवती गाउँपालिकाको जोहाङमा गरेर पाँच सय ५२ जनालाई सेवा प्रदान गरिएको छ ।
संघले न्यून दृष्टि भएका पाँचजना बच्चाको उपचार गरेको जनाएको छ । त्यस्तै, यस शाखा र लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान भैरहवा तथा लायन्स लाकौल आँखा अस्पताल पाल्पाको सहकार्यमा हरेक वर्ष जिल्लाका विभिन्न स्थानमा नि:शुल्क आँखा अप्रेसन शिविर हुने गरेको छ ।
सोही अभियानअन्तर्गत गत वर्ष रिडी, शान्तिपुर, अर्खाबाङ र वामी गरेर एक सय ७१ जनाको नि:शुल्क आँखाको अप्रेसन गरिएको संस्थाका प्रमुख सूर्यबहादुर बस्नेतले जानकारी दिए । यस्तै, संस्थाले डाँक फाउन्डेसनको सहयोगमा नजिक नदेख्ने छत्रकोट, मदाने, रेसुंगा र मुसिकोटका तीन सय ५८ जना ५० वर्ष उमेर नाघेका गरिब र असहायलाई नि:शुल्क चस्मा वितरण गरेको थियो ।
त्यस्तै, १२ हजार सात सय ३८ जना विद्यार्थीको आँखा परीक्षण गरेर दृष्टि कम भएका तीन सय १८ जनालाई नि:शुल्क चस्मा वितरण गरिएको छ । बस्नेतका अनुसार उपचारसँगै संस्थाले महिला स्वास्थ्य स्वयंसेविका र विद्यालयका शिक्षक गरेर करिब दुई सयजनालाई आँखाको हेरचाह र उपचारसम्बन्धी तालिम प्रदान गरेको थियो ।
त्यस्तै, जिल्ला प्रहरी, ट्राफिक प्रहरी र गुल्मी यातायातको सहयोगमा सवारीचालकहरूको आँखा परीक्षणसमेत गरिएको थियो । यसैगरी, गत जेठ १४ गते डिआर क्याम्प आयोजना गरेर रेटिना रोग विशेषज्ञ प्राध्यापक डाक्टर ज्ञानेन्द्र लामिछानेबाट ९२ जनाको रेटिना जाँच गरिएको थियो ।
शाखा विस्तारको योजना
संस्थाले शाखा विस्तारको योजना पनि क्रमागत रूपमा अगाडि बढाएको छ । यस आर्थिक वर्षमा मदाने र आगामी वर्ष रिडी र कालीगण्डकीमा उपचार केन्द्रहरू विस्तार गर्ने योजनामा रहेको छ ।
यस्तै, मोतीविन्दुको नि:शुल्क अप्रेसन सेवाका लागि संघले स्थानीय तहहरूसँग समन्वय गरिरहेको छ । अहिलेसम्म पाँच स्थानीय तहले मोतीविन्दुको नि:शुल्क अप्रेसन सेवाका लागि सम्झौता गरेको नेपाल नेत्रज्योति संघ जिल्ला आँखा उपचार तथा शल्यक्रिया केन्द्रका सूचना अधिकारी वीरबहादुर कार्कीले जानकारी दिए ।
यसका लागि रेसुंगा, गुल्मीदरबार, छत्रकोट, रुरु र इस्माले सम्झौता गरेका छन् । सम्झौताअनुसार गत वर्ष रेसुंगाका ९८, गुल्मीदरबारका ५६ र इस्माका ३४ जनाको मोतीविन्दुको अप्रेसन गरिएको थियो ।
२६औँ सभामा सम्मान
शाखाले संस्थाको श्रीवृद्धिका लागि योगदान गर्ने व्यक्तिलाई सम्मान पनि गर्ने गरेको छ । शशि पन्थी, भरत चन्द, कृष्णहरि सापकोटा, ढालबहादुर जिसी र वसन्त भुसाललाई २६औँ सभामा सम्मान गरेको थियो ।
कार्कीका अनुसार कर्मचारी सन्तोष सुवेदीलाई नेत्रज्योति सम्मान पुरस्कार र पत्रकार मनु सुनारलाई सञ्चार क्षेत्रबाट पुर्याएको योगदानको कदर गर्दै पुरस्कृत गरिएको थियो ।
त्यस्तै, गत वर्ष लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान भैरहवाले आँखा उपचार केन्द्रका प्रमुख सूर्यबहादुर बस्नेतलाई दीर्घ सेवा पदकबाट सम्मान गरेको थियो । गत वर्ष नै गुल्मी शाखाले उत्कृष्ट पुरस्कार प्राप्त गरेको कार्कीले बताए ।
नीतिगत कार्यक्रम पेस
संघले ०८०/८१ मा प्रस्तावित नीतिगत कार्यक्रमहरू पेस गरेको छ । नेपाल नेत्रज्योति संघ गुल्मी शाखाका अध्यक्ष अखिलेश्वरप्रसाद पाण्डेले संस्थाले अहिलेका सबै कार्यक्रमलाई निरन्तरता र दिगो बनाउने, आँखा उपचार र नि:शुल्क अप्रेसन शिविर ग्रामीण बस्तीहरूमा पुर्याउने, विद्यालयस्तरमा सचेतना र विद्यार्थीको भर्नापूर्व दृष्टि परीक्षण गर्न स्थानीय सरकारसँग सहकार्य गर्ने योजना रहेको बताए ।
त्यस्तै, सबैको सहयोग र समन्वयमार्फत सेवा सर्वसुलभ बनाउने, स्वास्थ्य बिमा सेवा उपलब्ध गराउने र आधुनिक प्रविधिको प्रयोग गर्ने योजनामा संस्था रहेको पाण्डेयको भनाइ छ ।
नेपाल नेत्रज्योति संघले आँखा उपचार केन्द्रहरूमार्फत प्रदान गर्ने सेवाले नागरिकबीचमा लोकप्रियता कमाएको छ । केन्द्रले सयौँ नागरिकलाई अन्धोपनाबाट जोगाएको छ भने हजाराैँका गुमेका आँखाको ज्योति फर्काएको छ ।
आँखाको ज्योति फर्किएपछि खुसी
इस्मा गाउँपालिका– ३ की ९७ वर्षीया रत्नादेवि खरालका दुवै आँखामा समस्या थियो । एउटा आँखा पूर्ण रूपमा बन्द भएको पाँच वर्ष भएको थियो । बल्लबल्ल देख्ने एउटा आँखाको सहायताले हिँडडुल गर्थिन् ।
तर, बुढेसकालमा आँखाको समस्या निकै पीडादायक थियो । केही समयअगाडि खरालले नेपाल नेत्रज्योति संघ आँखा उपचार तथा शल्यक्रिया केन्द्रमा आएर ज्योति गुमेको आँखा फर्काइन् । अहिले पनि अर्को आँखाको अप्रेसन गर्न केन्द्र आएकी छिन् ।
यसैगरी, मालिका गाउँपालिका– ७ का ८० वर्षीय प्रेमबहादुर नेपाली पनि गुमेको आँखाको ज्योति फर्किएपछि खुसी छन् । जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोणबहादुर खत्रीले नेपाल नेत्रज्योति संघले आँखा उपचार केन्द्रले अन्धोपनबाट नागरिकलाई बचाउन ठूलो कर्म गरिरहेको प्रतिक्रिया दिए । उनले बिमा र स्थानीय तहको समन्वयमा सबै नागरिकलाई केन्द्रसँग जोड्न आवश्यक रहेको बताए ।