दीपक अधिकारी र सन्तोषी श्रेष्ठले राइट टु प्रोटिन रनको हाफ म्याराथनमा स्वर्ण पदक जितेका छन् । शनिबार दशरथ रंगशालामा भएको प्रतियोगिताको उद्घाटन र समापनमा नेपाली सेनाका दीपक पुरुषतर्फ तथा धादिङकी सन्तोषी महिलातर्फ पहिलो भएका हुन् ।
एसियन क्रसकन्ट्री एथलेटिक्स च्याम्पियनसिपका दोहोरो स्वर्ण विजेता दीपकले निर्धारित २१ किलोमिटरको दूरी १ घन्टा ७ मिनेट ३३ सेकेन्डमा पूरा गरेका हुन् । साग स्वर्णधारी ९५ हजार मिटर दौड० एपिएफका गोपीचन्द्र पार्की १ घन्टा ७ मिनेट ४२ सेकेन्ड समयमा दोस्रो भए । पर्वतका तीर्थ पुन तेस्रो, आर्मीका नरेन्द्र रावल चौथो र आर्मीकै खडकबहादुर खड्काले पाँचौँ स्थान हासिल गरेका छन् ।
महिलातर्फ १३औँ दक्षिण एसियाली खेलकुद (साग) १० हजार मिटर दौडकी स्वर्ण विजेता सन्तोषीले निर्धारित दूरी १ घन्टा २० मिनेट १९ सेकेन्डमा पार गर्दै पहिलो भएकी हुन् । सन्तोषी पछिल्लोपटक ढाका म्याराथनको च्याम्पियन भएकी थिइन् । १ घन्टा २१ मिनेट ५६ सेकेन्डमा दूरी पूरा गरेकी नेपाल प्रहरीकी राममाया बुढा दोस्रो एपिएफकी पुष्पा भण्डारी तेस्रो भइन् ।
आर्मीकी पूर्णलक्ष्मी न्यौपानेले चौथो तथा एपिएफकी फुलमती रानाले पाँचौँ स्थानमा रहे । दुवै विधाका विजेताले एक लाख प्राप्त गरेका छन् । दोस्रोले ७५, तेस्रोले ५०, चौथोले ४० र पाँचौँले ३० हजार रुपैयाँ नगद पुरस्कार पाएका छन् ।
नेपाल भेटेरिनरी संघले आयोजना गरेको प्रतियोगिताको पुरुष खुला १० किलोमिटर दौडमा आर्मी मुकेशबहादुर पाल पहिलो, आर्मीकै सञ्जय श्रेष्ठ दोस्रो र राजेन्द्र राई तेस्रो भएका छन् ।
महिला खुला ५ किलोमिटर दूरी पूरा गर्दै आर्मीकी सिर्जना पाण्डेय पहिलो भइन् । प्रहरीकी राजपुरा पछाईं दोस्रो तथा आर्मीकी निर्मला केसी तेस्रो भए । विद्यालयतर्फ कक्षा १२ सम्मको पुरुष पाँच किलोमिटरमा विश्वराम कुँवर पहिलो, बादल कार्की दोस्रो, विकेश घिमिरे तेस्रो, कृष्ण परियार चौथो र आशेषकुमार क्षेत्री पाँचौँ भएका छन् । विद्यालयतर्फ नै कक्षा १२ सम्मको महिला ३ किलोमिटरमा कल्पना बुढा पहिलो भइन् ।
ह्विलचेयरको पुरुष ३ किलोमिटरमा रामकाजी मिजार पहिलो, रमेश खत्री दोस्रो र प्रेमबहादुर विक तेस्रो भएका छन् । महिला खुला ५ किलोमिटर, विद्यालयतर्फ पुरुष ५ किलोमिटर र पुरुष÷महिला ह्विलचेयरका विजेताले ३० हजार, उपविजेताले २० हजार र तेस्रोले १५ हजार नगद पुरस्कार जितेका छन् ।