नेपाल भेटेरिनरी संघको आयोजनामा हुने राइट टु प्रोटिन रनमा आठ विधामा सात हजार १९ प्रतिस्पर्धीको सहभागिता रहने भएको छ । प्रतियोगिताका संयोजक डा. शीतलकाजी श्रेष्ठले बिहीबार राइट टु प्रोटिनको अन्तिम तयारी भइसकेको जानकारी दिएका छन् ।
१० चैतमा हुने प्रोटिन रनको उद्घाटन प्रधानमन्त्री पुष्पकलम दाहाल प्रचण्डले गर्नेछन् । हाफ म्याराथन पुरुषमा एक हजार दुई सय ६६ र महिलामा एक सय ८२ खेलाडी दौडनेछन् । पुरुष १० किलोमिटर दौडमा ३ हजार ८१ र महिला पाँच किलोमिटर दौडमा एक हजार एक सय ६६ खेलाडी सहभागी हुने श्रेष्ठले बताए ।
हाफ म्याराथनको पुरुष र महिलाका विजेताले एक लाख, उपविजेताले ७५ हजार, तेस्रोले ४० हजार र चौथो स्थानमा रहने खेलाडीले ३० हजार रुपैयाँ हात पार्नेछन् । पुरुष १० किलोटिमर दौडमा पहिलो हुने धावकले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । उपविजेताले ४० हजार र तेस्रो स्थानमा रहने खेलाडीले ३० हजार रुपैयाँ हात पार्ने श्रेष्ठले बताए । नेपाल भेटेरिनरी संघका अध्यक्ष डा. रामकृष्ण खतिवडाका अनुसार दौड दशरथ रंगशालाबाट सुरु हुनेछ ।